कोहलपुरको नीति तथा कार्यक्रम : कागज रहित प्रशासनदेखि स्थानीय श्रमशक्तिलाई रोजगारीसम्म



शुभाकर विश्वकर्मा
कोहलपुर, ८ असार
कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार १३औँ नगरसभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।


कोहलपुरलाई कागजरहित प्रशासन बनाउनेदेखि ५० प्रतिशत स्थानीय श्रमशक्तिलाई रोजगारी प्रदान गर्ने नीतिलाई प्राथमिकता दिएको छ । नगरपालिकाले प्रदान गर्ने सेवाको जानकारी, गुनासो व्यवस्थापन, टोल–फ्रि नम्बर विपद् समन्वय केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कोहलपुर डिजिटाइजेसन कार्यक्रमअन्तर्गत कागजरहित प्रशासन, सूचना प्रविधिमा आधारित सेवा प्रवाह एवम् सफ्टवेयर प्रणालीको प्रयोग गरिने उल्लेख छ । यस्तै कोहलपुरका १५ वटै वडाका मुख्य क्षेत्रमा सीसीटिभी क्यामेरा जडान, आफ्नै अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा, वडा कार्यालय र स्वास्थ्य चौकी र विद्यालयमा इन्टर सेवाको पहुँच विस्तार गर्ने र ४५ वटा स्थानमा निःशुल्क वाइफाइको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

‘जनतासँग मेयर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । श्रमशक्तिको तथ्यांक संकलन, श्रमको वर्गीकरण गर्नुका साथै यसै आर्थिक वर्षमा रोजगार सूचना केन्द्र स्थापना गर्ने नगर प्रमुख आचार्यले बताए । वातावरणीय दृष्टिकोणले मापदण्डविपरीत सञ्चालित उद्योग र प्रतिष्ठानलाई निरुत्साहित गरिने नीति लिइएको छ ।

नगर क्षेत्रभित्र सञ्चालित ठूला उद्योग व्यवसायमा कम्तिमा ५० प्रतिशत स्थानीय श्रमशक्तिलाई रोजगारीमा आबद्ध गर्ने नीतिलाई प्राथमिकता दिइएको छ । विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहित गरिएको छ । नगरपालिकामा बसोबास गर्ने अति विपन्न, अल्पसंख्यक, लोपउन्मुख जाति र सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाइने उल्लेख छ ।

नगरको सर्वांगिण विकासका लागि ‘कोहलपुर नीति समूह’ गठन गरी कार्यान्वयनमा ल्याइनेछ । सबै वडामा सघन सहरी विकास कार्र्यक्रम कार्यान्वयन गरिने भनिएको छ । तेह्र बिगाहामा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्न सकिने गरी प्याराफिट तथा खेल मैदान निर्माण गरिने र शवदाह गृह बनाउने नीतिले समेत प्राथमिकता पाएको छ ।
नीति तथा कार्यक्रममा आर्थिक विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । २२ बुँदामा समेटिएको आर्थिक विकास गर्न युवा तथा महिलाका लागि उद्यम विकास र सीप विकास कार्यक्रम लागु गर्ने, सहुलियतपूर्ण मूल्यमा कृषि औजार वितरण बिउविजन उपलब्ध गराउने, कौँसीखेतीलाई प्रोत्साहन गर्नुका साथै बाँझो जमिन तथा खाली बगरको पहिचान गरी फलफूल र तरकारी खेतीका लागि प्रोत्साहन गरिने र आयात प्रतिस्थापन गरी कोहलपुरमा उत्पादित तरकारी निर्यातमा ध्यान दिइनेछ । कृषि पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने पनि बताइएको छ ।

पशुपालन तथा तरकारी पकेट क्षेत्र तोक्ने, पशु बीमा कार्यक्रमको निरन्तरता, ‘उपमेयरसँग महिला स्वरोजगार कार्यक्रम’ लागु गरिने भएको छ ।
यसैगरी नगरपालिकाले सामाजिक विकासलाई समेत प्राथमिकता दिएको छ । नौ बँुदामा समेटिएको सामाजिक विकासका लागि लक्षित वर्गअनुसार स्वरोजगारमूलक कार्यक्रम लागु गर्ने, उत्पादन बजारीकरणका लागि कोसेली घर सञ्चालन, सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने, अति विपन्न र एकल महिलाको निःशुल्क बीमा गरिदिने, बैंक तथा वित्तीय संस्थाहरुलाई ज्येष्ठ नागरिकमैत्री बनाउने, अपांंगमैत्री एटिएम सेवा सञ्चालन गर्न समन्वय गरिने भनिएको छ ।

