कुखुरामा आत्मनिर्भर बाँकेका किसान मर्कामा



नेपालगन्ज ।

बाँके कुखुरामा आत्मनिर्भर भए पनि बाहिरबाट कुखुराहरु आयात र तस्करी नरोकिँदा यहाँका किसान मर्कामा परेका छन् । जिल्लामा मागभन्दा बढी कुखुरा उत्पादन हुने गरेको अवस्थामा आयात प्रतिबन्ध लगाइएको भारतबाट तस्करी हुने र डिलरले अन्य जिल्लाबाट कुखुरा खपत गर्दा स्थानीय किसानका कुखुरा बिक्री नभइरहेको किसानहरु बताउँछन् ।

कुखुरा व्यवसायी संघ बाँकेका अनुसार अहिले जिल्लामा करिब पाँच सय किसानहरु कुखुरा पालन व्यवसायमा संलग्न छन् । न्यूनतम चार लाख लगानी लाग्ने कुखुरा पालनमा यस हिसाबले न्यूनतम २० करोड रुपैयाँ लगानी भएको अनुमान गर्न सकिने संघका कार्यबाहक अध्यक्ष सुवेदी बताउँछन् ।

हाल दैनिक २५ हजार ज्युँदो कुखुरा उत्पादन हुने गरेकोमा करिब २० हजार कुखुरा मात्रै जिल्लामा खपत हुन्छन् । बाँकी बाँकेबाट अन्य जिल्लामा निर्यात हुने गरेको उनी बताउँछन् । दैनिक ५० लाख बराबरको कुखुराको कारोबार हुने गरेको उनले बताए ।

जिल्ला कुखुराको मासु र अण्डा दुवैमा आत्मनिर्भर भए पनि मुख्यगरी भारतबाट हुने तस्करीका कारण नेपाली कुखुरा बिक्री नहुने अवस्था आउने गरेको किसानहरु बताउँछन् । यसका साथै अस्वस्थ प्रतिस्पर्धाका कारण अन्य जिल्लाबाट डिलरहरुले सस्तोमा कुखुरा आयात गर्दा स्थानीय किसानहरु मर्कामा पर्ने गरेका उनीहरुले बताउँदै आएका छन् ।

आन्तरिक समस्या समाधानका लागि पोल्ट्री सम्बद्ध व्यवसायीको संयन्त्रमार्फत पहल भइरहे पनि भारतबाट आयात रोक्न प्रहरी प्रशासनले इमान्दारीपूर्वक कर्तव्य पालन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार