नेपालगन्ज (बाँके) ।
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्र खानयोग्य तरकारी तथा फलफूल नेपाली उपभोक्तामा पुग्ने व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायसँग उपभोक्ता अधिकारकर्मीले माग गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो माग गरेका हुन् ।
‘नेपाली तरकारीले बजार नपाएको गुणासो कृषकबाट आइरहेका बेला नेपालगन्जमा भारतीय तरकारीको निर्वाधरुपमा आयात भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
भारतबाट आयातित तरकारी तथा फलफूलको गुणस्तरको सुनिश्चितता गरेपश्चात मात्र उपभोक्ता माझ पुग्नुपर्नेमा विषादी परीक्षणबिना नेपाली बजारमा बिक्रीवितरण भइरहेकाले विषादी परीक्षण गर्न अनुरोध गरिएको लुम्बिनी प्रदेश उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष प्रभातकुमार ठकुरी बताए ।
‘विषादीको जथाभावी प्रयोगबाट उत्पादन भएको तरकारी तथा फलफूल खान उपभोक्ता बाध्य भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले उपभोक्ताको गुणस्तरीय वस्तु तथा सेवाको उपभोग गर्न पाउने अधिकार उपभोगमा समेत असर परेको छ ।’ प्रभावकारी परीक्षण गरी उपभोक्तामाझ गुणस्तरीय तरकारी तथा फलफूल पु¥याउने सम्बन्धित निकायको दायित्व रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले बताए ।
वसन्त गौतम केन्द्रीय सदस्य उपभोक्ता हित संरक्षण मञ्च, प्रभातकुमार ठकुरी प्रदेश उपाध्यक्ष उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश, सरस्वती मल्ल कार्यक्रम अधिकृत इन्सेक, डिल्लीप्रसाद जैसी न्यौपाने मानव अधिकार एलाइन्स, लक्ष्मीकुमारी थारु जिल्ला प्रतिनिधि इन्सेकलगायतको संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ति निकालिएको छ ।









प्रतिक्रिया दिनुहोस्