गोपाल गडतौला
अमेरिकाको टेक्सस राज्यस्थित डलास शहरको एक कुनामा हिंड्दै थिएँ, सडकपेटी छेउ चिठी खसाल्नेभन्दा केही ठूलो बाकस ठडिएको देखें । दर्जनभन्दा कम नै सही, भित्र पुस्तकहरू मिलाएर राखिएका । बाकसको ढोकामा ताला थिएन । यो सामुदायिक पुस्तकालय रहेछ, जसमा पुस्तक हुनेहरूले छोड्न र आवश्यक पर्नेले लिन सक्छन् । यसको संयोजन यहाँको ‘शेयर विद अदर्स’ (अरूलाई बाँडौं) नामको संस्थाले गरिदिएको छ । आफ्नो समुदायलाई पुस्तकको संसारबाट पोषण गर्न सकिने यो काइदाको उदाहरण लाग्यो ।
जनवरी २०१९ मा अमेरिकी नागरिक सुसनले शुरू गरेको ‘निःशुल्क पुस्तकालय’ अभियान रहेछ यो । दिवङ्गत श्रीमान् टोड बलको सम्झनामा उनले पुस्तकालय अभियान शुरू गरेकी हुन् । अमेरिकाकै मिनिसोटा राज्यमा रहेको टोडको परिवारले यसलाई ‘परोपकार उद्देश्यसाथ सञ्चालित सामुदायिक पुस्तकालय’ नाम दिएको छ । टोडको निधन पेटको क्यान्सरबाट सन् २०१८ मा भएको थियो । मानिसहरूले आआफ्ना आँगनमा वा घरको प्रवेशद्वारसँगै खडा गर्न सक्ने यी बाकस–पुस्तकालयमा आफूले पढेका र आफूलाई राम्रो लागेका पुस्तक राख्न सक्छन् । यो धान्नै नसकिने खर्चिलो पनि छैन । यसले आफू बसेको समाजलाई अध्ययनशील बनाउन थोरै भए पनि मद्दत गर्न सक्छ । समाज सुन्दर छ र यस्ता प्रयासले संसारलाई थप सुन्दर बनाउन हरेकले केही गर्न सकिन्छ भन्ने सन्देशसाथ यो पुस्तकालय अभियान शुरू गरिएको सञ्चालक संस्था शेयर विद अदर्सको वेबसाइटमा उल्लेख छ ।
नेपालका हाम्रा गाउँघरमा पनि इच्छुक व्यक्तिले केही हजार खर्चमै चलाउन सक्ने यो अभियानबारे मैले नेपाली पाराले सोचें । कक्षा ७ मा पढ्दाको कुरा हो, एक दिउँसो टिफिन टाइममा नेपाली विषयका शिक्षक रुद्र निरौलाले अदबसाथ ‘पुस्तकालयमा आउनू’ भनेको सम्झन्छु । झापा, दमकको सरस्वती माविमा पुस्तकालय भेट्ने पहिलो पुस्ताका छात्रछात्रा थियौं हामी । रुद्र सरले ‘हरेक साता यस्ता पुस्तक छिचोल्नू’ भनेर दिंदै जाँदा नै मैले एक चिहान, मोदिआइन, नरेन्द्र दाइ, बसाइँ जस्ता उपन्यास पढेको हुँ । त्यस वेला पढेका पुस्तकका कथा र पात्रहरू अझै पनि स्मृतिमा ताजै छन् ।
धन्न वाक्पटु रुद्र सरले त्यो दिन पुस्तकालय जान उर्दी गर्नुभएछ ! दमक–१३ (हाल दमक–८) मा मेरा एक मित्र छन्, भेषराज न्यौपाने । घरमै लडेर स्पाइनल इन्जुरी भएका उनले ‘दमक पब्लिक लाइब्रेरी’ शुरू गरेका थिए । उनको त्यो पुस्तकालय हालै नाम बदलिएर ‘डाइनामिक पब्लिक लाइब्रेरी’ (डीपीएल) भएको छ । हिजोआज डीपीएलले शाखा विस्तार गरिरहेको र ठाउँ ठाउँबाट सहयोग पाइरहेको सुन्दा खुशी लाग्छ ।
दमकमा केही वर्ष बसेका एकजना सहृदयी अमेरिकी ब्रायन हलले डीपीएललाई सहयोग जुटाउन गरेको प्रयत्न दमकले कहिल्यै नभुल्ने गुन हो । उनले ‘क्राउड फन्ड’ को माध्यमबाट पुस्तकालयलाई सहयोग जुटाइदिएका थिए । डीपीएल पुस्तकालय मात्र होइन सार्वजनिक विमर्शको एउटा थलो नै बनेको छ । कुनै पनि विषयमा छलफल गर्नुपर्दा डीपीएललाई सम्झन थालिएको छ । कुनै पनि ठाउँ भौतिक रूपमा कति सफा छ भन्ने जान्न त्यहाँको सडक हेरे पुग्छ । त्यसैगरी समुदाय कत्तिको जुझारु र विवेकीे छ भन्ने पत्ता लगाउन त्यहाँ पुस्तकालय हेरे पुग्छ भनिन्छ । धन्न भेषराजजीले दमकमा पुस्तकालयको बीउ रोपिदिनुभयो, र हामीकहाँ पनि यस्तो निधि छ भन्न पाइएको छ ।
पुस्तकालय ज्ञानका स्रोत हुन् । विद्यालय र विश्वविद्यालय गएका हामी हरेकका घरमा केही न केही पुस्तक हुन्छन् । तीमध्ये कतिपय पुस्तकका पाना नउघारिएको वर्षाैं भइसक्यो होला । धूलो र माकुराको जालोमा पुरिने, धमिराले खाएर नाशिने, भिजेर नष्ट हुने वा चटपटे पसलमा सस्तोमा बेचिने त्यस्ता पुस्तक पुस्तकालयलाई दिएर ज्ञानको हस्तान्तरणमा सारथि बन्न सकिन्छ । चार वर्षअघि शुरू भएको सानो पुस्तकालय अभियानमा एक हजार ५४३ व्यक्ति र संस्थाले हातेमालो गरिरहेका छन् ।
उन्नत, जागरुक र परोपकारी समाजमा सहयोगको विस्तार यसखाले साझेदारी अभियानबाट छिटो गर्न सकिन्छ । हामी पनि आफूले पढिसकेका पुस्तक, आफ्ना नानीहरूले खेलेका खेलौना, पुराना कपडा र घरायसी सामग्री तिनको आवश्यकता रहेका व्यक्तिलाई दिन सक्छौं । सहयोगी भावना र थोरै फराकिलो मनले पनि खुशी र ज्ञानको सञ्चार गराउन सक्छ ।
सन् २०१४ की नोबेल शान्ति पुरस्कार विजेता तथा पाकिस्तानकी शैक्षिक अभियन्ता मलाला युसफजाईले पुस्तक र ज्ञानले ल्याउने परिवर्तनबारे भनेकी छिन्, ‘एउटा पुस्तक, एउटा कलम, एउटा बालक र एउटा शिक्षकले संसार बदल्न सक्छन् ।’
–हिमालखबर









प्रतिक्रिया दिनुहोस्