जनताका गुनासो सुन्न गाउँमा कोहलपुरका जनप्रतिनिधि



कोहलपुर, कोहलपुर नगरपालिका वडा नम्बर १३ का बासिन्दाले जनप्रतिनिधिसँग पक्की पुल माग गरेका छन् । मंगलबार वडा नम्बर १३ का विभिन्न बस्तीको अनुगमनमा गएका जनप्रतिनिधिसँग वडावासीले पक्की पुल नहुँदा साह्रै समस्या भएको भन्दै उनीहरुसँग पक्की पुल निर्माण गरिदिन माग गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदीसहित राजनीतिककर्मी सम्मिलित टोलीले वडा नम्बर १३ का सिम्रहवा, सिराह, जामुनाघारीका स्थानीयसँग यहाँका समस्याका विषयमा छलफल गरेको थियो ।

छलफलको क्रममा स्थानीयले विभिन्न योजना माग गरेका छन् । उक्त अवसरमा बोल्दै स्थानीय कमल खत्रीले वडा नम्बर १३ को मुख्य समस्या पुल अभाव र कटान रहेको बताए । विभिन्न बस्ती जोड्ने पुल नहुँदा वर्षौंदेखि समस्या भोग्दै आइरहेको खत्रीले बताए । स्थानीय खत्रीका अनुसार खोलाले बर्सेनि कटान गर्ने गरेका कारण निकै समस्या झेल्नुपरेको छ । अर्का स्थानीय कुलप्रसाद केसीले वडा सडक सञ्जालले समेत नजोडिँदा आवातजावतमा समस्या भएको बताए ।

वडा नम्बर १३ मा रहेको सिम्रहवा टोलमा भएको छलफलमा प्रमुख आवश्यकताको रुपमा पक्की पुल रहेको र पुल नहुँदा स्थानीयलाई आवातजावत गर्न, विद्यार्थीलाई विद्यालय जान र बिरामी पर्दा बिरामीलाई अस्पतालसम्म पु¥याउन निकै समस्या हुने दुखेसो सुनाए ।

वडा नम्बर १३ का वडाध्यक्ष डम्बरबहादुर खड्काका अनुसार भरैयादेखि सिम्रहवा र सिराह हुँदै सिम्रहवा जोड्न पक्की पुल निर्माण गर्ने विषयमा व्यापक छलफल भएको छ । वडाध्यक्ष खड्काले भरैयादेखि सिम्रहवासम्म जोड्ने पक्की पुल निर्माण गर्न अनुमानित २५ करोड लागत लाग्ने बताए । यस्तै सिराह हुँदै सिम्रहवा जोड्ने पुल निर्माणका लागि अनुमानित ६ करोड लागत आवश्यक रहेको वडाध्यक्ष खड्काको भनाइ छ । यस्तै वडा नम्बर १३ को प्रमुख समस्याको रुपमा रोहिणी खोलको कटानसमेत रहेको उनी बताउँछन् ।


‘महिला सुत्केरी हुँदा, स्थानीय बिरामी हुँदा वर्षायाम धेरै ठूलो समस्या छ । वर्षाको समयमा विद्यार्थीहरु विद्यालयसमेत जान पाउँदैनन् । यहाँको प्रमुख समस्या पक्की पुल र कटान हो । उहाँहरुले आश्वासन दिनु भएको छ । हेरांै, आगामी दिनमा के हुन्छ,’ वडाध्यक्ष खड्काले भने । गेरुवा खोला र रोहिणी खोलामा पुल नहुँदा वर्षायाममा समस्या हुने गरेको छ । वडा नम्बर १२ र १३ हुँदै बग्ने रोहिणी खोलाले यस क्षेत्रका २५ सय मिटरभन्दा बढी खेतीयोग्य जमिन कटान गरिसकेको छ ।

एक हजार मिटर नम्बरी र एक हजार पाँच समय मिटर प्रतिऐलानी खेतीयोग्य जमिन कटान गरिसकेको वडा नम्बर १३ को कार्यालयले जनाएको छ । उक्त वडामा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र पनि पर्ने भएकोले जंगली जनावरको समेत उत्तिकै त्रास छ । वडा नम्बर १३ का विभिन्न बस्तीमा बाघ र चितुवाको डर छ । जंगली जनावरहरुले खेतबारीमा लगाएका बालीनालीमा नोक्सानी पु¥याउने गरेका छन् । स्थानीयले निकुञ्ज क्षेत्रको समस्या समाधानका लागि पनि जनप्रतिनिधिहरुसँग माग गरेको खड्का बताउँछन् ।
उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालले वडा नम्बर १३ मा रहेका समस्यासँग आफू परिचित भएको बताए । यहाँ रहेका समस्या समाधानका लागि आफूले व्यक्तिगतरुपमा पनि पहल गर्दै आएको र अझै यहाँको सेवकका रुपमा काम गर्ने उनले बताए । स्थानीयको पक्की पुल निर्माण गर्नुपर्ने मागका सम्बन्धमा उनले आगामी पाँच वर्षभित्र उक्त क्षेत्रमा कुनै पनि हालतमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाए । पुल निर्माणका लागि स्थानीय सरकार र संघीय सरकारका जनप्रतिनिधि एकजुट भएर अघि बढ्ने प्रतिनिधिसभा सदस्य ढकालको भनाइ छ ।
यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले पुल निर्माणका लागि स्थानीय सरकारले गर्न सक्ने पहलमा कुनै कसर बाँकी नराख्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २२ गते बुधबार