नेपाल कम्युनिष्ट पार्टीको उद्भव, विकास र वर्तमान अवस्था



नेपाल कम्युनिष्ट पार्टीको २००६ साल बैशाख १० गते (१९४९ अप्रैल २२) कलकत्ताको स्यामबजार स्थित काईला बाजे भनेर चिनिने भाकपाका नेताको घरमा लेनिन दिवसको अवसर पारेर स्थापना गरेर स्थापना गरिएको थियो । उक्त दिनमा कमरेड पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैध, नारायण विलास, नर बहादुर कर्माचार्यको उपस्थितिमा भएको थियो । पार्टी स्थापना दिवसको सामाचार कमरेड मोतिदेवीलाई भएतापनि उहाँ समयमा नै कार्यक्रम स्थलमा नपुग्दा संस्थापक सदस्य रहेको विषयमा विवाद देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्न रुसी र चिनीया क्रान्तिको निरन्तर विकास, छिमेकी राष्ट्र भारतको तेलंङ्गना विद्रोह साथै नेपालमा जहानीया शासन विरुद्धको जनवार र जनसंर्घषहरु प्रेरणाका स्रोत थिए । नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठलाई निर्वाचित भएका थिए ।

स्थापना कालमा अनुपस्थित भनिएकी मोतिदेवी श्रेष्ठलाई १९४९ सेप्टेम्बर १५ मा केन्द्रिय कमिटीमा थप्न प्रस्ताव गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीको २००८ साल असोज ६ गते (२२ सेप्टेम्बर १९५१) कोलकत्तामा सम्पन्न भएको थियो । यस सम्मेलनले कमरेड मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरेको थियो । वि.स. २००८ साल कार्तिक २० (६ नोभेम्बर १९५१) नेपाल भारत विच सम्पन्न मैत्री सन्धी जसलाई त्रिपक्षीयसन्धी (तत्कालिन राजा, राणा, काँग्रेस र भारत) भनेर बुझिन्छ । उक्त सन्धी असमान र अपमानजनक रहेको भनेर नेपालभर नेपाल कम्युष्टि पार्टीको नेतृत्वमा देशभर व्यापक विरोध प्रर्दशन हुँदा चिनिया काजीमान श्रेष्ठलाई तत्कालिन सरकारको तर्फबाट हत्या गरेको थियो । २००९ साल माघ ९ गते (२२ जनवरी १९५३) मा डा. के.आई.सिंगले जेल विद्रोह गरे । यसैलाई निहु बनाएर २००९ साल माघ १९ गते (१ फेब्रुवरी १९५३) का मिति देखि त्रिशंकु सरकारले  नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगायो । नेकपा स्थापना पछि २००६ साल भदौ ३० (१५ सेप्टेम्बर १९४९) मा कमरेड पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गरेका थिए ।

२००९ साल तिरनै भिमदत्त पन्तले पश्चिम नेपालमा सशक्त किसान आन्दोलन चलाय । शुरुमा नेपाली काँग्रेससँग आवद्ध पन्त काँग्रेसको नीति कार्यक्रमसँग असन्तुष्ट भई २००७ साल पछि नेपाली कम्युनिष्ट आन्दोलनमा समाहित हुँदै पश्चिम नेपालमा ठुला–ठुला किसान आन्दोलनको नेतृत्व गरे । २००९ सालमा कञ्चनपुरको ब्रम्हादेवमा लुकाएर राखिएको नुनको गोदाम कब्जा गरी किसानलाई वितरण गरे । त्यसै वर्दिया जिल्लाको राजापुर क्षेत्रका किसानहरुलाई संगठित गर्दै आन्दोलित गर्ने गरी विशेष कार्यक्रमका साथ आन्दोलनका ज्वारभाटा सिर्जना गरे । उनको नारा थियो “कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब हुनेछैन् भलो” यो उनको क्रान्तिकारी नाराले पश्चिम नेपालका श्रमजिवी किसानहरुलाई आन्दोलित र उद्धेलित गर्यौ । नेकपाको सैद्धान्तिक आधारले पश्चिम नेपालमा किसान मुक्ति आन्दोलनले ज्वारभाटा सिर्जना गरेको देखेर देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिको षडयन्त्रमा १७ साउन २०१० सालमा २७ वर्षकै कलिलो उमेरमा डडेल्धुरा र डोटी जिल्लाको सिमा नजिकैको क्षेत्र गललेक भन्ने ठाऊमा रातिको समयमा खाना खादै गर्दा भिमदत्त पन्तका आफ्ने मित लालबहादुर थापाले हत्या गरेको भन्ने गरिएको छ तर यसको पुष्टि हुन बाँकी नै छ । यस प्रकारले एक क्रान्तिकारी योद्धा यो देशले गुमाउनु पर्यो ।

