गणेश विशु,नेपालगन्ज
चालु आर्थिक वर्षका लागि नेपालगन्ज उपमहानगरपालिकाले गत वर्ष ल्याएको नीति तथा कार्यक्रममा नेपालगन्जअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको विद्यमान स्वास्थ्य नीतिअनुसार आगामी दुई वर्षभित्र १५ शैड्ढयाको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गर्ने उल्लेख गरेको छ ।
शनिबार आगामी आर्थिक वर्ष २०८०÷०८१ को प्रस्तुत नीति तथा कार्यक्रममा पनि हुबहु (उस्तै) सोही कार्यक्रम समेटिएको छ । यस्तै नेपालगन्जको विपद् जोखिम क्षेत्र पहिचान तथा जोखिम नक्शांकन गरी स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई स्तरोन्नति गरी प्रभावकारीरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने कार्यक्रम यस वर्ष पनि दोहोरियो ।

यति मात्र होइन, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नयाँ रुपमा पाउन सकेन । नगरले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बिडम्वना, उपमहानगरपालिकाले समन्वयात्मक भूमिकासमेत निर्वाह गर्ने कतिपय कार्यक्रमले यसपालि पनि निरन्तरता पाएका छन् ।
बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यकरण बनाउनका लागि पूर्वतर्फ बागेश्वरी चिल्ड्रेन पार्क निर्माण गरिने, नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २० स्थित राझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गरिनेछ । साथै, नेपालगन्जबाट आन्तरिक तथा बाह्य गन्तव्य मार्गको पहिचान गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रमले यसपालि पनि निरन्तरता पाए ।
नेपालगन्ज नगरीलाई व्यवस्थित र आधुनिक सहरको रुपमा विकास गर्नका लागि संघ सरकारको सहकार्य र समन्वयमा सहरको मुख्य चोकमा सौन्दर्यकरण तथा ट्राफिक लाइटको व्यवस्थापन गरिने कार्यक्रम पनि पुरानै हो । गत वर्ष यसलाई दुईवटा शीर्षक दिएर कार्यक्रम ल्याइएको थियो ।
सहरको मुख्य चोकहरुमा सौन्दर्यकरण गरिने र उपमेयरसँग ट्राफिक व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ साथै मुख्य सडकहरुमा ट्राफिक लाइटको व्यवस्थापन गरिने उल्लेख गरिएको थियो । उक्त कार्यक्रम यसपालि भने संघ सरकारको समन्वय र सहकार्यमा सञ्चालन गरिने भनिएको छ ।
अधिकांश नीति तथा कार्यक्रम पुरानै छन् । कतिपय त हुबहु छन् । नयाँ आएका जनप्रतिनिधिले रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण र शिक्षामा गुणस्तरीतया, स्वास्थ्य सस्तो, भरपर्दाे र गुणस्तरीलगायतमा नयाँ कार्यक्रम समेट्न सकेका छैनन् । नेपालगन्ज पश्चिम नेपालको उदाउँदो सहर हो ।
नेपालगन्जको विकासले पश्चिम नेपालको विकासलाई इंगित गर्ने कुरा प्रतिनिधिसभा सदस्यसमेत रहेको नेकपा एमालेका नेता सूर्यप्रसाद ढकालले संसद्मै भनेका थिए । नेपालगन्जलाई आधुनिकीकरण सहरका रुपमा विकसित गर्न यसपालिको नीति तथा कार्यक्रमले ठोस उपलब्धि हासिल गर्न कठिन देखिन्छ ।
विगतमा कुनै न कुनै रूपमा सरकारी घोषणामा समेटिएका तर आवश्यक कानुन, बजेट अभाव र प्राथमिकतामा नपर्दा लक्ष्य हासिल हुन नसकेका कयौं कार्यक्रम फेरि समेटिएका छन् ।
आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । कृषिलाई आर्थिक वृद्धि र रोजगारीको माध्यम बनाउने किसानलाई समयमै मल, बीउ र सिँचाइ सुविधा पु¥याउने पुरानै कार्यक्रम समेटिएका छन् । व्यावसायिक वातावरण निर्माण गर्न नीतिगत सुधार गर्ने, पर्यटन प्रवद्र्धनजस्ता कार्यक्रम नयाँ छैनन् ।
