प्याडको रकमबाट शिक्षकलाई तलब



शुभाकर विश्वकर्मा
कोहलपुर नगरपालिकाको नगर क्षेत्रका विद्यालय, क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने नीति तथा कार्यक्रम छ । यस आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि नगरले ५६ लाख रुपैयाँसमेत विनियोजन गरेको छ । तर, बिडम्वना आर्थिक वर्ष सकिन ४५ दिन मात्र बाँकी रहुँदा छात्राहरुले सेनेटरी प्याड पाउन सकेनन् । यस आर्थिक वर्षमा उनीहरुले पाउने भनिएको निःशुल्क सेनेटरी प्याड नपाउने निश्चित भएको छ । नगरपालिकाले उक्त रकम रकमान्तर गरी शिक्षकलाई तलब सुविधा दिने प्रक्रिया थालनी गरेपछि छात्रालाई निःशुल्क सेनेटरी प्याड पाउन मुस्किल हुने भएको हो ।


उक्त शीषर्कको बजेट शिक्षकलाई तलब सुविधा दिन प्रयोग हुँदा छात्राहरुले सेनेटरी प्याड निःशुल्क पाउनबाट वञ्चित हुने देखिन्छ । नगर कार्यपालिकाको बैठकले सेटेनरी प्याडको बजेट शिक्षकहरुको तलब सुविधामा खर्च गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा स्वीकृतिका लागि सिफारिस गरी पठाउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठक निर्णय नम्बर ९ (घ) मा उल्लेख गरिएको छ, ‘यस नगरपालिकाअन्र्तगत शिक्षण सिकाइ सहयोग अनुदानतर्फ कार्यरत शिक्षकहरु (अंग्रेजी, गणित र विज्ञान) का लागि आर्थिक वर्ष २०७९÷०८० मा विनियोजित रकम नपुग भएकाले विद्यालयमा सेनेटरी प्याड व्यवस्थापनका लागि निर्णय नम्बर १० को (क) बमोजिम रकम विद्यालयमा निकासा गरी सो शीर्षकमा वचत हुन आउने रकम संघीय अनुदानतर्फ कार्यरत शिक्षकहरुको तलब सुविधामा खर्च गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा स्वीकृतिका लागि सिफारिस गरी पठाउने ।’

सिफारिस सदर भयो भने नगरपालिकाले सेनेटरी प्याड खरिद नगरी उक्त रकमबाट शिक्षकलाई तलब सुविधा दिनेछ ।
कोहलपुर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा नगर क्षेत्रका विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क सेनेटरी प्याड वितरण तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यस्तै संस्थागत विद्यालयमा अध्ययनरत बालिका तथा सामुदायिक क्याम्पसमा अध्ययनरत छात्राका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिने भनिएको छ ।

नीति तथा कार्यक्रममा निःशुल्क सेनेटरी प्याड वितरण गरिने भनेर बजेट विनियोजन गरिए पनि अहिलेसम्म कोहलपुर नगरपालिकामा कुनै पनि छात्राले सेनेटरी प्याड प्राप्त गरेका छैनन् । उक्त बैठकले सेनेटरी प्याड खरिदका लागि जिम्मा लिएको कम्पनीको धितो जफत गर्ने निर्णयसमेत गरेको । गुणस्तरीय प्याड खरिद नहुँदा उक्त रकम जफत गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको नीतिविपरीत नगर कार्यपालिका बैठकले छात्रालाई सेनेटरी प्याड खरिद गर्न विनियोजित बजेटबाट शिक्षकलाई तलब खुवाउने निर्णय गरेपछि आलोचन हुन थालेको छ । कोहलपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले प्रकाशन गरेको कोहलपुर शैक्षिक झलक २०७८ अनुसार कोहलपुरमा सामुदायिक विद्यालयमा १५ हजार नौ सय ७६ विद्यार्थी छन् ।

तीमध्ये छात्राहरुको संख्या सात हजार चार सय ८० जना छ । कक्षा १–५ मा दुई हजार पाँच सय ३४ जना अध्ययनरत छन् । कक्षा ६–८ मा दुई हजार दुई सय २४ जना, कक्षा ९–१० मा एक हजार ६ सय ९६ र कक्षा ११–१२ मा एक हजार चार सय ६० जना छात्रा छन् । कक्षा ६ देखि १२ सम्म पाँच हजार चार सय १७ जना छात्रा अध्ययनरत छन् ।
कार्यपालिकाको निर्णय स्वीकृत भएमा कोहलपुर क्षेत्रका करिब पाँच हजार चार सय १७ जना छात्रा सेनेटरी प्याड प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनेछन् ।

