मिहिनेती महिला : जुत्ताचप्पल सिलाउने महिला



ज्ञानमाया थापा, गणेश रावत
कोहलपुर–नेपालगन्ज सडकअन्तर्गत न्यूरोडको व्यस्त सडक । सडक छेउ (पश्चिमतर्फ) केही रुखहरु छन् । ति रुखहरुले छहारी मात्र होइन, व्यावसासयिक थलो पनि निर्माण गरेका छन् । जुन थलोमा भेटिन्छिन्, ‘कोहलपुर–११ की दिपा नेपाली (३९) ।’ उनको दैनिकी जुत्ताचप्पल सिलाइ गर्दैमा बित्छ । जुत्ताचप्पल पुरुषले मात्र सिलाउनु पर्छ, महिलाले त छुनु पनि हुँदैन भन्ने परम्परालाई छिचोल्दै उनले यसलाई आम्दानीको प्रमुख स्रोत बनाएकी छिन् ।


१५ वर्षदेखि जुत्ताचप्पल सिलाएर जीविकोपार्जन गरेकी दिपा यसमै खुसी र सन्तुष्टि छिन् । सडकपेटीमा बसेर जुत्ताचप्पल सिलाउनु रहर होइन, बाध्यताले उनी सडकपेटीसम्म पुगिन् । जिन्दगीमा दुःखसुखसँगै बिताउने कसम खाएका श्रीमान् बिछोडिएपछि छोराछोरीको लालनपालन र जीविकोपार्जनका लागि उनीले एउटा संघर्षरत यात्रा सुरु गरिन् । ‘श्रीमान् सटर भाडामा लिए जुत्ताचप्पल सिलाउनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘पछि अर्काे विवाह गरेर श्रीमान् सल्यान जानुभयो ।

उहाँले गर्दै आएको व्यवसाय मैले सम्हालेँ ।’ सटरको भाडा तिर्न सक्ने अवस्था नभएपछि सडक छेउमै आएर पेसालाई निरन्तरता दिएको उनी बताउँछिन् ।
एउटा चप्पल सिलाएको ६० र जुत्ता सिलाएको एक सय रुपैयाँ उनले ज्याला लिन्छिन् । यसबाट दैनिक चार सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । कोभिड–१९ (कोरोना भाइरस) भन्दा पहिला राम्रो व्यापार भएको भन्दै उनी भन्छिन्, ‘कोरोना भाइरसभन्दा पछि व्यापार कम भएको छ ।

त्यसमा पनि अहिलेको आर्थिक मन्दीले गर्दा व्यापारमा केही घाटा छ तर, चिन्ताजनक भने छैन ।’ ‘एउटा छोरी छ । अनि म । सानै लगानीको व्यापार भए पनि मागेर, ठगेर खानु परेको छैन,’ उनी भन्छिन्, ‘दिनभरिको कमाइले साँझबिहान खान र दैनिक घर खर्च चलाउन गाह्रो छैन ।’


दिपाको नजिकै पिरीमा सार्की पनि जुत्ताचप्पल सिलाउन व्यस्त छिन् । जीविकोपार्जनका अनेक उपाय हुँदाहुँदै उनले पनि यसै पेसालाई जीवनयापनको माध्यम बनाएकी छिन् । ‘श्रीमान् पहिलेदेखि नै यो पेसामा हुनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘श्रीमान्लाई सघाउँदा सघाउँदै मैले पनि जुत्ताचप्पल सिलाउने जाने ।’

अहिले आफू पनि श्रीमान् जस्तै गरी जुत्ताचप्पल सिलाउने गरेको उनी बताउँछिन् । ‘यसभन्दा पहिला श्रीमान् मात्र कमाउने हुँदा घरको अवस्था सामान्य थियो,’ उनले भनिन्, ‘अहिले दुवैजना पेसामा आबद्ध हुँदा आम्दानी पनि बढेको छ । घर चलाउन सजिलो भएको छ ।’
पिरीमाको छेउमै बसेकी मीना नेपालीले जुत्ताचप्पल सिलाउन थालेको १० वर्ष भयो । श्रीमान्को मृत्यु भएपछि उनले व्यवसायको बाटो रोजिन् । ‘श्रीमान् बित्नु भयो । उहाँको मृत्युपछि घरपरिवार चलाउन समस्या हुँदा व्यवसाय सुरु गरे,’ उनले भनिन्, ‘थोरै लगानीमा मनग्ये आम्दानी हुने पेसा भनेकै जुत्ताचप्पल सिलाउने देखेपछि यस पेसामा आबद्ध भएँ ।’ यसबाट अहिले सन्तुष्टि भएको उनको भनाइ छ । उनको तीनजनाको परिवार छ । यही पेसामा उनले परिवार चलाएकी छिन् ।


दिपा, पिरीमा र मीना कोहलपुरका एक्ला महिला हुन्, जसले जुत्ताचप्पल सिलाउने व्यवसाय गरेका छन् । पुरुषहरु यसमा आबद्ध भए पनि अरु महिलाले यस पेसा गर्न अझै हिम्मत गर्न सकेका छैनन् । यी तीनजना महिलाले भने महिला र पुरुषबीचको परम्परागत कामको बाँडफाँडलाई चुनौती दिँदै जुत्ताचप्पल व्यवसाय गरिरहेका छन् । सानो लगानीबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उनीहरु उदाहरणीय बनेका छन् ।

लगानी छैन भनेर धेरै महिलाहरु आफ्नो सीपलाई लुकाएर श्रीमान्को कमाइमा भर पर्नु परेको भन्दै उनीहरुले भने, ‘महिला श्रीमान्को कमाइमा मात्र भर पर्ने होइन । आफूमा भएको सीप प्रयोग गर्ने हो भने महिला पनि राम्रै आम्दानी गर्न सक्छन् भनेर देखाउन सकिन्छ ।’

सामान्य आफ्नो व्यक्तिगत खर्चसमेत श्रीमान्को भर नपर्नु पर्ने पिरीमाले बताइन् । ‘पहिलो सामान्य खर्च गर्न पनि श्रीमान्को हात कुर्नु पथ्र्याे,’ उनी भन्छिन्, ‘म आफैँ कमाउने भएपछि अहिले श्रीमान्को कमाइको भर पर्नु पर्दैन ।’ ‘हरेक महिलामा परिवारको जिम्मेवारी रहेको हुन्छ । चाहे घरायसी काम गरेर होस् या जागिर । अधिकांश महिला हाम्रो समाजमा अझै पनि घरधन्दा मै समर्पित छन् । अझै पनि घर छाडेर बाहिर काम गर्न अफ्ठ्यारो मान्छन् ।

केहीलाई घर परिवारबाट नै अनुमति दिँदैनन् । जस्ता समस्या हाम्रो समाजमा विधामान् नै छन् । हामीले समाजलाई नि परिवतित भई काम गरेर खाने सोच बनाएका हौं,’ उनीहरुले भने ।
राज्यले पनि यी यस्ता साना लगानीका व्यवसायलाई व्यवस्थित र सुरक्षित गराउन सके दैनिक लाखौं नेपाली विदेशिनु पर्ने बाध्यता हुने थिए । बर्सेनि सीप तथा रोजगारमूलक कार्यक्रममा करोडौं रकम खर्च भए पनि यस्ता सडकपेटीमा बसेर जीविकोपार्जन गर्ने वर्गसम्म उक्त रकम पुग्न सकेको छैन । उक्त रकम यहाँसम्म पुगे उनीहरुलाई अझ व्यवसायलाई राहत पुग्ने थियो । राज्यले साना व्यवसाय गर्न सक्ने वातावरण सिर्जना गर्न आवश्यक छ, जो दिपा, पिरीमा र मीनाजस्तै अन्य बेरोजगार महिला पनि यस्तै साना व्यवसायबाट धेरै आम्दानी गर्न सकून ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १९ गते शुक्रबार