…जसलाई वर्षाैं कुर्नुपर्छ स्वास्थ्य जाँचका लागि



शुभाकर विश्वकर्मा
कोहलपुर,
डुडुवा गाउँपालिका वडा नम्बर ५ की खिम्रा बोहोरा ६० वर्षकी भइन् । उनले अहिलेसम्म जम्मा दुईपटक स्वास्थ्य जाँच गरेकी छिन् । उनले पहिलोपटक पाँच वर्षअघि नेपाली सेनाले आयोजना गरेको निःशुल्क शिविरमा स्वास्थ्य जाँच गरेकी थिइन् । त्यतिबेला उनलाई खानपिनमा ध्यान दिन भनिएको थियो । दैनिक मजदुरी गर्नुपर्ने बाध्यताले उनलाई आफ्नो स्वास्थ्य परीक्षण गर्ने फुर्सदसमेत थिएन । त्यसपछि उनले दोस्रोपटक मंगलबार स्वास्थ्य परीक्षण गरिन् ।


वडा नम्बर ५ मा आयोजित निःशुल्क दन्त शिविरमा दाँत जाँच गरिन् । चिकित्सकका अनुसार उनका चारवटा दाँत तत्काल उखेलेर फाल्नुपर्छ । दाँतमा किरा लागेकाले तत्काल फाल्नुपर्ने अवस्था रहेको उनलाई सुझाव दिइएको छ । उनले भनिन्, ‘खाना खाँदा पनि दाँत दुखेर हैरान छ । खाना खाइसकेपछि पेट दुख्छ । अहिले त आँखासमेत प्रष्ट देख्दिनँ । उपचार गर्ने पैसा छैन ।’ नानापुर गाउँकी सीता परियारको दाँतमा किराले खाएर इन्फेक्सन भएको छ । उनको गिँजामा संक्रमण भइसकेको छ । धेरै वर्षदेखि दाँत दुखिरहेको भए पनि उनलाई इन्फेक्सन भएको विषयमा थाहा थिएन । उनले परिवारका सदस्यलाई भनेकी पनि थिइनन् ।

‘गाउँमा निःशुल्क शिविर हुने थाहा भएपछि आएकी हुँ । यतिधेरै समस्या होला भन्ने थाहै थिएन,’ उनी भन्छिन् । उनको इन्फेक्सन कै कारण गालाको माथिल्लो भागसम्म दुख्ने गरेको छ । उनलाई छिटोभन्दा छिटो दाँतको उपचार गराउनुपर्नेछ । माथि उल्लेखित पात्रहरुले अहिलेसम्म स्वास्थ्य समस्या भएकै कारण स्वास्थ्य संस्था गएका थिएनन् ।

शिविरका सहभागी भएका पुरुषहरुमा विभिन्न धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने भएका कारण हुने स्वास्थ्य समस्या देखिएको थियो भने महिलाहरुमा सरसफाइको अभावका कारण मुखमा देखिने समस्या देखिएको चिकित्सक रश्मी धामीले बताइन् । उनका अनुसार मुखको विशेष ख्याल गर्नुपर्छ । दाँतको पनि हेरचाह आवश्यक रहेको उनले बताइन् ।

उनीहरुले वडा कार्यालयको समन्वयमा भएको दन्त शिविरमा उल्लेख्य मात्रामा सहभागिता जनाए । उक्त शिविरमा ८२ जनाको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा आएका अधिकांश वृद्धवृद्धा थिए । नेपाल सरकार स्वास्थ्य तथा मन्त्रालयको सहयोगमा डुडुवाको दुर्गम बस्तीमा शिविर सञ्चालन गरिएको थियो । ‘हाम्रो आवाज धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट मुक्त समाज’ भन्ने मूल नालाका साथ उक्त शिविर बाँकेका पाँच पालिकाका दुर्गम बस्तीहरुमा गरिनेछ । धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा यसको उपभोगबाट उत्पन्न हुने रोगको रोकथाम निदान र उपचार कार्यक्रमअन्तर्गत निःशुल्क दन्त शिविर आयोजना गर्न लागिएको हो ।

डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष झंकबहादुर थापाले आफ्नो वडामा शिविर सञ्चालन भएर स्वास्थ्य जाँच हुनु सकारात्मक कुरा रहेको बताए । उनले र शिविर आयोजना सञ्चालन गर्ने संस्था र सहयोगी नेपाल सरकारलाई उनले धन्यवाद व्यक्त गरेका छन् । शिविर आयोजक समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाका अनुसार जिल्लाका पाँचवटा पालिकामा शिविर सञ्चालन हुनेछ । १५ गते खजुरा वडा नम्बर ४, १६ गते बैजनाथ वडा नम्बर १, १७ गते कोहलपुर वडा नम्बर १४ र १८ गते जानकी गाउँपालिका वडा नम्बर ६ मा दन्त शिविर हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १५ गते बुधबार