नेपाल कम्युनिष्ट पार्टीको प्रथम महाधिवेशन २०१० माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुवरी ७, १९५४) सम्म काठमाडौंमा सम्पन्न भएको थियो । महाधिवेशनमा कमरेड पुष्पलाल श्रेष्ठले संविधान सभाको निर्वाचन र डा. केशरजंग रायमाझीले वैधानिक राजतन्त्रको लाईनमा कार्यक्रम प्रस्तुत गरे । प्रस्तुत भएका दुई राजनितिक प्रस्तावहरुमाथि व्यापक छलफल भई कमरेड पुष्पलालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पारित भयो । जम्मा देशभर १६ हजार पार्टी सदस्य रहेको महाधिवेशनमा ७८ जना प्रतिनिधिको सहभागिता  रहेको थियो । उक्त महाधिवेशनबाट कमरेड मनमोहन अधिकारी पुनः पार्टी महासचिवमा निर्वाचित हुनु भएको थियो । वि.स. २०१२ साल कार्तिकमा दोस्रो राष्ट्रिय सम्मेलन भयो । उक्त सम्मेलनमा डा. केशरजंग रायमाझीले राजावादी धार समाते । सम्मेलनले राजतन्त्रको समर्थन र वैधानिक राजतन्त्रको राजनितिक कार्यदिशा पास गर्यो । पुष्पलाल श्रेष्ठले पार्टी कार्यक्रम परिवर्तन किन ? नामक दस्तावेज पेश गरे । टङ्क प्रसाद आचार्यको नेतृत्वमा रहेको सरकारले २०१२ सालमा कम्युष्टि पार्टीमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्यो ।

नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशन वि.स. २०१४ साल जेठ १४ देखि २५ गते सम्म (२८ मे देखि ७ जुन १९५७) काठमाण्डौंमा सम्पन्न भयो । यस महाधिवेशनमा कमरेड पुष्पलाल श्रेष्ठले संविधान सभा र संसदीय प्रजातन्त्रको लाईन, शंभुराम श्रेष्ठले गणतन्त्रको लाईन र केशरजंग रायमाझीले संवैधानिक राजतन्त्रको लाईनमा कार्यपत्र प्रस्तुत गरे । महाधिवेशनमा पुष्पलाल श्रेष्ठले पेश गरेको कार्यपत्रलाई संशोधन सहित “विधान सभाको लागि संघषर्” भन्ने लाईन पास गर्यो । दुर्भाग्य नेतृत्व भने बहुमतले केशरजंग रायझीलाई निर्वाचित गर्यो । उनी महासचिव भए । २०१७ सालमा विश्व कम्युनिष्ट आन्दोलनको मोर्चामा रायमाझी, शंभु श्रेष्ठ, कमर शाह, हिक्मतसिंग भण्डारी लगायतका सहभागि भएका थिए ।

यस अघि २०१५ सालको आम निर्वाचनमा कम्युनिष्ट पार्टीले पाल्पा र रौतहट लगायतका ४ (चार) ठाउबाट निर्वाचनमा विजय हासिल गरेको थियो । २०१७ साल पोष १ गते राजा महेन्द्रले जननिर्वाचित संसदलाई कु गरेर निरंकुश पञ्चायती व्यवस्थाको शुरुवात गरे । त्यस वेला रुसको मस्कोमा रहेका रायमाझीले राजा महेन्द्रको प्रतिगामी कदम र प्रतिगमनलाई स्वागत गरेका थिए । २०१७ साल पौष २२ गते महेन्द्रले राजनितिक दलहरुमाथि प्रतिवन्ध लगाए ।

२०१७ साल फागुनमा भारतको विहार राज्यको दरभंगा भन्ने स्थानमा लगातार एक महिना सम्म प्लेनम चल्यो । प्लेनममा २४ जिल्लाका ५४ जना प्रतिनिधि सहभागि थिए । उक्त प्लेनमका प्रस्तावित लाईनहरु १.मोहन विक्रम सिंहको संविधान सभाको निर्वाचन २.केशरजंग रायमाझीको संसदीय व्यवस्थाको स्थापना ३. पुष्पलाल श्रेष्ठको विघ्ठित संसदको पूर्नस्थापना थिए । जसमा सबै भन्दा धेरै मत मोहन विक्रम सिंहको संविधान सभाको निर्वाचन भन्ने लाईनमा २८ मत प्राप्त भयो । बहुमतका आधारमा सिंहले प्रस्तुत गरेको लाईन पार्टीको आधिकारिक लाईन बन्न पुग्यो । यसमा रायमाझीको १७ मत र पुष्पलाल श्रेष्ठको ६ मत मात्र प्राप्त भएको थियो भने पुष्पलाल श्रेष्ठको पक्षमा बहुमत केन्द्रिय सदस्य निर्वाचित भएका थिए । नौ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने अनिर्णित अवस्थामा नै प्लेनम समाप्त भयो । प्लेनम पश्चात रायमाझी र बहुमत केन्द्रिय सदस्यहरु दरबारसँग साँठगाँठ गरे । २०१८ सालमा पुष्पलाल श्रेष्ठ र तुल्सीलाल अमात्यको अग्रसरतामा अन्र्तजोन सामञ्जश्य समिति गठन भएको थियो । यो समिति गठन गर्नु पार्टी नीति विपरित भएको र पार्टीको समानान्तर गतिविधि गरिएको अभियोगमा पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य र हिक्मत सिंग भण्डारीलाई २०१९ सालमा पार्टीबाट निष्काशन गरियो । नेकपाको तेस्रो महाधिवेशन २०१९ साल बैशाख ४ देखि १५ गते (अप्रैल १६ देखि २७, १९६२) सम्म भएको थियो । जसका प्रस्तावित लाईनहरु निम्नअनुसारका थिए ।