वडा कार्यालयहरुबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउनका लागि पुराना वडा कार्यालय भवनहरुलाई मर्मत गर्ने र आफ्नै भवन नभएका वडा कार्यालयहरुको भवन निर्माण, प्रत्येक वडाहरुमा कम्तिमा एक÷एकवटा वडास्तरीय विशेष योजना अनिवार्य समावेश गरी सम्बन्धित वडाहरुबाट नै कार्यान्वयन गरिने, नगरभित्र निर्माण भएका र निर्माण हुने सार्वजनिक भौतिक संरचनाहरुलाई अपांग तथा बालमैत्री बनाउन आवश्यक पहल गरिने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै वरपरका जग्गाको भूमि पूलिङमार्फत जग्गा विकास गरी सामूहिक बस्ती विकास गर्ने कार्यका लागि आवश्यक पहल गरिने गत वर्षकै कार्यक्रमलाई यसपालि पनि समावेश गरिएको छ ।
नेपालगन्ज सहरलाइ स्वच्छ, हरियाली र स्वस्थ सहरको रुपमा विकास गरिने, सुन्दर, स्वच्छ, हरियाली सहर निर्माणका लागि नेपालगन्जमा ऐतिहासिक पार्क निर्माण, ताल तलैयाहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने कार्यलाई निरन्तरता दिइने छ । साथै नगरपालिकाका खाली जमिन संरक्षण गरी वृक्षारोपण गरिनेछ र नयाँ घर बनाउने नक्सा पाससमेतको हकमा एक घर न्यूनतम एक रुखको अवधारणा भवन अनुमति तथा मापदण्ड कार्यान्वयनमा समावेश गरिने नीतिले निरन्तरता पाएको छ । पुराना घरहरुको अभिलेखिकरण गर्ने सन्दर्भमा घर नक्सा प्रमाणिकरणका लागि २०८० असोज मसान्तसम्मका लागि अन्तिमपटक समय दिइनेछ तत्तपश्चात नक्सा प्रमाणिकरण कार्य बन्द गर्ने नीति लिइने कार्यक्रमले गत वर्ष पूर्णता पाउन सकेनन् । यसपालि हुबहु उक्त कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
नगरभित्र बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र बसोबास गरिरहेको क्षेत्रको नक्सांकन गरी जग्गा धनि पुर्जा वितरण गर्ने कार्यका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरी तिव्रताका साथ अगाडि बढाइने, स्थानीय भू–उपयोग परिषद्बाट पारित भू–उपयोग नक्सा कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गरिने कार्यक्रमलाई पनि यसपालि निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्षभित्र नेपालगन्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गरिने छ । यो कार्यक्रम चालु आर्थिक वर्षमा सम्पन्न हुनु पर्ने हो तर, कार्यान्वयन नहुँदा यसपालि पनि निरन्तरता दिइएको छ ।
स्वास्थ्यसम्बन्धीका अधिकांश नीति तथा कार्यक्रम पुरानै छन् । सिमानाका जमुनाहामा हेल्थडेस्क सञ्चालन गरी सरुवा जन्य रोगको रोकथाम निगरानी र व्यवस्थापन गर्ने, व्यवहार परिवर्तन, खानपान, योगा, ब्यायाम, स्वास्थ्य, शिक्षा तथा प्रचारप्रसार कार्यक्रमका माध्यमबाट जीवनशैलीमा परिवर्तन गरी नेपालगन्ज उपमहानगरपालिकालाई योगमैत्री नगरको रुपमा रुपान्तरण गरिने, कोभिड–१९ (कोरोना भाइरस) को विश्वव्यापी महामारीलगायत अन्य महामारी रोगहरुको प्रकोपहरुलाई प्राथमिकतामा राखी सो को रोकथाम, नियन्त्रण, निदान तथा व्यवस्थापन गरिने, नेपाल सरकारद्वारा सूचिकृत गरिएका अत्यावश्यक औषधिहरु स्वास्थ्य संस्थाहरुबाट वर्ष भरिनै निःशुल्करुपमा उपलब्ध हुने व्यवस्थाको सुनिश्चित गरिने कार्यक्रमलाई निरन्तरता दिइएको छ । त्यस्तै अत्यावश्कीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रको अल्पकालीन र दीर्घकालीन कार्य योजना बनाइ कार्यान्वयन गरिने, बालबालिका तथा गर्भवतीहरुलाई खोपको पहुँचमा वृद्धि गरी पूर्ण खोप तथा दिगोपन कार्यलाई सुनिश्चितता गर्न आवश्यकताअनुसार खोपकेन्द्र विस्तार तथा निर्माण गरिने, प्राथमिकताका आधारमा गर्भवती जाँचमा वृद्धि गरी पोषणयुक्त खाना तथा २४ घण्टे प्रसूति सेवालाई विस्तार तथा सुदृढीकरण गरिने, सामुदायिक स्वास्थ्य स्वयम्सेविका कार्यक्रमलाई समयानुसार विस्तार गर्दै लैजाने र हालसम्म गरेको सेवाको योगदानलाई कदर गर्दै ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रोत्साहन एवम् सम्मानसहित बिदाइ गरिने कार्यक्रमले पनि निरन्तरता पाएका छन् ।