यतिमात्रै होइन नीति नै उल्लेख गरिएका संस्थागत विद्यालयका छात्रा र क्याम्पसमा अध्ययनरत छात्राहरुले समेत सेनेटरी प्याड नपाउने निश्चित भएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा बहुसंख्यक छात्रा छन् ।

कात्तिकदेखि शिक्षक तलबविहीन
कोहलपुर नगरपालिकामा शिक्षण सिकाइ सहयोग अनुदानतर्फ १८ जना शिक्षक कार्यरत छन् । उनीहरु अंग्रेजी, विज्ञान र गणित विषय पढाउँछन् । संघीय सरकारले उनीहरुलाई करारमा नियुक्ति गरेको हो ।
हरेक वर्ष उनीहरुको करार नियुक्ति नवीकरण हुन्छ । उनीहरुले संघीय सरकारले नै पारिश्रमिक दिने गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख रामबहादुर हमालले शिक्षण सिकाइ सहयोग अनुदानतर्फका १८ जना शिक्षकले कात्तिक महिनादेखि तलब नपाएको बताए ।

उनका अनुसार कात्तिक महिनासम्म संघीय सरकारले उनीहरुलाई तलब उपलब्ध गराएको थियो । त्यसपछि तलब नदिएको उनले बताए । ती शिक्षकहरुको लागि कोहलपुर नगरपालिकालेसमेत कुनै पनि बजेट विनियोजन नगरेको उनको भनाइ छ । सेनेटरी प्याडका लागि विनियोजित बजेटबाट शिक्षकहरुलाई नगरपालिकाले तलब खुवाउने निर्णयको भने उनले बचाउ गरे ।

‘स्वीकृति मागेका छौँ, तलब दिएको होइन’
संगीता सुवेदी
उपप्रपुख, कोहलपुर नगरपालिका
चालु आर्थिक वर्षमा ५४ लाख रुपैयाँ सेनेटरी प्याडका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्षको मध्यतिर आएर २७ लाख ६५ हजारमा प्याड खरिद गर्ने सम्झौता भएको थियो । हामी जेठमा आयौँ । रकम विनियोजन भयो । शिक्षा शाखामा प्रक्रिया थाल्न ढिलो भयो । दशैंपछि मैले नै छिटो बाड्नु प¥यो भनेर प्रक्रिया थाल्न लगाएँ । सम्झौता पनि भयो । ल्याएको सेनेटरी प्याड गुणस्तरहीन देखियो ।

सम्झौता नै रद्द गर्नुपर्ने अवस्था आयो । अहिले जेठ र असार महिनाबाट तलब सुविधाका लागि स्वीकृति मागेका छौं । नगरपालिकामा संघीय अनुदानमा शिक्षकहरु हुनुहुन्छ । जम्मा पाँचजनालाई मात्रै तलब दिएको छ । बाँकीले पाउनु भएको छैन । सेनेटरी प्याड बाड्न पनि सकिएन । रकम पनि फ्रिज हुने भए पनि व्यवस्थापनका लागि स्वीकृति मागेका छौँ । वितरण नै गरिसकेको छैन । अब आर्थिक वर्ष सकिन लाग्यो, नयाँ आर्थिक वर्षको भदौमै छात्राहरुले सेनेटरी प्याड पाउँछन् ।

फ्रिज हुन लागेको बजेट सदुपयोग गर्न खोजिइएको हो
रामबहादुर हमाल
शाखा प्रमुख, शिक्षा युवा तथा खेलकुद शाखा
कोहलपुर नगरपालिकाले निःशुल्क सेनेटरी प्याड रकम विनियोजन गरेको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राका लागि जेठ र असारको प्रति इकाई ८ (आठ) का दरले आउने रकम १४ लाख २० हजार ३२ रुपैयाँ सम्बन्धित विद्यालयमा निकासा गरिने उल्लेख गरेको छ । अब सेनेटरी प्याड वितरण गर्न सम्भव छैन ।

त्यसका लागि विनियोजन गरिएको ४२ लाख रुपैयाँ फ्रिज जाने सम्भावना छ । एकातिर शिक्षकले तलब पाएका छैनन् । अर्कातिर लाखौं रकम फ्रिज जाने अवस्था आएको छ । कार्यपालिकाले स्वीकृति माग्ने निर्णय गरेको छ । शाखामा निर्णयको व्यहोरा आइपुगेको छैन । आयो भने केन्द्रमा स्वीकृतिका लागि पठाउँछौं । फ्रिज हुन लागेको बजेट सदुपयोग गर्न खोजिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १६ गते मंगलबार