१. तुल्सीलाल अमात्य :सार्वभौमसत्ता सम्पन्न संसद ।

२. पुष्पलाल श्रेष्ठ :विघटित संसदको पुर्नस्थापना ।

३. मोहन विक्रम सिंह :संविधान सभाको निर्वाचन ।

महाधिवेशनबाट कमरेड मोहन विक्रम सिंहको संविधान सभा निर्वाचनको लाईन बहुमतबाट पारित भयो । तर महामन्त्रीमा तुल्सलिाल अमात्य निर्वाचित भए । केन्द्रिय कमिटमि केशरजंग रायमाझी, शंभुराम श्रेष्ठ, कमर शाह, डि.पी.अधिकारी र पिवि मल्लहरु थिए ।२०१९ साल देखि २०४७ साल सम्म नेपाल कम्युनिष्ट पार्टीको पार्टी जिवन टुटफुट, विभाजन र अस्तव्यस्ताको अवधी रह्यो । यस अवधीमा दर्जनौ कम्युनिष्ट समुहहरु समुह उपसमुहमा विभाजित रहि नै रहे ।

क. रायमाझी समुह :-रायमाझी समुहले २०२४ सालमा तेस्रो महाधिवेशन गर्यो । २०२४ सालमा भएको तेस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महामन्त्रीमा निर्वाचित भए । २०३६ सालताका पंचायतमा प्रवेश गर्ने वा नगर्ने विषयमा रायमाझी र मानन्धर विच विवाद् उत्पन्न भयो । २०३८ सालमा चौंथो महाधिवेशन डाँकी मानन्धर समुहको गठन गरियो र रायमाझी समुहबाट अलग भएको घोषणा गरियो । २०४० सालमा रायमाझी समुहको पाँचौ महाधिवेशन भयो । पाटी वर्मा र रायमाझी समुह गरी दुई गुटमा विभाजित भयो । दुबैले एक अर्कालाई पार्टीबाट निस्कासन गरेको घोषणा गरे । यसरी रायमाझी समुह ति टुक्रामा विभाजित भयो । यिनिहरु रसियाको पक्षमा उभिए । पछि गएर रायमाझी समुह आधिकारीक रुपमा दरबारमा प्रवेश गर्यो ।

ख. पुष्पलाल समुह :-२०२४ सालमा पुष्पलालले भेला गरी आफ्नो समुह व्यवस्थित गर्न खोजे । २०२५ सालमा भारतको गोरखपुरमा तेस्रो सम्मेलनको आयोजना गरी नयाँ जनवादीा गणतन्त्रको लाईन पारित गरी पुष्पलाल श्रेष्ठ महामन्त्री बने । २०२९ सालमा पुष्पलाल समुहको चौथो राष्ट्रिय सम्मेलन भयो । २०३१ सालमा कम्युनिष्ट पार्टी एकता संघर्ष समिति गठन भयो । २०३३ साल असार १५ मा विराज आश्रित, मोदनाथ प्रश्रित, बामदेव गौतमले पुष्पलाल समुहबाट विद्रोह गरी मुक्ति मोर्चा समुह गठन गरे । २०३५ साल साउन ७ मा पुष्पलाल श्रेष्ठको असमायिक निधन पछि त्यो समुहको नेतृत्व बलराम उपाध्यायले गरे । यसै संगठनलाई विकास गरेर २०४४ सालमा साहना प्रधान र भरतमोहन अधिकारी मिलेर नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी गठन गरे ।

ग.रोहित समुह :-पुष्पलाल समुहबाट २०३२ साल माघ १० गते अलग भएर नेपाल मजदुर किसान संगठन निर्माण गरियो । त्यस्तै २०३६ सालमा रुपलाल विश्वकर्माको नेतृत्वमा विद्रोह गरी पुष्पलाल श्रेष्ठको समुहबाट अलग भई २०३८ सालमा सर्वहारावादी श्रमिक संगठनको गठन भयो । २०४६ साल पछि राष्ट्रिय सम्मेलन गरी नारायणमान विजुक्छे (रोहित) को नेतृत्वमा नेपाल मजदुर पार्टीको गठन भयो ।

घ.पुर्व मेचीकोशी प्रान्तिय समिति:-भारतको दरभंगामा २०२२ सालमा सम्मेलन गरी भरतमोहन अधिकारी र कमल कोईरालाको नेतृत्वमा मेचीकोशी प्रान्तिय कमिटी गठन भयो । २०२७ साल तिर यसको कार्यनितिक विवादका कारण झापा जिल्ला कमिटी अलग भयो र त्यही झापा जिल्ला कमिटीले २०२८ सालमा वर्ग दुश्मन खतम पार्ने उद्देश्य सहित झापा विद्रोह शुरु गर्यो ।

ङ.कोर्डिनेशन केन्द्र :-२०२८ सालमा शुरु भएको झापा विद्रोहका कमी कमजोरी हटाउने निर्णय सहित १४ जेठ २०३१ मा झापा, मोरङ र सुनसरी जिल्ला कमिटीले समन्वयका लागि अपिल प्रकाशन गर्यो । २०३२ साल जेठ १४ गते देखि २५ गते सम्म सम्मेलन गरी अखिल नेपाल क्रान्तिकारी कोर्डिनेशन केन्द्र (माले) पुर्नगठन भयो । त्यसको नेतृत्व कमरेड चन्द्र प्रकाश मैनालीले (सिपी मैनाली) गरे । २०३५ साल पुष ११ मा माओत्सेतुङ्गको जन्मदिन पारी रोहित समुह, मुक्ति मोर्चा समुह, सन्देश समुह, रातो झण्डा समुह लगायतका दर्जनौ क्रान्तिकारी समुह मिली नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) को गठन भयो । जसको महासचिव सिपी मैनाली हुनुभयो । यस समुहले समयसापेक्ष र वस्तुगत आधारमा अगाडी बढ्ने क्रममा नेपाली कम्युनिष्ट आन्दोलनको मुलधारमा स्थापित हुँदै २०४६ साल भदौ ९ देखि १४ सम्ममा नेकपा मालेको चौंथो महाधिवेशन सिराहमा सम्पन्न गर्यो । यो महाधिवेशनबाट बहुदलिय जनवादका प्रणेता क.मदन कुमार भण्डारी पार्टी महासचिवमा निर्वाचित हुनु भयो । २०४७ सालमा नेकपा माले र नेकपा माक्र्सवादी विच ऐतिहासिक रुपमा पार्टी एकिकरण हुन पुग्यो । सो पार्टीको नेपाल कम्युनिष्ट पार्टी (एमाले) नामाकरण गरियो । एकिकृत पार्टीको अध्यक्षमा क.मनमोहन अधिकारी र महासचिवमा क.मदनकुमार भण्डारी निर्वाचित हुनु भयो । र हाल सम्म नेपाल कम्युनिष्ट पार्टीका रुपमा यो पार्टी देशकै लोकप्रिय पार्टीका रुपमा स्थापित छ । २०४९ सालमा नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट कमरेड मनमोहन अधिकारी अध्यक्ष र कमरेड मदन कुमार भण्डारी महासचिवमा पुनः निर्वाचित हुनुभयो । महाधिवेशनले नेपाली क्रान्तिको कार्यक्रमका रुपमा १४ वटा विशेषतायुक्त जनताको बहुदलिय जनवादको नीति तथा कार्यक्रम पारित गर्यो । र आज पनि उक्त कार्यक्रमले नेपाली श्रमजिवी वर्ग, उत्पीडित जातजाति, वर्ग र समुदायको पथप्रर्दन गरिरहेको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा रहस्मय तरिकाबाट जननेता मदन कुमार भण्डारी र कुशल संगठक जिवराज आश्रितको हत्या पश्चात कमरेड माधव कुमार नेपाललाई पार्टी केन्द्रिय कमिटीले महासचिवको जिम्मेवारी प्रदान गर्यो । २०५४ सालमा नेपालगंज, बाँकेमा भएको छैंठौ राष्ट्रिय महाधिवेशनले पुनः माधव कुमार नेपाललाई महासचिवमा निर्वाचित गर्यो । २०५४ सालमा महाकाली सन्धी सम्बन्धी अन्तरपार्टी संर्घषले उग्र रुप लिंदा नेपाली श्रमजिवी सर्वहारा वर्ग र नेपालकै सर्वाधिक लोकिप्रिय संगठन विभाजन भई ठुलो क्षती हुन पुग्यो । नेकपा एमाले दुई धारमा विभाजित हुन पुग्यो । र संस्थापन पक्षको नेतृत्व कमरेड माधव कुमार नेपाल लगायतका नेताहरुले गर्नु भएको थियो भने विभाजनकारी समुहको नेतृत्व कमरेड वामदेव गौतम सिपि मैनाली लगायतले गरी नेकपा माले गठन गरेका थिए । २०५९ सालमा पुनः दुई पार्टीका विचमा एकता भयो । महासचिवमा पुनः माधव कुमार नेपाल निर्वाचित भए । २०६४ सालमा नेकपा एमालेलाई पहिलो संविधान सभाको निर्वाचनमा लागेको धक्काको कारण माधव नेपालले आफ्नो पदिय जिम्मेवारीबाट राजीनामा दिए । २०६५ फागुन ५–१४ बुटवलमा भएको आठौं राष्ट्रिय महाधिवेशनबाट क.झलनाथ खनाल पार्टी अध्यक्षमा निर्वाचित भए । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमाले दोस्रो ठुलो दल बन्यो । नवौ राष्ट्रिय महाधिवेशन २०७१ साल असार १९ देखि साउन १ गतेसम्म काठमाण्डौंमा भएको थियो । उक्त महाधिवेशनबाट क.केपी शर्मा वली अध्यक्षमा निर्वाचित हुनु भयो । २०७८ साल मंसिर १० देखि १४ गते सम्म चितवनको सौराहमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट पुनः कमरेड केपी शर्मा वलीलाइ अध्यक्षमा निर्वाचित गरी पार्टी सत्ताको वागडोर सुम्पिएको छ ।

