विकासमा नागरिकसँगको साझेदारी आवश्यक



निर्वाचनको बेला गरिएका प्रतिबद्धताअनुसार काम भइरहेको छ की छैन ?

हामीले निर्वाचनमा होमिँदै गर्दा विभिन्न प्रतिबद्धता व्यक्त गरेका थियौं । स्थानीय सरकारको संस्थागत सुधार, नेतृत्वको अनुशासन र सुशासनलाई केन्द्रमा राखिएको थियो । अहिले पनि नेतृत्वप्रति विश्वास र भरोसा कम छ ।

त्यो विश्वास र भरोसालाई कायम गर्नुपर्ने अवस्था छ । हामी चुनावी प्रतिबद्धताअनुसार नै काम गरिरहेका छौं । हाम्रा कामले नगरवासीमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्राथमिकता के–के हुन् ?

यो ११ महिना मेरा लागि सिकाइको अवसर बन्यो । यो अवधिमा मैले धेरै कुरा सिक्ने र बुझ्ने अवसर प्राप्त गरे । मेरो अनुभवले नागरिकले संघीय र प्रदेश सरकारसँग दुरी बढाउँदै गएको र स्थानीय सरकारप्रति बढी नै विश्वास रहेको कुरा पाएको छ । आम नागरिकलाई के लाग्छ भने हाम्रा सबै आवश्यकता पूरा गर्ने सरकार भनेको स्थानीय सरकार हो भन्ने विश्वास छ । अर्को कुरा संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई के कति अधिकार प्रदान गरेको छ त्यो पर्याप्त छैन । जसरी स्थानीय सरकार बलियो हुनुपर्ने हो । तर व्यवस्थाअनुसार हुन सकेको छैन ।

स्थानीय सरकारसँग स्रोत र साधन कम छ । त्यही स्रोत र साधनबाट हामीले नागरिकका तमाम समस्या समाधान गरिदिनुपर्ने बाध्यता छन् । अपेक्षाकृतरुपमा पूरा गर्न सकिरहेको छैन । हामी जबसम्म स्रोत र साधनले सम्पन्न हुन सक्दैनांै । तबसम्म हामी यसमा सफल हुन सक्ने अवस्था छैन । तर हामी इमान्दार प्रयास गरिरहेका छौं । कोहलपुरका नागरिकहरुको समस्या समाधानका लागि हाम्रा प्रमुख प्राथमिकता भनेका शिक्षा, स्वास्थ्य र रोजगारी नै हुन् ।

कोहलपुरलाई सुन्दर र समृद्ध नगर बनाउन के कस्ता योजना तर्जुमा गर्नुभएको छ ?

कोहलपुर नगरपालिकाले उज्यालो र हरियाली सहरको नीति लिएको छ । त्यसमा प्रारम्भिक काम सुरु भएको छ । विकासमा नागरिकसँगको साझेदारी आवश्यक हुँदो रहेछ । यो कुरामा नागरिकको सहभागिताको आवश्यकता छ । यो क्षेत्र बाँके जिल्लाको केन्द्रको रुपमा स्थापित भइरहेको छ । यसलाई समृद्ध बनाउन सबैको भूमिका आवश्यक छ । यसलाई आर्थिक क्षेत्र बनाउन सकिने सम्भावना छन् ।

यसलाई समृद्ध बनाउनुको विकल्प छैन । त्यसको लागि ठूला योजना आउन सकिरहेका छैनन् । यसको लागि हामीले प्रयास गरिरहेका छौं । आगामी पाँच वर्षमा यस नगरलाई सुन्दर र समृद्ध नगर बनाउँछौं । बाँकेमा रहेका २२ जना प्रदेश र संघीय माननीयहरुलाई पनि हाम्रो योजनाको विषयमा जोड दिनको लागि आग्रह गरेका छौं । उहाँहरुले पनि प्रतिबद्धता जनाउनु भएको छ ।

वडाबाट कस्तो कार्य सम्पादन भइरहेको छ । नगरबाट अनुगमन हुने गरेको छ की छैन ?

