सूर्य ढकालसँग अन्तवार्ता : ‘बाँकेको विकासका लागि युवा संघको महाधिवेशन सहयोगी हुनेछ’



नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन नेपालगन्जमा हुँदैछ । महाधिवेशन आगामी (चैत्र २७–२९) नेपालगन्जमा हुन लागेको हो । महाधिवेशनको अहिले तीव्र रुपमा पुर्वतयारी भइरहेको छ । महाधिवेशन सफल बनाउन अहिले नेकपा एमालेका केन्द्रिय नेताहरुको आउजाउ पनि बाक्लिएको छ । बाँकेस्थित जिल्ला, प्रदेश र केन्द्रिय सदस्यहरुसमेत महाधिवेशनको तयारीमा जुटेका छन् । यसै सन्दर्भमा हामीले महाधिवेशनसँग केन्द्रित गरेर नेकपा एमाले बाँके इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य सुर्यप्रसाद ढकालसँग महाधिवेशनसँग केन्द्रित भएर कुराकानी गरेका छौँ । प्रस्तुत छ, मिसन टुडे दैनिकका लागि मिसनकर्मी शुभाकर विश्वकर्माले प्रतिनिधि सभा सदस्य ढकालसँग गरेको कुराकानीको सम्पादित अंश ः

नवौ राष्ट्रिय महाधिवेशनको पुर्वतयारीका विषयमा जानकारी गराइदिनुहोस् न ?
युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुँदैछ । अहिले महाधिवेशनको पुर्वतयारी दुर्तगतिमा भइरहेको छ । सर्वप्रथम,त युवा संघ नेपालमा नेपालगन्जमा महाधिवेशन गर्ने गरेकोप्रति बाँके जिल्लाको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु ।

यसको २७ गते बृहत खुल्ला आम सभा हुने छ । उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस हुनेछ । तीनदिनसम्म विभिन्न गतिविधि सञ्चालन हुनेछन् । महाधिवेशनमा ७७ वटै जिल्लाबाट प्रतिनिधिहरुले आउने भएकोले नेपालगन्ज सिंगो देशका जनताहरुको नजरमा पर्नेछ । महाधिवेशनको पुर्वतयारी भइरहेको छ ।

महाधिवेशन पुर्वतयारी अन्तर्गत अहिलेसम्म के–के काम सम्पन्न भए ?

हामी अहिलेपनि पुर्वतयारी मै छौँ । तपाईंले भने जस्तै अहिलेसम्म हामीले विभिन्न काम सम्पन्न गरेका छौँ । २७ गतेको बृहत उद्घाटन समारोह आयोजना तथा सम्पन्न गर्नको लागि विभिन्न समिति गठन तथा निदेर्शन गर्ने काम भएको छ । बाँके जिल्लाका ८१ वटै वडाबाट जनताको सहभागिताका लागि सम्बन्धित कमिटीलाई जिम्मा दिइएको छ ।

जनपरिचालनका लागि यही चैत ५ गते पार्टी महासचिव शंकर पोखरेल लगायतको नेताहरुको सहभागितामा विशेष जिल्ला बैठक सम्पन्न गरिसकेका छौँ । त्यो बैठकले विभिन्न साथीहरुलाई जिम्मेवारी दिएको छ । सोही अनुसार कमरेडहरुमा फिल्डमा समेत खटिसक्नु भएको अवस्था छ । बैठकले बृहत जनपरिचालनको जिम्मामा म आफै छु ।

जनपरिचालनमा बाँकेमा रहेका पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कमिटी सदस्य,पालिका तथा वडा कमिटीका नेतृत्व तथा जनवर्गीय संगठनका लागि सम्पूर्ण साथीहरु हुनुहुन्छ । आर्थिक व्यवस्थापनको नेतृत्व खिलप्रसाद भुसालले गर्नु भएको छ । यातायात व्यवस्थापन समितिको नेतृत्व निरक गुरुङले गर्नुभएको छ । आरती पौडेल संयोजक रहेको झांकी व्यवस्थापन उपसमिति बनेको छ ।

महाधिवेशनको सम्पूर्ण स्वयमसेवकीय भूमिका निर्वाह गर्नको लागि बसन्ती अधिकारीले नेतृत्व गर्नुहुनेछ । विभिन्न समिति बनाएर कामलाई तिव्रता दिइरहेका छौँ ।
आइतबार मात्रै नेपालगन्जमा महाधिवेशनको विषयमा युवा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । यसको विषयमा थप जानकारी उहाँहरुले गराउनु भएको छ ।

 

                          सुर्यप्रसाद ढकाल –प्रतिनिधि सभा सदस्य
                                       तथा
                                      संयोजक
                         नवौँ राष्ट्रिय महाधिवेशन जनपरिचालन समिति 

 

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा के कस्ता गतिविधि हुन्छन् ?