च. केन्द्रिय न्युक्लस :-२०२८ सालको मंसिर २० मा मोहन विक्रम सिंह लगायत वाग्मती प्रान्तीय कमिटीमा रहेका सिद्धिलाल सिंह, नर बहादुर कर्माचार्य र देवेन्द्र श्रेष्ठ मिली केन्द्रिय न्युक्लस गठन गरे । केन्द्रिय न्युक्लसका संस्थापकहरुमा मोहन विक्रम सिंह, मनमोहन अधिकारी, निर्मल लामा, शंभुराम श्रेष्ठ, जयगोविन्द शाह, भरत मोहन अधिकारी, राम बहादुर ह्यायु र कमल कोइराला आदि थिए ।

छ. चौथो महाधिवेशन (चौम):-२०३१ साल भाद्र ३० गते देखि असोज ७ गते सम्म निर्मल लामा, मोहन विक्रम सिंहहरुको पहलमा चौथो महाधिवेशन भयो । जसको नारा थियो “देश भक्त र प्रजातन्त्रवादीहरुको संयुक्त सरकार” । उक्त महाधिवेशनले मोहन विक्रम सिंहलाई महासचिवमा निर्वाचित गर्यो । त्यही समयमा पुष्पलालले राजतन्त्रलाई परास्तगर्न काँग्रेससँग पनि संयुक्त मोर्चा बनाउनुपर्ने धारणा अघी सार्नुभयो । मोहन बिक्रम सिंहले उहाँको कडा आलोचना गरी गद्दार पुष्पलाल भनेर पुस्तक नै प्रकाशन गर्न पुगे । २०३१ साल देखि २०३३ साल सम्म मोहन विक्रम सिंहलाई माओ र निर्मललामालाई चाउएन लाई का उपनामले प्रचार गरिन्थ्यो । २०३५ सालमा मोहन विक्रम सिंहलाई कार्वाही गरियो । निर्मल लामा महामन्त्री भए । छिट्टै कार्वाही फुकुवा गरी मोहन विक्रम सिंहलाई पुनः जिम्मेवारीमा ल्याईयो । तर निर्मल लामा पनि कार्वाहीमा परे पछि २०३६ सालमा भक्त बहादुर श्रेष्ठ ‘शेरसिंह’ महामन्त्री भए । त्यतिबेला मोहन विक्रम सिंह र निर्मल लामा दुबै सुधारवादी धारका पक्षपाती थिए । यसको केही समय पछि छोटो समय चित्रबहादुर के.सी.पार्टीको महामन्त्री बने । २०३७ सालमा ऋषि देवकोटा ‘आजाद’ले पार्टीमा विद्रोह गरे । २०३९ साल तिर मोहन विक्रम सिंह दोस्रोपटक कारवाही गरियो । २०४० सालमा चित्रबहादुर श्रेष्ठ गिरप्तार भएपछि निर्मल लामाले नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेश गठन गरे । यसलाई छोटकरीमा चौम भनेर बुझिन्छ ।

ज. चौम समुह :-२०४० साल मंसिरमा निर्मल लामाको नेतृत्वमा चौमको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ साल फागुनमा सम्मेलन गरी चौमको महामन्त्री निर्मल लामा बने । यो समुह २०४६ सालको जनआन्दोलनमा संयुक्त रुपमा सहभागि भई संघर्षमा उत्रियो ।

