मिसन टुडे दैनिकले मनायो १४औँ वार्षिकोत्सव



नेपालगन्ज,  बाँकेबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाले आफ्नो १४औँ स्थापना दिवस भव्यरुपमा मनाएको छ । सोमबार पत्रिकाको केन्द्रीय कार्यालय कोहलपुरमा उक्त स्थापना दिवस मनाइएको हो ।
‘सूचनामा तपाईँसँगको साझेदारी’ भन्ने मूल ध्येयका साथ पत्रिका प्रकाशन भएको १४ वर्ष पूरा भएको छ ।

पत्रिका प्रकाशनका विविध चुनौतीसँगै कोभिड–१९ (कोरोना भाइरस) को प्रभावसँगै पछिल्लो समय चुलिएको आर्थिक संकटलाई छिचोल्दै पत्रिकाले मुलुकमा दिगो विकास, सुशासन, पारदर्शीता, भ्रष्टाचारविरुद्ध लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा निरन्तर पैरवी गर्दै आइरहेको मिसन टुडे दैनिक पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक विनोद पौडेलले बताए ।

‘हिजो पत्रिकाको साइज सानो थियो ।प्रभाव क्षेत्र पनि सीमित थियो,’ उनले भने, ‘विभिन्न चुनौतीलाई सामना गर्दै आज पत्रिका रंगीन बनेको छ भने राष्ट्रिय स्तरमा वर्गीकृत भएको छ ।’

राष्ट्रियस्तरमा वर्गीकृत हुने मिसन टुडे दैनिक पत्रिका बाँकेकै पहिलो र एकमात्र पत्रिका हो । संस्थामा आबद्ध पत्रकार र अन्य कर्मचारीहरूको परिश्रम, लगाव र मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गरेको उनको भनाइ छ ।

यसमा पाठक, बिक्रेता, वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सीको पनि महŒवपूर्ण भूमिका रहेको उनले जनाए । साथै यस अवसरमा देशविदेशमा रहेका पाठक, बिक्रेता, वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सम्पूर्ण शुभेच्छुक तथा सहयोगी सहकर्मीमा उनले आभार व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार