नेपालगन्ज, २३ माघ
नेपालगन्जस्थित एक होटेल सञ्चालकले जग्गाको खिचोला विषयमा अदालतले जारी गरेको निषेधाज्ञाको अवज्ञ गर्दै एक व्यक्तिको संरचना जबर्जस्ती भत्काएको पाइएको छ । नेपालगन्ज वडा नम्बर २ मा रहेको होटेल डायमण्ड (सिग्नेट इन कृष्णा) का सञ्चालकले अदालतले मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि साविकको कित्ता नम्बर १७१ बाट हाल कायम कित्ता नम्बर १३ को जग्गामा बनेका पर्खाल तथा अन्य संरचनाहरु भत्काउने कार्य नगर्नु नगराउनु भनी माघ २० गते आदेश दिएको थियो ।

तर, होटेल डायमण्डका सञ्चालक सुरेन्द्रबहादुर सिंहले सोही दिन नम्बर प्लेट नभएको डोजर ल्याएर उक्त कित्तामा रहेका आफ्ना संरचनाहरु जबर्जस्ती भत्काइदिएको भन्दै कित्ता नम्बर १३ का हकवाला सुरेन्द्रकुमार श्रेष्ठले पत्रकार सम्मेलन गरी गुहार मागेका हुन् । उनले आफूलाई उक्त संरचनाहरु जबर्जस्ती हटाउन धम्की दिँदै आएकाले सुरक्षाको माग गर्दै प्रशासनलाई निवेदन दिएपछि कुनै सहयोग नमिलेको बताएका छन् ।
उनले भने, ‘अदालतले दिएको आदेशको पनि अवहेलना गरेर जबर्जस्ती कसैको व्यक्तिगत सम्पत्ति भत्काइँदा पनि मैले कतैबाट साथ पाइनँ । त्यही भएर पत्रकार साथीहरुसमक्ष आएको हुँ ।’ साथै उनले होटेल सिग्नेट इन कृष्णका सञ्चालकहरुले उक्त होटेल रहेको क्षेत्रमा रहेको करिब चार कठ्ठा ऐलानी जग्गा पनि आफ्नो नाममा बनाएको आरोप लगाएका छन् । ‘कालीमाई मन्दिर, बालदा तलाउलगायतको जग्गा पनि होटेल सञ्चालकले आफ्नो नाममा बनाएका छन् । आफ्नो वास्तविकभन्दा चार कठ्ठा बढी जग्गा उनीहरुले कब्जा गरेर बाहिरबाट अग्लो वाल लगाइसकेका छन् ।’









प्रतिक्रिया दिनुहोस्