झ.नेकपा मशाल:-पार्टी विभाजन गरी निर्मल लामाले नेकपा चौम गठन गरे पश्चात २०४० साल कार्तिकमा राष्ट्रिय सम्मेलनको आयोजना भयो । उक्त सम्मेलनबाट मोहन विक्रम सिंह महामन्त्री बने । तर यो समुह पनि लामो समय सम्म एकिकृत रहन सकेन । पाँचौ महाधिवेशन २०४१ साल मंसिर १ देखि १६ गते सम्म भएको थियो । महाधिवेशनले मोहन विक्रम सिंहको कार्यदिशा पास गर्यो । तर उनी माथि वैचारिक र सांस्कृतिक विचलनको अभियोगमा उनीमाथि कारवाही भयो । महाधिवेशनमा प्रचण्डले मोहन विक्रम सिंहलाई सैद्धान्तिक र सांस्कृतिक विचलन भएको प्रतिवेदन पेश गरे । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित गर्यो । २०४२ सालमा महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रिय सदस्य मध्ये ४ जनालाई लिएर मोहन विक्रम सिंहले नेकपा मसाल गठन गरे । यसलाई पातलो मसाल भनेर चिनिन थाल्यो । २०४३ सालमा मसालले राष्ट्रिय सम्मेलन गर्यो । २०४३ सालमा नेकपा मशाल अर्थात मोटो मसालको तर्फबाट काठमाण्डौंका प्रहरी बिटमा आक्रमण र पोष्टर टास्ने काम भयो । जुन घटनाले पार्टीका धेरै नेता र कार्यकर्ताहरु गिरफ्तारमा परे र पार्टीलाई गम्भिर क्षति हुन पुग्यो । त्यस काण्डलाई सेक्टर काण्डको नामले बुझिन्छ । सेक्टर काण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्य किरणले महामन्त्रीबाट राजीनामा दिए । २०४५ सालमा नेकपा मशालको राष्ट्रिय सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचि गरेर माओवादको कार्यदिशा पारित गरेको थियो । साथै, दीर्घकालिन जनयुद्धको कार्यक्रम समेत पारित गर्यो । २०४६ सालको जनआन्दोलनमा नेकपा मशाल, नेकपा मसाल, मसाल विद्रोही समुह, सर्वहारा श्रमिक संगठन, नेकपा चौम लगायत मिलेर संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बन्यो ।

ञ.नेकपा माओवादी समुह:-२०४७ साल श्रावणमा प्रचण्ड नेतृत्वको नेकपा मशाल, निर्मल लामाले नेतृत्व गरेको नेकपा चौम, रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठन विच एकता भई नेकपा एकता केन्द्र बन्यो । २०४७ सालको अन्त्यतिर मोहन विक्रम सिंहसँग सम्बद्ध नेकपा मसालबाट विद्रोह गरी हरिबोल गजुरेलको नेतृत्वमा डा. बाबुराम भट्टराई लगायतको टिम नेकपा एकता केन्द्रमा समाहित भयो । २०४८ साल मंसि ४ मा एकता महाधिवेशन भयो । उक्त महाधिवेशनले प्रचण्डको दीर्घकालिन जनयुद्धको राजनितिक कार्यदिशा पास गर्यो । महाधिवेशनमा प्रचण्ड लगायत, निर्मल लामा, मोहन वैद्य, चित्र बहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा र हरिवोल गजुरेल लगायतका ११ जना पुर्व महामन्त्रीहरु थिए तर यिनिहरु सबै विच प्रचण्ड महामन्त्री निर्वाचित भए । २०४८ सालको संसदिय निर्वाचनमा ११ स्थानमा एकता केन्द्र विजय हुन सफल भयो । २०५१ साल असारमा भएको प्रथम राष्ट्रिय सम्मेलन पछि निर्मल लामाहरु पार्टीबाट अलग भए । त्यसपछि निर्मल लामा,नारायणकाजी श्रेष्ठ, अमिक शेरचन र लिलामणी पोख्रेलहरु मिलेर नेकपा एकता केन्द्र गठन गरे । २०५१ साल फगुन २ देखि ४ गते सम्म प्रचण्डको नेतृत्वमा रहेको नेकपा एकता केन्द्रको  तेस्रो बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनितिक तथा फौजी कार्यदिशा निर्धारण गर्यो । पार्टीको नाम परिवर्तन गरी नेकपा (माओवादी) राख्यो । यहि समयबाट माओवादीले उग्रवामपन्थी लाईनलाई संस्थागत रुपमा ग्रहण गर्यो । जनयुद्धका नाममा देशका भौतिक संरचना भत्काउने, राजनितिक एवं व्यक्तिगत प्रतिशोधात्मक भावनाले काम गर्ने कारणलेगर्दा फरक विचार र धारणा राख्ने प्रति असहिष्णुता मात्रै होईन भौतिक कारवाहीको नाममा हिंसा गर्ने, मानिसको जिवननै समाप्त पारिदिने प्रकारका सैन्यवादी, उग्रवामपन्थी तथा उपयोगितावादी चिन्तन, आचरण र प्रवृतिका कारण विस्तारै कथित माओवादी जनयुद्ध कमजोर बन्दै  गयो । २०६२÷०६३ को जनआन्दोलन र १२ बुंदे समझदारी पछि शान्तिपूर्ण राजनितिक मुलधारमा प्रवेश गर्यो । २०६४ सालमा प्राप्त गरेको सफलताको भारी उन्माद्ले गर्दा २०७० साल पुग्दा नपुग्दै विसाउन पुग्योे । अहिले यसले आफ्नो अस्तित्व रक्षाको लडाई लड्दै छ ।

