वीरेन्द्र जैसी,नेपालगन्ज
सर्वसाधारण नागरिकका लागि हवाई उडानको सबैभन्दा बढी जरुरत भएका प्रदेश हुन्, कर्णाली र सुदूरपश्चिम । कुनै जिल्लामा हवाई उडानबाहेक अर्काे भरपर्दाे यातायातको साधन नै छैन । तर, यी प्रदेशका नागरिकहरु सबैभन्दा बढी यात्रा गर्ने मौसममै यी प्रदेशका विमानस्थलहरुमा विमानहरुको उडान कम हुन्छ । विमान कम्पनीहरु विमान लिएर काठमाडौं र पूर्वी क्षेत्रका पर्यटकीय गन्तव्यहरुतर्फ लाग्छन् ।
टिकटका लागि यी प्रदेशका नागरिकहरुले सधैं युद्ध लडेजस्तो संघर्ष गर्नुपर्छ । सर्वसाधारणले भनसुन नगरिकन वा घुस नदिइकन टिकट नपाइएको गुनासो बारम्बार गरिरहन्छन् । अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाइएको भनिए पनि विमान कम्पनीहरुले अनेक बाहनामा अनलाइन प्रणालीलाई प्रयोगमा ल्याउँदैनन् । यी समस्याहरु धेरै लामो समयदेखि सर्वसाधारण नागरिकहरुले भोगिरहेका छन् । तीन तहका सरकारमध्ये प्रदेश र संघमा पर्यटनसम्बन्धी मन्त्रालयहरु नै छन् । यी मन्त्रालयहरुले नागरिकले भोगिरहेका यी यावत् समस्याहरु समाधानमा कुनै दीर्घकालीन काम गरेका छैनन् । समस्या एकदमै बढेर नागरिकहरु असह्य हुन थालेपछि र सञ्चार माध्यममा समाचारहरु आउन थालेपछि मन्त्रीहरु समस्याबारे स्थलगत अनुगमन र छलफल गरेजस्तो गर्छन् । केही दिनका लागि सेवा प्रवाह सुधार आएको जस्तो देखिन्छ । फेरि अवस्था उस्तै हुन्छ ।
हाल सुदूरपश्चिम प्रदेशमा पर्यटनमन्त्री नै नियुक्त भएका छैनन् भने कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल आफूले सम्बन्धित निकाय, एयरलाइन्सका साथै संघीयमन्त्रीसँग समस्या समाधानका लागि पहल थालेको बताउँछन् । मन्त्री मल्लले मिसन टुडेसँग कुरा गर्दै प्रदेश सरकारका मन्त्रीहरुको टोली नै संघको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेर हवाई उडान सेवा सुधारबारे छलफल गरेको जानकारी दिए । उनले छलफलमा प्राइभेट एयरलाइन्ससहित नेपाल वायुसेवा निगमको उच्च नेतृत्वसँग छलफल भएको बताए । छलफलमा एयरलाइन्स कम्पनीहरुले पहिलेको भन्दा सेवामा सुधार आएको दाबी गरेको बताए । अनलाइन टिकट प्रणालीका विषयमा एयरलाइन्सहरुले सबैले अनलाइनको प्रयोग गर्न नजान्दा प्रभावकारी बनाउन नसकिएको आशय व्यक्त गरेको उनले बताए । ‘हामीले के भन्यौँ भने सुरुसुरुमा अलिकति गाह्रो होला । तर, बिस्तारै अनलाइन सिस्टमबाट टिकट काट्नुपर्छ भनेपछि आफूले चिनेजानेको व्यक्तिबाट टिकट कटाइहाल्नु हुन्छ नि । यसलाई व्यवस्थित गरौँ भनेर हामीले भनेका छौँ,’ उनले भने ।
अहिले नेपालगन्जमा टिकट नपाइने, समयमा उडान नहुने, उडानहरु आवश्यक भएकै बेला पूर्वतिर गइदिने मुख्य समस्या रहेको उनी बताउँछन् । ‘हाम्रा बिरामी, विद्यार्थी र सर्वसाधारणहरुले भने जहाज नै नपाएको समस्या ठूलो हो भनेर हामीले भनेका छौँ । हामीले दुईवटा कुरामा विशेष जोड दिएर राखेका छौँ । सेवा प्रवाह नियमित हुनुप¥यो र टिकट सहज र एकरुपता बनाउनुप¥यो ।’
यसका साथै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि पहाडी जिल्लामा उडान नियमित गराउनुप¥यो भन्ने माग कर्णाली प्रदेशका मन्त्रीहरुले राखेका उनले बताए । यस विषयमा तीनचार चरणको छलफल भइसकेको उनी बताउँछन् । उनले अहिले आफूहरु पहाडी जिल्लामा हवाई उडानको समस्याको दीर्घकालीन समाधन खोज्नेगरी कामहरु गरिरहेको बताउँछन् । यद्दपि संघ सरकारको पर्यटन मन्त्रालयले नै यस समस्याको निर्णायक समाधान दिनसक्ने भएकोले आफूहरुले दबाब बढाइरहेको उनी बताउँछन् ।
नेपालगन्जबाट कर्णालीको जुम्ला, हुम्ला, डोल्पा र मुगु एवम् सुदूरपश्चिमको बाजुरा जिल्लामा नियमित उडान गर्नुपर्ने व्यवस्था छ । तर विमान कम्पनीहरुले अनेक बाहनामा उडान नगर्ने, टिकट सर्वसाधारणले पाउने सहज व्यवस्था नगरेर सास्ती दिइरहेका छन् । हाल पनि तारा र सीता एयरले उडान रोकेर पूर्वी क्षेत्रमा गएका छन् । नेपाल एयरलाइन्स र समिट एयरले मात्रै उडान गरिरहेका छन् ।
यस्तै अवस्था कैलालीको धनगढी विमानस्थलमा पनि छ । सुदूरपश्चिम सरकारका सचिव वेदकुमार ढकाल सर्वसाधारणले टिकट पाउनु ठूलै युद्ध जितेसरह हुने गरेको बताउँछन् । अहिले पर्यटनमन्त्री नियुक्त भइनसकेको अवस्थामा मन्त्री नियुक्त भएपछि यसबारेमा आएका गुनासाहरु सम्बोधनको प्रयास गरिने उनले बताए । यसअघि पनि उडान तालिका अनिवार्य तोकेर उडान गराउने विषयमा छलफल भएको जानकारी दिँदै उनले अब दीर्घकालीन समाधानतर्फ पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
जीतबहादुर मल्ल
मन्त्री, कर्णाली प्रदेश

हाम्रा बिरामी, विद्यार्थी र सर्वसाधारणहरुले जहाज नै नपाएको समस्या ठूलो हो भनेर हामीले भनेका छौँ । हामीले दुईवटा कुरामा विशेष जोड दिएर राखेका छौँ ।
वेदकुमार ढकाल
प्रदेश सचिव, सुदूरपश्चिम प्रदेश

उडान तालिका अनिवार्य तोकेर उडान गराउने विषयमा पटकपटक छलफल भएको हो । तर बारम्बार नागरिकहरुले समस्या भोगिरहेकै छन् ।









प्रतिक्रिया दिनुहोस्