महिला तथा ज्येष्ठ नागरिकको गुनासो सुन्न प्रत्येक वडामा ‘महिला तथा ज्येष्ठ नागरिकसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नीति तथा कार्यक्रमको तेस्रो प्राथमिकतामा शिक्षा क्षेत्र समेटिएको छ । कूल दशवटा बुँदामा समेटिएको शिक्षा क्षेत्रको विकासका लागि टिनका छाना विस्थापन गरिने भएको छ । यसै आर्थिक वर्षदेखि आधारभूत तहका विद्यालयलाई टिनका छानामुक्त बनाउने, विद्यालयमा छाना विस्थापन र जिप्सन जडान गरिने भएको छ ।

नगरमा रहेका सामुदायिक विद्यालयलाई सावासीय विद्यालयका रुपमा विकास गरिने भएको छ । तहगतरुपमा एउटा विद्यालयमध्ये कुनै दुई विद्यालयलाई ‘नगर नमुना विद्यालय’का रुपमा विकास गरिने भएको छ ।

स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थीसँग अग्रज कार्यक्रम सञ्चालन, एक विद्यालय, एक बगैँचा कार्यक्रमलाई प्रोत्साहित गरिने भएको हो ।

स्वास्थ्य सेवातर्फ निःशुल्क औषधि सेवा, ज्येष्ठ नागरिकलाई घरदैलो मै सेवा, दीर्घरोगीलाई निःशुल्क औषधि, गरिब परिवारका क्षयरोगीलाई पोषण खाद्य पदार्थ तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिइने भएको छ । दीर्घरोगीहरुको निःशुल्क स्वास्थ्य परीक्षण, सुपथ मूल्यको फारमेसी सञ्चालन गर्ने गरिने भएको छ ।

पूर्वाधार विकासतर्फ सबै वडाका मुख्य बस्तीसम्म पक्की सडक सञ्जाल जोड्ने, मुख्य सहरी क्षेत्रमा ग्राहकको चाप र सुरक्षाका लागि आकासे पुल निर्माण गरिने उल्लेख छ । प्रत्येक वडामा एउटा सामुदायिक भवन र ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण गर्ने, नगर गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने, विकास निर्माणमा राम्रो काम गर्ने व्यवसायीलाई प्रोत्साहन र ढिलाइ गर्नेलाई दण्ड जरिवाना गरिने बुँदासमेत उल्लेख छ ।

नगर क्षेत्रमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको बसोबासको व्यवस्थापन यसै आर्थिक वर्षमा गरिने भएको छ । एक वडा एक खेल मैदानको अवधारणा ल्याएको छ ।

वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रको विकासका लागि ‘हरित नगर’का रुपमा विकास गर्ने, प्लास्टिकको झोला प्रयोग निरुत्साहित गर्ने, ‘मेरो फोहोर, मेरो जिम्मेवारी’ अभियान अगाडि बढाउने भनिएको छ । न्याय सम्पादनको लागि विद्युतीय प्रणाली लागु गरिने भएको छ । प्रत्येक वडामा मेलमिलाप संयोजक तोक्ने नीति कोहलपुरले लिएको छ ।

अन्य पालिकामा भएका न्यायिकसम्बन्धी असल अभ्यासको सिकाइ आदाननप्रदान गरिनेछ । संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रको लागि एक लाखसम्मका योजना तथा कार्यक्रमको सम्झौता अब वडाबाटै हुने भएको छ । बालमैत्री, छुवाछुतमुक्त, पूर्ण खोप, पूर्ण सरसफाइयुक्त, बालश्रममुक्त र बालबिवाह रहित नगर बनाउन कार्ययोजना निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

यस्तै सञ्चार क्षेत्रको विकासका लागि सबै स्थानीय सञ्चार माध्यमलाई सूचिकृत एवम् वर्गीकृत गरी लोक कल्याणकारी सूचना सबैलाई उपलब्ध गराउने नीति लिइने उल्लेख छ । कोहलपुर नगरपालिकाको सञ्चार नीतिलाई आवश्यकताअनुसार परिमार्जन गर्ने, सञ्चारकर्मीहरुलाई फेलोसिपको व्यवस्था गर्ने र एड्भान्स तालिमको व्यवस्था गरिने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ९ गते शनिबार