पहिलो दिन महाधिवेशनको बृहत जनसभासहित उद्घाटन हुनेछ । जसको प्रमुख आतिथ्यताका पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । अन्य थुप्रै केन्द्रिय नेताहरुको सहभागिता रहनेछ । उद्घाटनमा ८१ वटै वडाबाट व्यापक जनसहभागिता हुनेछ । सोही अन्तर्गत चैत २० गते जिल्लाका सम्पूर्ण वडाका केन्द्रहरुमा कम्तिमा १ सय वटा झण्डा गाड्ने कार्यक्रम रहेको छ ।

त्यसको विहान टोल सरसफाईको कार्यक्रम रहेको छ । २५ गते भेरी अस्पतालमा लेवर रुममा फलफूल वितरण कार्यक्रम रहेको छ । नवौँ महाधिवेशन ः युवा आन्दोलनको कार्यदिशा विषयमा खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गरिएको छ । यो विषयमा जस्लेपनि लेख्न पाउँनेछन् । खासबन्दी गरेर चैत २२ गतेभित्र सम्बन्धित ठेगाना पु¥याइसक्नुपर्नेछ । उत्कृष्टलाई महाधिवेशनमा पुरस्कृत गरिनेछ ।

यस्तै महाधिवेशनलाई केन्द्रमा राखेर बनाइने टिकटक, सामाजिक सञ्जाल प्रयोग गरेकाहरु मध्येबाट पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । यस्तै पार्टीबम एउटा संगठित समस्याले दश जनालाई खबर गर्ने कार्यक्रमसमेत रहेको छ ।

नेपालगन्ज महाधिवेशनले यहाँको होटल व्यवसाय, पर्यटन प्रवद्र्धन र युवाहरुलाई राजनीतिमा अभिप्रेरित गर्न तथा बाँके जिल्लालाई चिनाउन कस्तो भूमिका खेल्ने अपेक्षा गर्नु भएको छ ?

यो महाधिवेशन धेरै कुराले महत्वपूर्ण छ । अहिले मिसन ग्रासरुट चलिरहेको छ । त्यसमा हामीले जनताका सुझावसमेत संकलन गरिरहेका छौँ । महाधिवेशनमा पनि बृहत युवा परिचालन र हालको अवस्था भावी कार्यदिशाका विषयमा व्यापक छलफल र बहस हुनेछ । राजनीतिक परिवर्तनको आन्दोलनको अगुवाई हिजो हामी गरेका थिए ।
जनताको प्रिय पार्टी नेकपा एमालेले गरेको हो । राजनीतिक परिवर्तन त भयो । यो सँगै आर्थिक सामाजिक परिवर्तन नहुँदा जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् । जनताको अवस्थामा परिवर्तनपनि हामी नै ल्याउने छौँ भन्ने सन्देश दिनको लागि यो महाधिवेशनले भूमिका खेल्नेछ । बाँके पर्यकटीय सम्भावना भएको जिल्लाको रुपमा रहेको छ । यसलाई चिनाउनको लागि हामीले महाधिवेशनमा कार्यपत्र प्रस्तुत गर्दैछौँ । नयाँ योजना घोषणा हुनेछ ।

त्यो के हो भने,सन्तानेश्वर,पोखरा माता, बागेश्वरी, स्वर्गद्धारीलाई जोडेर धार्मिक पर्यटन मार्गको घोषणा गर्ने गर्नेछौ । यस्तै गाँभर भ्यालीलाई कम्तीमा पनि एक दिनमा एक हजार मानिस आउने गरी पूर्वाधार तयारी गर्ने गरी योजना घोषणा हुँदैछ ।