संघीयता कार्यान्वयन गर्ने प्रमुख निकाय नै वडा हुन् । नगर तथा गाउँपालिकाभन्दा वडा कार्यालय जनताका नजिकका सरकार हुन् । त्यसैले वडालाई प्रभावकारी बनाउन आवश्यक छ । कोहलपुरमा रहेका १५ वटा वडाबाट प्रभावकारीरुपमा सेवा प्रवाह भइरहेको छ । कोहलपुरका वडाका जनप्रतिनिधि जनताप्रति एकदमै प्रतिबद्ध हुनुहुन्छ । जहाँसम्म वडाहरुमा अनुगमनमा पुग्ने कुरा छ, म चुनावको बेला पनि सम्पूर्ण वडामा पुगेको थिएँ ।

निर्वाचित भइसकेपछि पनि सबै वडाहरुमा पुगेँ । हरेक दिन जस्तो विभिन्न कार्यक्रम तथा अनुगमनको शिलशिलामा पुगिरहेको छुँ । औपचारिक र अनौपचारिकरुपमा वडाहरुमा पुग्ने, छलफल गर्ने र अन्तरक्रिया तथा समस्या सुन्ने पनि गरिरहेको छुँ ।

नागरिकका समस्या समाधानका लागि ‘हेल्प डेस्क’को स्थापना गर्नु भएको छ ?

कोहलपुर नगरपालिकाका कुनै पनि वडामा ‘हेल्प डेस्क’ हामीसँग छैन । हामीसँग भएका कर्मचारी साथीहरुबाटै हामीले त्योखालको सेवा प्रवाह गरिरहेका छौं ।

तर अहिले कतिपय वडाहरुमा त्यसको आवश्यकता खड्किएको महसुस हामीले गरेका छौं । हामी आवश्कताको आधारमा त्यो सेवा दिने पक्षमा छौं ।

यस्तै कोहलपुरमा दुर्घटना न्यूनीकरणका लागि जोखिमस्थल पहिचान गर्नु भएको छ ?

कोहलपुरमा दुर्घटनाका धेरै कारण छन् । तीमध्ये तीनवटा महŒवपूर्ण कारण मैले देखेको छुँ । अर्को कुरा कोहलपुरअन्तर्गत दुईवटा ठूला राजमार्ग छन्, महेन्द्र र रत्न राजमार्ग । यहाँको पूर्वाधार र बाटोको कुराहरु गर्ने हो भने कोहलपुर–नेपालगन्ज सडकखण्डबाहेक अरु बाटोमा पूर्वाधार अभाव देखिएको छ ।

मापदण्ड पुगेका छैनन् । जनघनत्व बढी छ । बजार क्षेत्रलाई ‘फो लेन’ बनाउनुपर्छ । ट्राफिक व्यवस्थापन हुन सकेको छैन । मापसेका कारण दुर्घटना भएका छैनन् । पछिल्लो समय दुर्घटनाको संख्यामा कमी आएको छ । जनचेतना फैलाउने काम भएको छ । हामीले आकासे पुल निर्माण गर्ने कामहरु गरिरहेका छौं ।

यस विषयमा कार्यपालिकामा छलफल भएको छ । हामीले कार्यविधि नै तयार गरेका छौं । यो अन्य पालिकाहरुको पनि केन्द्र भएकाले यहाँ अटो रिक्साहरु धेरै चल्छन् । राप्तीसोनारी, बैजनाथ र जानकीसम्मबाट मानिसहरु आउँछन् । त्यसैले यहाँ अटो रिक्सा व्यवस्थापन जरुरी विषयसमेत छ । बाँकेका सबै पालिकाबाट आउँछन् । कार्यविधिबाट नियमनको नीति लिइएको छ । कार्यविधिले कार्यान्वयनको अन्तिम चरणमा छ । यसमा स्थानीयलाई प्राथमिकता दिने गरेका छौं । विद्युतीय सवारीलाई पनि प्राथमिकता दिएर काम भइरहेको छ ।

पूर्णप्रसाद आचार्य
नगर प्रमुख
कोहलपुर नगरपालिका

भौतिक पूर्वाधार निर्माण गर्दासमेत गुणस्तरीय नबन्ने समस्या रहेको छ, यसलाई कसरी हेर्नु भएको छ ?

त्यो समस्या कोहलपुरमा छ । हामीले खरिद ऐनअनुसार काम गर्न खोजिरहेका छौं । गुणस्तरीय कामका विषयमा कसैसँग सम्झौता हुँदैन । हामी यसमा ‘क्लियर’ छौं । यो विषयमा गम्भीर हो । त्यसैले हामीले समयमै काम नगर्नेलाई छोडेका पनि छैनौं ।

अर्कातिर कानुनी कुरासमेत छन् । नेपालको कानुनअनुसार नै अघि बढ्नुपर्ने हुन्छ । त्यसैले कानुनको परिधिमा रहेर काम गर्नुपर्ने बाध्यता छ । कोहलपुरमा खरिद ऐनअनुसार ठेक्का आह्वान गर्ने काम भइरहेको छ । सोहीअनुसार काम भइरहेको छ । अनुगमनमा कुनै पनि कसर बाँकी राख्न दिएका छैनौं । कतिपय योजनाहरुमा नगरको सहभागिता नहुने भएकाले समस्या उत्पन्न भएको छ ।

कोहलपुरमा मालपोत र नापी कार्यालयको सेवा सञ्चालनमा किन ढिलाइ भइरहेको छ ?

