‘भारतबाट अवैध कुखुरा आयातमा कमी’



नेपालगन्ज ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सीमामा हुने तस्करी रोक्न निर्देशन दिएपछि बाँकेमा भारतबाट कुखुराको तस्करी कम भएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । पोल्ट्री व्यवसायी संघ बाँकेका कार्यबाहक अध्यक्ष ईश्वर सुवेदीका अनुसार केही दिनयता नेपाली कुखुराको खपत बढेको छ । यसको अर्थ भारतबाट कुखुराको आयातमा कमी आएको भनेर बुझ्नुपर्ने उनले बताए ।

यद्धपि अवैध आयात घट्नुका पछाडि गृहमन्त्री लामिछानेको निर्देशनपछि कडाइ गरिनु मात्रै कारण मान्न नसकिने उनले बताए । अहिले भारतमा भन्दा नेपालमा कुखुराको मूल्य कम भएका कारण पनि अवैध आयात कम भएको हुनसक्ने उनले बताए । ‘एउटा कारण त गृहमन्त्रीको चासो पनि होला । तर, यता मासुको मूल्य भारतको भन्दा कम भएर पनि हो भन्ने हाम्रो अनुमान छ ।

यद्धपि नेपालमा पनि कुखुराको मूल्य पहिलेभन्दा केही बढेको छ,’ सुवेदीले भने । उनले तस्करीमा कति कडाइ गरियो भन्ने हेर्न केही दिन अझै कुनुपर्ने बताए । केही दिनअघि पोल्ट्री व्यवसायी महासंघले गृहमन्त्री लामिछानेलाई भेटेर भारतबाट हुने कुखुराको तस्करी रोकिदिन अनुरोध गरेका थिए ।

त्यसपछि गृहमन्त्रीले प्रहरी महानिरीक्षकलाई यस विषयमा कडाइ गर्न निर्देशन दिएका थिए । तस्करीमा संलग्न नेपालगन्जको एक मासु सप्लायर्समाथि अनुसन्धान गर्न पनि उनले निर्देशन दिएका थिए । त्यसपछि बाँकेमा पनि तस्करीमा कडाइ गरिएको सुरक्षा अधिकारीहरु दाबी गरिरहेका छन् ।

बर्डफ्लुलगायत पन्छीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ । नेपाल कुखुराजन्य वस्तुहरुको उत्पादनमा आत्मनिर्भरसमेत छ । तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको अवस्थामा मुनाफाका लागि भारतीय कुखुरालाई तस्करी गरेर नेपाली बजारमा पु¥याउने गरिएको छ ।

भारत जोड्ने बाँकेको मुख्य नाका जमुनाहमा कडाइ गरिएको अवस्थामा पनि भित्री नाकाबाट भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको कुखुरा व्यवसायीहरु आरोप लगाउँदै आएका छन् । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउने गरेको र त्यसको असरले आफूहरुको व्यवसाय धरापमा परेको कुखुरा व्यवसायीहरु बताउँदै आएका छन् ।

बाँके र बर्दियाका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेको कुखुरा व्यवसायीको आरोप लगाउँछन् । सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ साइगाउँ र खजुरा गाउँपालिकाको वडा नम्बर १ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला तस्करी हुने गरेको व्यवसयीहरुको दाबी छ ।

यसरी भिœयाइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगन्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशका जुम्ला, डोल्पालगायतका जिल्लामा समेत पु¥याउने गरिएको छ । कुखुरा व्यवसायीले भारतीय कुखुरा रोक्न पटकपटक आन्दोलन, धर्ना र ज्ञापनपत्र बुझाउने काम गर्दै आएका थिए । तर पनि तस्करीमा कमी नआएको उनीहरुको गुनासो रहँदै आएको छ ।

प्रहरी भने मुख्य नाकाबाट नभइ भित्री नाकाबाट लुकीछिपी तस्करी हुने गरेको सदाबहार जवाफ दिँदै उम्किने गरेको छ । तर, सीमा क्षेत्रमा खोलिएका अधिकांश कुखुरा फार्महरुले आफैँ उत्पादन गर्नेभन्दा भारतबाट तस्करी गरिएका कुखुरालाई बजारमा पठाउने गरेका आरोप लाग्दै आएको छ । खुलेआम कुखुरा तस्करी भइरहँदा पनि प्रशासन मुकदर्शक बन्ने गरेको व्यवसायीहरु आरोप लगाउँदै आएका छन् ।

गृहमन्त्रीको निर्देशनपछि केही सुधार भएको महसुस आफूहरुलाई भए पनि केही समय कुरिसकेपछि र नेपालमा कुखुुराको मूल्य भारतमा भन्दा बढी भएको अवस्थामा कस्तो अवस्था रहन्छ हेरिसकेपछि मात्रै यकिन हुने व्यवसायीहरु बताउँछन् । भारतबाट हुने अवैध आयात नरोकेसम्म नेपाली पोल्ट्री व्यवसाय माथि उठ्न नसक्ने उनीहरुको बुझाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ७ गते शनिबार