मधुर पौडेल,बाँसगढी
बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणाको सञ्चालक समिति चयनका लागि निर्वाचन हुने भएको छ । सञ्चालक समितिको पदाधिकारी, सदस्यसहित लेखा समितिको संयोजक र सदस्य पदका लागि निर्वाचन हुने भएको हो ।
नयाँ कार्य समितिका लागि जेठ २७ गते निर्वाचनको मिति तोकिएको छ । सोहीअनुसार निर्वाचन समितिले उम्मेदवारको प्रथमपटक मनोनयन सार्वजनिक गरेको छ । निर्वाचन संयोजक चन्द्रप्रसाद जैसीका अनुसार विभिन्न पदका लागि उम्मेदवारी दिएका मतदाताको नामावली सार्वजनिक गरिएको छ ।
सञ्चालक समिति र लेखा समितिका लागि ५३ जना उम्मेदवार भएको निर्वाचन समितिले जनाएको छ । बर्दिया बहुमुखी क्याम्पसमा पछिल्लोपटक २०६५ सालमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको थियो । त्यतिबेला नेकपा एमाले निकट श्याम ढकाल सर्वसहमतिमा अध्यक्षमा चयन भएका थिए । करिब १५ वर्ष उनले क्याम्पस सञ्चालक समितिको अध्यक्ष काम गरे ।

यसपटक पनि दलीय प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गरिने भएको हो । नेकपा एमाले, नेकपा माओवादी र नेकपा समाजवादीले चुनावमा गठबन्धन गरेका छन् भने नेपाली कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन खडा गरिएको छ ।
अध्यक्ष पदका लागि दुई गठबन्धनसहित स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवार दिएका छन् । नेकपा एमाले, नेकपा माओवादी र नेकपा समाजवादीले चुनावमा गठबन्धनबाट सुन्दरकुमार ढकाल उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसका तर्फबाट मानबहादुर ओलीले उम्मेदवाी दिएका हुन् ।
देवकी नन्दन त्रिपाठी, मीनबहादुर विक, दिनानाथ शर्मा ज्ञवाली र नवराज अधिकारी स्वतन्त्र व्यक्तिले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।
भक्तिराम अधिकारी एमाले–माओवादी गठबन्धनबाट र गंगाराम थारु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् । उपाध्यक्ष पदमा दयाराम थारुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । समितिको खुला सदस्यमा १२ जना रहने व्यवस्था छ ।
खुला सदस्य पदमा ३२ जनाको उम्मेदवारी परेको निर्वाचन संयोजक जैसीले बताए । महिला सदस्य पदमा चारजनाको उम्मेदवारी परेको छ ।
यस्तै लेखा संयोजक पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर खड्का, नेकपा माओवादी केन्द्रका ऋषिराम गौतम र कृष्णप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् भने दुईजना लेखा समिति सदस्य पदका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएको छ ।









प्रतिक्रिया दिनुहोस्