अत्यन्त महŒवपूर्ण प्र्रश्न गर्नुभयो, मालपोत र नापी संघीय सरकारअन्तर्गतका हुन् । कोहलपुरमा स्थापना हुने हुँदा स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक छ । यसको विकल्प पनि छैन । धेरै पहिलादेखि पहल हुँदै आएको छ । राजनीतिकरुपमा यसअघि बढाउनु हुँदैन । यसमा असहमति पनि रहेको छैन । अवरोध पनि छैन । नेपाल सरकारको निर्णयअनुसार कार्यालय उद्घाटन भएको थियो ।

भवन हामीले सहयोग गरेका छौं । मैले त्यतिबेलै भनेको थिएँ, ‘उद्घाटन ठूलो कुरा होइन । सञ्चालन ठूलो कुरा हो ।’ सोहीअनुसार अघि बढ्नुपर्छ । यसमा हामी सचेत हुनुपर्छ । मैले भनेअनुसार नै भएको छ । कार्यालय स्थापनामा विभिन्न व्यावधान भएको छ । नगरपालिकाको तर्फबाट गर्नुपर्ने पहल हामीले गरिरहेका छौं । मालपोत र नापी कार्यालय कर्मचारी व्यवस्थापन भइसकेको छ । कुन ठाउँमा राख्दा उपयुक्त हुन्छ भन्ने थियो, सरोकारवाला निकायबीच बैठक बसेको थियो । बैठकले कोहलपुर ११ मै राख्ने निर्णय भइसकेको छ । छिटोभन्दा छिटो कार्यालय सञ्चालन हुन्छन् । कोहलपुरको न्यायोचित विकासमा आमी अग्रसर भएका छौं ।

अर्कातिर तपाईं आइसकेपछि कोहलपुरलाई शैक्षिक हब बनाउने नारा खुब सुनिन्छ ? यसको विषयमा बताइदिनुहोस् न ?

शैक्षिक हब बनाउने हाम्रो अभियान छ । यो अभियान सञ्चालन भइरहेको छ । शैक्षिक हब बनाउनुका खास कारण छन् । स्थानीय सरकारबाट गर्नुपर्ने काम गरिरहेका छौं । यसका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिएका छौं । १५ वटा सामुदायिक विद्यालयमा भवन बनिरहेका छन् । हाम्रो कार्यकालमा छानो विस्थापन गर्छौं । गर्मीमा पढ्नुपर्ने बाध्यता हट्नेछ । टिनको छाना मुक्त हुनेछ ।

विविध समस्या समाधानका लागि प्रयास भइरहेका छन् । विद्यार्थीलाई उपयुक्त वातावरण राम्रो बनाउन नगरपालिका लागि परेको छ । अभिभावक र विद्यार्थीको आस्था जोगाउन हामी लागि परेको हो । धेरै ठाउँबाट मानिसहरु आउने गरेका छन् । उहाँहरु पढ्नका लागि आउनु भएको छ । यसको लागि प्राविधिक धारका विषयहरु समेत अध्ययन भइरहेका छन् । यसले रोजगारी सिर्जना गर्ने वातावरण सिर्जना भएको छ । आधारभूत विद्यालय नमुना बनाउने कार्यक्रम छ । बजेटसमेत विनियोजन गरिएको छ ।

पछिल्लो समय फेरि कोभिड–१९ को नयाँ भेरियन्ट फैलिँदो अवस्था छ ? कोहलपुरले यसको पूर्वतयारी गरिरहेको छ ?
कोभिड–१९ को समस्या बेलाबेलामा आउने गरेको छ । योबाट विश्व नै पीडित भयो । लाखौंले ज्यान गुमाउनुभयो । धेरैजना मानिसहरु बेसाहारा हुनुपर्ने अवस्थाको सिर्जना भयो । नेपालसमेत त्यसबाट अछुतो रहेन । हामी पनि अछुतो रहन सकेनौं ।

कोभिड कहरका बेला स्थानीय सरकारले मानिसका घाउमा मल्हम लगाउने काम गरेका थिए । अहिले पनि हामीले पूर्वतयारी गरिरहेका छौं । स्वास्थ्यकर्मीहरु फिल्डमा खटिनु भएको छ । वडा तथा स्वास्थ्य ईकाइबाट काम भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २९ गते बुधबार