नेपालगन्जको विकास गर्नु भनेको पश्चिमका २४ जिल्लालाई प्रत्यक्ष प्रभाव पार्ने विकास हो । त्यसैले बृहत नेपालगन्ज विकासका लागि योजना सार्वजनिक गरिनेछ । बैजनाथमा रहेको औद्योगिक क्षेत्र, खजुराको क्याम्सर अस्पताल,लुम्बिनी प्रादेशिक विश्वविद्यालय, भेरी अस्पताल र नेपालगन्ज विमानस्थलको स्तरोन्नती, मटैयादेखि नेपालगन्ज जोड्ने पुल,राप्ती नदी, डुडुवा र मानखोलमा तटबन्ध,घुइयाँबारी सडक, क्रिकेट मैदान र कोहलपुरलाई शैक्षिक हकका रुपमा विकास गर्ने मुद्दाहरु हामीले महाधिवेशनमा प्रस्तुत गर्नेछौँ । सिंगो देशको ध्यानमा यी मुद्दामा केन्द्रित गर्ने हाम्रो योजना रहेको छ ।

नेपालगन्जमा हुन लागेको महाधिवेशन पार्टीले सुरु गरेको मिसन ग्रासरुट अन्तर्गतको कार्यक्रम हो की फरक हो ?

अहिले नेकपा एमालेले देशभर मिसन ग्रासरुट चलाइरहेको छ । यो अभियान तीव्र रुपमा सञ्चालन भइरहेको छ । बाँके जिल्लामा समेत नेताहरु विभिन्न पालिकामा परिचालित हुनुहुन्छ । म स्वयम् पनि मिसन अन्तर्गत अहिले बर्दियामा छु । तपाईंले भने जस्तै महाधिवेशन र पार्टीको अभियानसंग केही कुरामा समनता रहेका छन् ।

महाधिवेशनको मिति पहिले नै तोकिएको थियो । अहिले अभियान सञ्चालन भइरहेको यही बेलामा पश्चिम नेपालको केन्द्रमा नेपालगन्जमा महाधिवेशन हुँदैछ । अभियान अन्तर्गत रहेका नेता कार्यकर्ताहरुले यसमा सहभागिता जनाउनुहुनेछ । मिसन ग्रासरुटमा एक नेता ६ पालिकामा जिम्मेवारी तोकिएको छ । यस्तै फरक फरक क्षेत्रका नेताहरुलाई फरक स्थानमा खटाइएको छ ।

फागुन ५गते देखि देशैभरका पार्टी नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा कार्यक्रम गर्दै हुनुहन्छ । पार्टीका नियमित कामलाई व्यवस्थित गर्ने, नेकपा एमालेका नीति, विचार र कार्यक्रमहरु जनतालाई बुझाउने र अहिलेको दश दलीय गठबन्धनले मुलुकमा पार्ने प्रभावका विषयमा जनतालाई सुसूचित गर्ने अभियानको उद्देश्य रहेको छ । यसले गर्दा जनघाती निर्णयका विषयमा जनतालाई जानकारी हुन्छ ।

र २७ गते ११ बजे बैजानाथ, कोहलपुर,शमशेरगन्ज, खड्कवार,कचनापुर लगायतका नेताहरुलाई कोहलपुरमा जम्मा गराउने र खजुरा,जानकी,डुडुवा ,नरैनापुर र नेपालगन्जका जनताहरु गणेशमान जम्मा भएर जुलुस निकाल्ने र देशभरका जनता सम्मिलित प्रभात फेरि हुनेछ । पाँच हजार भन्दा युवा परिचालन हुनेछ ।

अन्त्यमा, महाधिवेशनमा सहभागीताका लागि बाँकेवासीहरुलाई के भन्न चाहन्छु हुन्छ ?

चैत ५ गते भएको कार्यक्रममा पार्टीका महासचिवले सबै कुरा भनि सक्नु भएको छ । म नेकपा एमालेका नेता कार्यकर्ता तथा सवेच्छुक र सम्पूर्ण बाँकेवासीहरुलाई सहभागिताका लागि आह्वान गर्न चाहन्छु ।

७७ वटै जिल्लाका पाहुनाहरुको स्वागतका लागि हामी तयार हुनुपर्छ । देश विकासका मेरुदण्ड युवाहरुको समेत व्यापक सहभागिता रहनेछ । यस्तै विभिन्न पार्टीका युवा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेकोले सम्पूर्णलाई म आउन आग्रह गर्न चाहन्छु ।

बाँके जिल्लाको विकास र समृद्धिको लागि यसले भूमिका खेल्ने भएको सबैको सहभागिता आवश्यक छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार