बाँसगढी उ.वा. संघ चुनावः सक्षम र योग्य व्यक्ति आजको आवश्यकता



बाँसगढी उद्योग वाणिज्य संघको चैत ५ गते तेस्रो अधिवेशन हुँदैछ । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यसका लागि यहाँका व्यवसायी दुईवटा प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । बाँसगढीलाई चुनावी रौनकले उत्साहित बनाएको छ । यस क्षेत्रका व्यवसायीले कस्तो नेतृत्व चाहन्छन् भन्ने विषयमा मिसन टुडेले यहाँका विभिन्न व्यवसायीसँग प्रतिक्रिया लिएको छ । अधिकांशले बाँसगढी उद्योग वाणिज्य संघलाई केन्द्रसँग जोड्नु पर्ने सुझाव दिएका छन् । बेरोजगारी अन्त्यसँगै व्यापारीको हिकहित र संरक्षणमा काम गर्ने योग्य र सक्षम व्यक्ति अहिलेको आवश्यकता भएको यहाँका मतदाताहरुले प्रतिक्रिया दिएका छन् ।

सम्पादित अंश

सन्तोष बास्तोला

अध्यक्ष, बाँसगढी युवा मञ्च

बाँसगढी उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । यो निर्वाचनले नयाँ नेतृत्व पनि चयन गर्दैछ । बाँसगढीको समृद्धि र बाँसगढीको पर्यटकीय क्षेत्रको विकासका लागि नयाँ नेतृत्व आउने छ भन्ने हाम्रो विश्वास छ । बाँसगढीको समग्र विकासका लागि काम गर्न सक्ने व्यक्ति संघमा चाहिएको छ । हाम्रो चाहना योग्य र सक्षम नेतृत्व नै हो ।

जोसँग मिसन, भिजन र उद्देश्य भएको टिमको आवश्यकता देखिन्छ । राम्रो नराम्रो चुन्ने अधिकार मतदाता व्यवसायीहरुमा छ । व्यवसायीहरुको मन जित्न सक्ने नेतृत्व आओस् भन्ने हो ।

साथै बाँसगढी क्षेत्रमा अहिले एकदम देखिएको समस्या भनेको युवा पुस्ता बेरोजगार हुनु हो । यहाँ बेरोजगारीको अवस्था छ । बाहिरी लगानी बाँसगढीमा भिœयाउन सक्ने र संघलाई महासंघसँग जोड्ने त्यस्तोखालको हिक्मत राख्ने व्यक्तिलाई विजय गराउन म हार्दिक अनुरोध गर्न चाहन्छुँ ।

माधव पौडेल

म एक भुइँमान्छे हुँ । एक युवाका रुपमा पनि मैले बाँसगढी उद्योग वाणिज्य संघलाई नियालीरहेको छुँ । यो चुनावमा थुप्रै कुरा जोडिएका छन् । मैले देखिरहेको छुँ । यहाँ व्यावसायिक क्षेत्रमा व्यक्ति प्रदान राजनीति भइरहेको छ ।

अहिले उम्मेदवार भएका धेरै व्यक्ति आफू कसरी पुग्ने भन्ने धाउन्नमा छ । यस्ता कुरालाई गौण राख्नुपर्छ । यहाँको समस्याका विषयमा केन्द्रित हुन जरुरी छ । कतिपय उम्मेदवारमा उद्योग वाणिज्य संघको विकासका लागि योजना नै देख्दिनँ ।

अब म चाहन्छुँ, बाँसगढी उद्योग वाणिज्य संघमा यस्तो नेतृत्व आओस्, जसले संघलाई पृथक हैसियतमा पु¥याओस् । संघमा आबद्ध व्यवसायहरुले सक्षम नेतृत्व छनोट गरुन् । नयाँ नेतृत्वले व्यवसायीका समस्या समाधान गर्ने ल्याकत राखोस् । साना व्यवसायी र कृषि व्यापारीहरुको पनि अपनत्व बोध गराउन सकोस्, धन्यवाद् ।

सरोज गिरी
सञ्चालक, ए वान मोबाइन एण्ड कभर हाउस

बाँसगढी क्षेत्रका व्यवसायीहरुले व्यवसायीको हकहितका लागि निस्वार्थ काम गर्ने नेतृत्व चाहेका छन् । यहाँको नेतृत्व दलीय बन्धनबाट माथि उठेको नेतृत्व हुनुपर्छ भन्ने मेरो धारणा छ । व्यवसायीहरुको समस्याको पहिचान तथा समाधान गर्न सक्ने व्यक्ति आओस् । बाँसगढीको व्यवसाय वृद्धिको लागि स्पष्ट भिजनसहित आउनुपर्छ ।

ग्राहकलाई बजारसम्म ल्याउनको लागि विभिन्न विकल्पहरुको खोजी गरी साना ठूला सबै व्यवसायीहरुलाई व्यापार वृद्धिमा सहयोग पु¥याउन सक्ने व्यक्तिलाई छान्नुपर्छ । यस क्षेत्रलाई अन्य क्षेत्रमा समेत काम गरेर चिनाउन सक्नुपर्छ ।

