
गणेश विशु पुरन परियार पुरनैना (बाँके), ६ जेठ
फुलेको कपाल । सेतै दाह्री । मलिन अनुहार । स्पष्ट बोल्न नसक्ने अवस्थासम्म पुगेका ५० वर्षीय जयराम विष्टलाई पछ्याउँदै हामी उनको निवास खजुरा गाउँपालिका वडा नम्बर ६ पुरैनासम्म पुग्यौं । जहाँ उनको माटोको गाह्रोले र जस्तापाताले निर्माण गरेको एक तले घर छ । आफ्नै जग्गा नहुँदा उनले एक कठ्टा ऐलानी जग्गामा घर बनाएका छन् । हामी पुग्दा उनकी श्रीमती ५९ वर्षीया धनि र १३ वर्षीया छोरी पुष्पासँग घरमै थिए ।

जयरामको नाम लिँदै बोलाउँदा उनी रातो प्लास्टिक कुर्सीको सहारामा बाहिर निस्किए । सेतो टिसर्ट र कालो रङको जाँगे (हाफ पाइन्ट) लगाएका उनीसँगै धनि र पुष्पा पनि बाहिरै आए । उनीहरुको मुहार र पारिवारिक अवस्था हेर्दा नै धेरै आँकलन गर्न सकिन्थ्यो की, ‘यो परिवारमा जबरजस्त गरिबी घुसेको छ ।’ जसलाई निकाल्न जयराम लामो समयदेखि भारतका कयौं ठाउँमा पसिना बगाएका छन् । हातभरि फोका, भेटभरि खाना नखाइ उनले स्वदेशमै पनि परिश्रम गरे । तर, उनले जति गर्दा पनि गरिबीबाट उनले छुटकारा पाएनन् । गरिबीबाट उम्किएर सुखमय जीवन बिताउन कडा मिहिनेत गरेका जयराम अहिले त आफैँ थलिएका छन् । तर, हार भने खाएका छैनन् ।
कयौं प्रश्न लिएर हामी जयरामको घरसम्म पुगेका थियौं । तर उनले प्रश्नका उत्तर दिनलाई बोल्नै समस्या भएपछि हामीले उनीसँग धेरै कुरा गर्न सकेनौं । उनको इसराबाटै हामीले केही जीवनी पनि पत्ता लगायौं । गाउँ घरमा रोजगारी नपाएपछि उनले २० वर्ष भारतमा मजदुरी काम गरे । घर आउनेजाने भइरहन्थ्यो । अन्तिमपटक उनी २०७८ पुस १२ गते पुनः रोजगारीका लागि भारत फर्किए । रोजगारीमा गएको १ वर्षपछि उनी एक्कासी बिरामी भए । ‘ज्वरो आएको थियो,’ उनले भने, ‘स्थानीय मेडिकलमा गएर सुइँ लगाए ।’ त्यसपछि शरीरका अंगले बिस्तारै काम गर्न छाडेको उनी बताउँछन् । शरीरिक समस्या हुन थालेपछि उनी एक वर्षपछि (२०७९ वैशाख १५ गते) घर फर्किए । ‘घर फर्किएपछि त पूणर्रुपमा अशक्त भएँ,’ उनी भन्छन्, ‘हाल हिँड्डुल गर्न समस्या छ ।’
आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न नसकिएको उनकी श्रीमती धनिले बताइन् । ‘श्रीमान् बिरामी भएर थला पर्नुभएको छ,’ धनि भन्छिन्, ‘उपचार गर्ने पैसा छैन । पैसा नहुँदा उपचार नगरि घरमा राखेको छुँ ।’ उनीहरुको आम्दानीको स्रोत पनि छैन । जयरामनै घरका सहारा हुन । तर उनी थला परेपछि परिवार धान्नै समस्या भएको जयराम बताउँछन् । ‘कहिलेकसो छिमेकीले सहयोग गर्नुहुन्छ,’ उनी भन्छन्, ‘छिमेकीले सहयोग नगर्ने भए त झनै गाह्रो हुन्थ्यो ।

मौलिक हकअन्तर्गत स्वास्थ्य हकमा चारवटा बुँदा उल्लेख गरिएको छ । पहिलोः प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । दोस्रोः प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । तेस्रोः प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । र चौथोः प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ । मौलिक हकको पहिलो बुँदाअनुसार उनले स्वास्थ्य सेवा लिन पाएका छैनन् भने दोस्रो बुँदाले भनेझै आफ्नो स्वास्थ्य उपचारका सम्बन्धमा उनले जानकारी पाउन सकेका छैनन् । कुन रोगका कारण शारीरिक अपांगता हुन पुगे भन्ने कुरासमेत उनलाई जानकारी छैन ।
‘पैसा नहुँदा स्वास्थ्य परीक्षण नै गर्न पाएको छैन,’ जयराम भन्छन्, ‘कुन रोगले गर्दा यस्तो समस्या भयो । जानकारी छैन ।’ आम्दानीको स्रोत नहुँदा अहिले यो परिवारलाई दैनिकी धान्न निकै कठिन भएको छ । उब्जनी हुने बारी र आम्दानी हुने अन्य पेसा व्यवसाय नहुँदा साँझ बिहानको छाक टार्नसँगै उपचार गर्न नसकिएको धनि बताउँछिन् ।









प्रतिक्रिया दिनुहोस्