ट.नेकपा एमाले धार:-२०४६ सालको जनआन्दोलन पछि नेकपा माले र नेकपा माक्र्सवादी विच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी–एकिकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) बन्यो । २०४९ साल माघ १४ देखि २० गते सम्म, काठमाण्डौ.मा भएको नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनले कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका विषयमा व्यापक छलफल सहित नेपाली क्रान्तिको राजनितिक कार्यदिशाका रुपमा १४ नवीनतम विशेषता सहितको जनताको बहुदलीय जनवादको राजनितिकि कार्यदिशा पारित गर्यो । यसका १४ वटा विशेषताहरु देहाय बमोजिम रहेका छन् ।

१. संविधानको सर्वोच्चता :- कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन ।संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ ।समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।

२.बहुलवादी खुला समाज :- प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाबाट अलग, बन्द र एकोहोरो समाज हुनुहँदैन ।

.शक्ति पृथकीकरणको सिद्धान्त :- शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।

.मानव अधिकारको रक्षा :-साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुनसक्छन्। मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ ।

.बहुदलीय प्रतिस्पर्धा प्रणाली :-  राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनु हुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।

. आवधिक निर्वाचन :- जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन–विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।

. बहुमतको सरकार र अल्पमतको विपक्ष :-  बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।

. कानूनको शासन :- कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन् ।

.जनताको जनवादी व्यवस्थाको सुदृढीकरण :- जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने छ ।

पहिलो चरण: पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने ।

दोश्रो चरण : नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।

तेश्रो चरण : समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।

१०. विदेशी पूजी र प्रविधि :- वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिनेछ ।

११. क्षतिपूर्ति :- नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति लिइनेछ।  क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइने छ ।

१२. विदेश नीति :- पञ्चशिलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने ।

१३. नेतृत्व र अधिनायकत्व :-सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने ।

१४. जनताको बहुदलीय जनवाद :- यो नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।

यस महाधिवेशनबाट पार्टी विधिवत रुपमा अध्यक्षतात्मक प्रणालीमा जाने विधिवत निर्णय गर्यो र पार्टी अध्यक्षमा कमरेड मनमोहन अधिकारी र महासचिवमा जननेता कमरेड मदन कुमार भण्डारी निर्वाचित हुनुभयो । २०५० साल जेठ ३ गत क.मदन भण्डारीको रहस्मय तरिकाबाट हत्या भयो । २०४८ सालको निर्वाचनमा ६९ सिट सहित प्रमुख प्रतिपक्ष भएको एमाले २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा ८८ सिट सहित सबै भन्दा ठुलो दलको हैसियतले अल्पमतको सरकार गठन गर्न सफल भयो । त्यस सरकारले गरेका जनपक्षिय कामहरु युगौयुग सम्मन स्वर्णीम अक्षरले लेखिने छन् र जनमानस पटलमा स्मरणीय रहिरहने छन् ।

१.आफ्नो गाउँ आफै बनाउ भन्ने नाराका साथ स्थानीय निकायलाई साधन स्रोत सहित सशक्तिकरण, २.नौ स को अभियान । यस्ता थिए नौ स का कार्यक्रमहरु :- स्थानीय सडक, स्वच्छ पिउने पानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सीपमूलक तालिम र रोजगारी, सामुदायिक वृक्षरोपण, साना जलविद्युत् विकासबाट ग्रामीण विकास, साना तथा घरेलु विकास गरी नौवटा विषयमा प्रत्येक वर्ष हरेक निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नैपर्ने भनेर नौ स को अभियान चलाए अधिकारीले। नौवटा कार्यक्रम सञ्चालन गर्ने हुँदा यसको नाम नौ सुरु भएको हो,३. सामाजिक सुरक्षा भत्ताको शुरुवात र ४.सुकुम्बासी समस्या समाधानको पहल कदमी जस्ता लोककल्याणकारी र युगान्तकारी नीति तथा कार्यक्रमले नेकपा एमालेलाई थप उचाई प्रदान् गर्यो । जसको परिणाम स्वरुप २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एक्लै नेकपा एमालेले देशभर ५० प्रतिशत भन्दा बढी जनप्रतिधि जित्दै ६० जिल्ला विकास समितिको नेतृत्व गर्न सफल भयो । तर २०५४ सालमा नेपालगंज, बाँकेमा भएको छैंठौ राष्ट्रिय महाधिवेशन पछि महाकाली सन्धीको नाममा अनुचित वखेडा झिकि नेकपा एमालेलाई विभाजित गर्ने काम भयो । कमरेड वामदेव गौतम सिपि मैनाली लगायतका कमरेडहरुले नेकपा एमाले जस्तो लोकप्रिय एवं जनमुखी पार्टीलाई विभाजन गरी औचित्यहिन फुट गराई  पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम भयो । नेकपा एमालेको नीति तथा कार्यक्रम र नेतृत्वको सुझबुझले फुटकोक्षती न्युनिकरणगर्दै गएपछि २०५६ सालको संसदीय निर्वाचनमा बहुमत ल्याउन नकेतापनि प्रमुख प्रतिपक्षी दलको रुपमा स्थापित हुन सफल भयो । तर पार्टी विभाजन गरी गएका कमरेडहरुले सो निर्वाचनमा एक सिट समेत जित्न नसकी फुटको औचित्य सावित गर्न नसकेपछि पुनः नेकपा एमालेमा समाहित हुनु भयो । २०६४ सालको प्रथम संविधान सभाको निर्वाचनमा नेतृत्वको कारण पार्टी कमजोर सावित भयो । देशभर जनताको एमाले प्रति आर्कषण हुदाहुदै पनि बालात तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।

२०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमाले दोस्रो ठुलो दल बन्यो । नवौ राष्ट्रिय महाधिवेशन २०७१ साल असार १९ देखि साउन १ गते सम्म काठमाण्डौंमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट क.केपी शर्मा वली अध्यक्षमा निर्वाचित हुनु भयो । क. केपी शर्मा वलीले पार्टीको वागडोर सम्हाले पछि संविधान निर्माण, २०७२ सालको महाभुकम्पबाट पीडित नागरिक र परिवारहरुलाई तत्काल पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गरेर ५ हजार अस्थायी सेल्टरको निर्माण, भुकम्प प्रभावित नागरिकहरुको खोज, उद्धार र राहत वितरणको कार्य गरी जनसेवाको प्रमुख नमुना उदाहरण प्रस्तुत गरिएको थियो । संविधान निर्माण पश्चात भारतले लगाएको नाकावन्दीको डटेर सामना, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनका पक्षमा दृढतापूर्वक गरेको अडान ईतिहासमा स्वर्णअक्षरले लेखिने छ । पुन ः दोस्रो पटक २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विच चुनावी तालमेल पश्चात क.अध्यक्षको नेतृत्वमा ४१ महिना सरकार संचालन भयो । यस अवधिमा चिनसँग व्यापार तथा पारवहन सन्धी, भूकम्प पछिको पुर्ननिर्माण, चिनिया उच्च नेतृत्वको नेपाल भ्रमण र विभिन्न द्धिपक्षीय समझदारीमा हस्ताक्षर, भौतिक पुर्वाधार क्षेत्र विकासको दृष्टिकोणले स्वर्णीमकाल, ऐतिहासिक आर्थिक बृद्धिदर, कोभिड–१९ महामारी रोगको उचित रोकथाम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम, स्वास्थ्य विमा कार्यक्रम, संघीयताको कार्यान्वयन, राष्ट्रिय गौरवका योजनाहरुको निर्माण कार्यलाई तिब्रता, हुलाकी सडकको निर्माण, नेपाललाई टनेल युगमा प्रवेश लगायताका अद्धितिय कामहरुले नेकपा एमालेलाई थप उचाईमा पुर्याउन मद्दत मिल्यो । पार्टीलाई भएको देशी विदेशी प्रतिक्रियावादी शक्तिको चौतर्फी घेराबन्दी तोड्दै २०७८ साल मंसिर १० देखि १४ गते सम्म चितवनको सौराहमा भएको दशौं राष्ट्रिय महाधिवेशनको सफल आयोजनाबाट पुनः कमरेड केपी शर्मा वली अध्यक्षमा निर्वाचित गरी पार्टी सत्ताको वागडोर सुम्पिएको छ । यि सबै कारणले नेकपा एमाले २०७९ साल मंसिर ४ को आमनिर्वाचनमा २८,४५,६४१ मतका साथ देशको सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित भएको छ ।

खिलप्रसाद भुसाल

(नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य)

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २६ गते शुक्रबार