यसका लागि सवल नेतृत्व आउनुपर्छ भन्ने मेरो भनाइ छ । जनता र व्यवसायीहरुको सम्बन्ध राम्रो बनाउन सक्ने क्षमतावान् नेतृत्व हामीले खोजेका छौँ । समस्यासँग जुध्न सक्ने नेतृत्व आउनुपर्छ । मतदाताहरुलाई राम्रो व्यक्ति छनोट गर्न आग्रह गर्न चाहन्छुँ । अहिले राम्रो व्यक्तिलाई छनोट गरियो भने हामीलाई फाइदा हुने तरिकाले सोच्नुपर्छ ।

दानबहादुर बुढा मगर
कपडा व्यवसायी

नमस्कार, म एक व्यवसायी हुँ । बाँसगढीमा कपडा व्यवसाय गर्छुँ । अहिले बाँसगढी उद्योग वाणिज्य संघको चुनाव हुँदैछ । यो चुनावलाई नजिकबाट नियाली रहेको छुँ । मलाई लाग्छ, समग्र बाँसगढीलाई व्यावसायिक थलो बनाउन सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्छ । नयाँ नेतृत्वले बजारलाई व्यवस्थित गर्नुपर्छ । दुईवटा प्यालन छन् ।

यी दुवैले आआफ्नो तरिकामा चुनाव प्रचारप्रसारसमेत गरिरहेका छन् । म पनि एउटा प्यानल निकट छुँ । तर पनि सबैले स्वीकार गर्न सक्ने व्यावसायिक नेतृत्व आउनुपर्ने मेरो धारणा छ ।

मलाई आशा मेरो एउटा भोटले बाँसगढीको आर्थिक समृद्धि र व्यावसायिक हितमा काम गर्नेछ । त्यसैले सम्पूर्णलाई राम्रो नेतृत्व छनोट गर्न आग्रह गर्न चाहन्छँु । बाँसगढी क्षेत्रको विकासको लागि एउटा मतले पनि धेरै फरक पार्नेछ । सम्पूर्ण व्यवसायीहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्न चाहन्छु ।

निराजन थापा

बाँसगढी व्यवसायीहरुको निर्वाचनमय बनेको छ । यहाँका व्यवसायीहरु चुनावको तयारीमा हुनुहुन्छ । यो चुनावले नयाँ नेतृत्व चयन गर्नेछ । आसन्न हुन गइरहेको बाँसगढी उद्योग वाणिज्य संघको चुनावबाट युवा नेतृत्व आउनुपर्छ भन्ने मेरो मत छ ।

यहाँ बेरोजगार भएका युवाहरुलाई यसले समेटोस् । युवा पुस्ताको अहिलेको आवश्यकतालाई मध्यनजर गर्न सक्ने युवा आउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । युवा विदेशिने अवस्था नआओस् । यहाँका युवाहरुलाई सीप प्रदान गर्न सक्ने नेतृत्व हामीले चाहेको हो ।

त्यसैले सम्पूर्णलाई मेरो आग्रह छ, सक्षम नेतृत्व छनोट । बाँसगढीलाई समृद्ध बनाउन सबैको हातमालोको आवश्यकता छ । अर्कातिर कोभिड–१९ पछिको व्यवसाय मारमा परेको छ । त्यसको उत्थान आवश्यक छ । व्यवसायीहरुलाई सहुलियत ल्याएर काम गर्न सक्ने मान्छे आउनुपर्छ । दिगो विकासको योजना ल्याउनुपर्छ । बाँसगढीलाई व्यापारिक क्षेत्रको रुपमा विकास गर्नुपर्छ ।

रामबहादुर केसी
होटल व्यवसायी

बाँसगढीलाई विकास गर्न आवश्यक छ । यसमा सबैको हातेमालो आवश्यक छ । यहाँको विकासको लागि स्थानीय सरकार लागेको छ । विकासमा निजी क्षेत्रको पनि उत्तिकै भूमिका रहन्छ । त्यसैले अब आउने नेतृत्व भिजन भएको हुनुपर्छ । बजार क्षेत्रलाई व्यवस्थित बनाउने मानिस आउनुपर्छ । यहाँ धेरै समस्या छन् । त्यसको समाधान हुन आवश्यक छ ।

मेरो रोजाइ जसले हाम्रो आवाज सुन्छ । उसैलाई चुन्ने हो । समस्या समाधानको उपाय भएको मानिस हुनुहुन्छ । हाम्रा समस्या समाधान गर्ने मानिसहरु भने हुन्छ । हाम्रो मागको सुनुवाइ होस् । नारा मात्रै दिने होइन काम गर्ने मानिस हामीलाई चाहिएको हो । त्यसैले काम गर्न सक्ने मानिसलाई चुन्नुपर्छ । मेरो रोजाइ पनि त्यस्तै व्यक्ति हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ३ गते शुक्रबार