लागुऔषधको विद्यमान अवस्थालाई मध्येनजर गरी सोको रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न नेपाल प्रहरी÷समुदायिक प्रहरी र गैरसरकारी संस्थाहरुसँग समन्वय र सहकार्य गरी प्रभावकारी बनाइने, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई मापदण्डअनुसार सञ्चालन तथा निरन्तरता दिइने पनि पुरानै कार्यक्रमलाई समावेश गरिएको छ । शिक्षा युवा तथा खेलकुदसम्बन्धी नीति तथा कार्यक्रममा सामुदायिक, संस्थागत, धार्मिक विद्यालय र बालविकास विद्यालयहरुमा क्रमशः सुदृढिकरण, सूचना प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिने, यस उपमहानगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने कार्यक्रम यसपालि पनि समेटिएका छन् ।
सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत आप्रवासी कामदार र उनीहरुका परिवारलाई लक्षित गरी उपयुक्त सूचना प्रवाह, मानसिक स्वास्थ्य तथा सामाजिक परामर्श सेवा, वित्तीय साक्षरता, सीप अभिवृद्धिका साथै आप्रवासी प्रोफाइल तयार गरिने नेपालगन्ज जनाएको छ । गैरसरकारी संस्थाको प्रकृति, कार्यक्षेत्रका आधारमा क्षेत्रगत प्रोफाइल तयार गरिनेछ साथै गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने परियोजनालाई नगरवासीहरुको हितमा सञ्चालन गर्न नगर परियोजना सल्लाहकार समितिलाई क्रियाशिल बनाइने बताइएको छ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र सुति, जुट वा कागजका झोला उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्दै प्लास्टिकको झोलाको प्रयोगलाई न्यूनीकरण गरिने पुरानै कार्यक्रमले निरन्तरता पाएको छ । ‘स्थानीय सरकार, सहकारीको आधार’ भन्ने मूल नाराका साथ आफ्नो क्षेत्रभित्रका सहकारी संस्थाहरुको निरन्तर अनुगमन, प्रशिक्षण तथा प्रवद्र्धनात्मक कार्यक्रममार्फत सहकारी सुशासन कायम गरिने छ । ‘स्वावलम्बन र स्वरोजगारीका लागि उत्पादनमा सहकारी’ अभियानमार्फत प्रत्येक सहकारीलाई उत्पादनसँग जोड्दै लैजाने नीतिअनुरुप तत्काल ‘एक कृषि सहकारी, एक स्थानीय कृषि उपज उत्पादन’ कार्यक्रम सञ्चालनमा ल्याइनेछ । जनताको घरदैलोमा सरल र सहज वित्तीय पहँुचलाई विस्तार गर्न हाल २५ प्रतिशतको हारहारीमा रहेको सहकारी सेवामा पहुँच प्रतिशत सन् २०३० सम्ममा ८० पु¥याउने दीगो विकासको राष्ट्रिय लक्ष्यअनुरुप सहकारी संस्थामा सदस्य विस्तार गर्दै लगिनेछ । गत वर्ष २० प्रतिशतको हारहारीमा सहकारी सेवा पहुँचमा रहेको भनिएको थियो ।
‘कृषि उपजमा आत्मनिर्भर नेपालगन्ज’ का लागि हरेक कृषि उपजमा आत्मनिर्भर बनाउँदै लैजानुपर्ने हुँदा यस वर्ष दूध उत्पादनमा आत्मनिर्भर नेपालगन्ज बनाउन दूध र दुग्धजन्य उत्पादनमा संलग्न कृषक सहकारीका लागि विषेश कार्यक्रम ल्याइनेछ । ‘हामी सुधाछौं हाम्रो सहकारी’ भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीलाई सामेल गराइ सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वालाई रोक्दै समृद्धि सम्भव छ सहकारीमार्फत भन्ने वातावरण निर्माण गर्दै लगिने छ । ‘गरिबी र बेरोजगारी समस्याको निकास, सहकारी संस्थाको गुणात्मक विकास’ को मान्यतालाई स्थापित गर्दै सहकारी संस्थाको सवलीकरणका माध्यमबाट नेपालगन्ज उपमहानगरपालिकाको गरिबी तथा बेरोजगारी समस्यालाई कम गर्दै लगिने छ ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण नीतिअन्तर्गत ‘खोलेपछि बैंक खाता, सुरक्षित रहन्छ मेरो भत्ता’ भन्ने अभियानका माध्यमबाट लाभग्राहीहरुलाई आश्वस्त पार्दै भत्ता प्राप्तिका लागि घण्टौं लाइन बस्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्नको लागि इलेक्ट्रोनिक कोष स्थानान्तरणमार्फत बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाइनेछ । ‘समयमै घटना दर्ता गरौ जिम्मेवार नागरिक बनौं’ भन्ने मूल सन्देशका साथ घटना घटेको ३५ दिनभित्र सत प्रतिशत जन्मदर्तासहित अन्य घटनाको दर्ता गर्न प्रोत्साहित गरिनेछ । ‘मेरो तथ्यांक, मेरो पालिकालाई, मेरै अधिकारका लागि’ भन्ने अभियान सञ्चालन गरी पालिकाले प्रदान गर्ने हरेक सेवा प्रवाहमा घटना दर्ताको अनिवार्यतालाई जोड्दै लगिने छ ।
कृषि तथा पशुसेवासम्बन्धी नीतिमा नगरक्षेत्रका सामुदायिक÷छाडा गाईबस्तुलाई राप्तीसोनारी गाउँपालिका र स्थानीय गौशालासमेतको समन्वयमा व्यवस्थापन गरिनेछ । संघीय सरकारको विशेष अनुदानअन्तर्गत कस्गर समुदायका व्यक्तिहरुको जीविकोपार्जनको लागि सवलीकरण कार्यक्रम सञ्चालन गरिनेछ । उच्च मूल्य वस्तु उत्पादनको लागि कृषि वस्तुहरुको पहिचान गरी तुलनात्मक लाभ लागतका आधारमा क्षेत्र विस्तार एवम् व्यवसायीकरणमार्फत कृषिमा आत्मनिर्भरतातर्फ उन्मुख गराइनेछ । कृषिमा स्वास्थ्य बाली उत्पादन तथा पोषणयुक्त बालीको उत्पादनमा जोड दिइ माटो संरक्षण र बाली संरक्षणको प्रविधिबाट कृषि कार्यमा स्वस्थ र पोषणयुक्त बालीको उत्पादनमा जोड दिँदै प्रांगारिक खेतीको क्षेत्रहरु विस्तार गरिनेछ । एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) तथा हरियो मललगायतका प्रांगारिक कृषिलाई प्रवद्वन गर्दै लगिनेछ । छाडा÷सामुदायिक कुकुरलाई बन्ध्याकरण गरी आवश्यक व्यवस्थापन गरिनेछ । दुग्धपदार्थ एवम् मासुको गुणस्तर र स्वच्छतालाई कायम राख बधशालादेखि भान्छासम्म स्वस्थ मासु र गोठदेखि ओठसम्म स्वस्थ दूध कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने । पशुको नश्ल सुधारका लागि गाईभैंसीमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरिने ।
रोजगार सेवासम्बन्धी नीतिमा रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत श्रमबजारमा रहेका श्रमिकहरुको सीप र क्षमताको उपयोग गर्न सहज हुने गरी उनीहरुको व्यक्तिगत विवरण रहेको श्रम सूचना बैंक स्थापना गरिने बताइएको छ । युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजनामार्फत युवाहरुलाई कार्यस्थलमा आधारित तालिम प्रदान गरी रोजगारी सिर्जना गरिने छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमार्फत सूचिकृत बेरोजगारहरुलाई रोजगारी सिर्जना गरिने छ । स्थानीय तहको रोजगारको अवसरमा बेरोजगार तथा रोजगारको खोजीमा रहेका व्यक्तिहरुको पदस्थापना गर्न रोजगार मेला सञ्चालन गरी रोजगारीमा पदस्थापन गर्ने कार्यको सुरुवात गरिनेछ ।
सुशासन तथा संस्थागत विकाससम्बन्धी नीतिअन्र्तगत नेपालगन्ज उपमहानगरपालिकाको क्षेत्रगत योजना निर्माण गरी सोहीबमोजिम वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गरिने नीति लिइनेछ । जनता र जनप्रतिनिधिबीचको अन्तरसम्बन्धलाई अभिवृद्धि गर्न जनतासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ । सुशासन कायम गर्नका लागि हेल्प डेस्क, डिजिटल नोटिस बोर्ड, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, अनुगमन तथा मूल्यांकन कार्यलाई प्रभावकारीरुपले सञ्चालन तथा कार्यान्वयन गरिनेछ । कार्यालयको कार्यबोझ तथा कार्यप्रकृतिअनुसार संगठनात्मक संरचना तथा कार्यविवरण अद्यावधिक गरिनेछ । अतिक्रमण भएका सडक पेटीहरु सर्वसाधारण जनताहरु हिँड्डुल गर्नका लागि सरोकारवाला संस्थासँग समन्वय राखी ठेला, फुटपाथ व्यवस्थापन र अनुगमन गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्