शिव शिखर एग्रोको सेल सेन्टरमा तालाबन्दी



मिसन संवाददाता
कोहलपुर, २८ फागुन
कोहलपुर–११ स्थित शिव शिखर प्रालिमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । शिव शिखर कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पीडितहरुले आइतबार प्रालिको स्टोरमा तालाबन्दी गरेका हुन् ।
पछिल्लो समय कोहलपुरस्थित शाखाले बचतकर्ताहरुको बचत सुरक्षा र फिर्ताको माग गर्दै पीडितहरुले चरणबद्धरुपमा आन्दोलन र विरोधका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले आइतबार पनि शिव शिखर सहकारीविरुद्ध कोहलपुरमा विरोध कार्यक्रम आयोजना गरेका थिए । विरोधपछि शिव शिखर कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोहलपुर शाखाकी क्षेत्रीय प्रबन्धक राजकुमारी शाहीको अध्यक्षतामा सहकारी र पीडितपक्षबीच छलफल भएको छ ।

उक्त छलफलमा सहकारीका प्रतिनिधिसहित पीडित पक्षका ३० जना सहभागी थिए । बैठकमा आर्थिक पारदर्शीता र शिव शिखर एग्रोको सेल सेन्टरका विषयमा निर्णय गरिएको छ । दुई पक्षीय छलफलपछि शिव शिखर सहकारीको नाममा छमोनियास्थित ७२ कट्टा जग्गा बिक्री गर्दा आउने एक करोड ८५ लाख रुपैयाँ खरिद गरी विक्रम भुसालले शिव शिखर सहकारीको खातामा जम्मा गर्न लगाउने र जम्मा भएको रकम सबैलाई चित्त बुझ्दो गरी पारदर्शी तरिकाले बचतकर्तालाई वितरण गर्ने निर्णय गरिएको पीडित पक्षका अगुवा दीपक ढुंगानाले बताए ।
‘शिव शिखर सहकारी संस्थाको रकमबाट शिव शिखर एग्रो प्रालि सेल सेन्टर निर्माण गरिएको छ । सहकारीमा बचत गर्दै आएका बचतकर्ताहरुको बचत रकम सुरक्षाका लागि सेल सेन्टरमा रहेको गोदाम सुरक्षा गर्न सम्पूर्ण बचतकर्ताद्वारा सेल सेन्टरमा तालाबन्दी गर्ने,’ निर्णयमा भनिएको छ । अगुवा ढुंगानाले सहकारी संस्थामा भएको निर्णयअनुसार नै सेल सेन्टरमा तालाबन्दी गरिएको बताए । उनका अनुसार सहकारी पीडितहरुका तर्फबाट केही समययता बचत सुरक्षाका लागि संघर्ष भइरहेको छ । संघर्षका कार्यक्रमअन्तर्गत नै आइतबार विरोध प्रदर्शन गरिएको उनले बताए ।
उक्त छलफलमा सहकारीका सञ्चालक केशवराज शर्माका प्रतिनिधिसमेत सहभागी थिए । शर्माका प्रतिनिधिले शर्मा हाल भारतको मुम्बइमा रहेको र उनले पीडितपक्षसँग छलफल गर्न चाहेको बताए । कोहलपुरस्थित शाखामा देखिएको समस्याका विषयमा प्रतिनिधि टोली मुम्बइ जाने बारेमा छलफल भएको थियो । शर्मासँग छलफलका लागि सहकारीका कर्मचारीसहित पीडित पक्ष गरी दुई दर्जनभन्दा बढी भारत जाने बारेमा पनि छलफल भएको छ । तर यो विषय भने निर्णय भइसकेको छैन । यसमा थप छलफल हुने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २९ गते सोमबार