बालसुधार गृहभित्रै अपराधः कानुनी अड्चनले झमेला



एक सय जनाभन्दा बढी अपराधमा मुछिएका व्यक्तिहरुको उमेर १८ वर्ष पुगिसकेको छ । अर्थात् उनीहरु बालक नरहेपनि बालसुधार गृहमै छन् । बालबालिका र कारागारसम्बन्धि विभिन्न ऐन तथा कानुनमा १८ वर्ष पुगेको आधारमा कारागार सार्न मिल्ने कल्पना कानुनमा गरिएको छैन ।

डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृहको भवन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयेन्दु बालसुधार गृहबाट त्यहाँ रहेका चार जना बालक बिहीबार बिहानै भागे । उनीहरु आफुहरु बसेको कोठाको भेन्टिलेटरको ग्रिलको नट खोलेर भागेका थिए । भागेका उनीहरु सबैको उमेर १८ वर्षभन्दा माथि रहेको छ । फरार भएकाहरु यसअघि पनि सुधारगृहभित्रै बदमासीमा संलग्न रहेका सुधार गृह स्रोत बताउँछ ।

उनीहरुले दसैंभन्दा केही दिन अघि पनि बन्दीगृहमा रहेका केही बालकहरुलाई कुटपिट गर्नुका साथै तोडफोड गरेपछि केही दिन जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको थियो । सुधारगृह प्रशासनले उनीहरुलाई उमेर बढी भैसकेको अवस्थामा गरेको कसुरका आधारमा कारागार चलान गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेपनि प्रहरीले मानवअधिकारको पक्ष देखाएर त्यसो गर्न नमानेको सुधारगृह स्रोत बताउँछ ।

हाल सुधार गृहमा हाल एक सय जनाभन्दा बढी अपराधमा मुछिएका व्यक्तिहरुको उमेर १८ वर्ष पुगिसकेको बताइएको छ । अर्थात् उनीहरु बालक नरहेपनि बालसुधार गृहमै छन् । यस्ता अधिकांश व्यक्तिको चालचलन ठिकै रहेपनि फरार भएका व्यक्तिहरु भने सुधार गृहका लागि टाउको दुःखाईको विषय बनेका छन् ।

उनीहरुले पहिले रहेका सुधार गृहमा पनि बदमासी गरेपछि बाँके ल्याइएको स्रोत बताउँछ । उनीहरुका कारण अरु बालकहरु पनि जोखिममा पर्नसक्ने सुधारगृह स्रोत बताउँछ । अधिवक्ता वसन्त गौतम १८ वर्षभन्दा कम उमेरका बालबालिकाका अपराधमा मुछिई सजाय तोकिएमा उनीहरुलाई बालसुधार गृहमा राख्ने व्यवस्था रहेको र उनीहरु १८ वर्ष पुगेपनि पुरानै सजायका आधारमा कारागार चलान गर्न नमिल्ने
बताउँछन् ।

१८ वर्ष उमेर पुगेपछि मुछिएका अपराधमा उनीहरुलाई पुनः अदालतले सजाय तोकेमा मात्रै कारागार राख्न मिल्ने उनको भनाइ छ । वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ पनि १८ वर्षभन्दा कम उमेर रहेको अवस्था तोकिएको सजाय पूरा नहुन्जेल लागू हुने बताउँछन् । अपराध विशेषका आधारमा विभेदको परिकल्पना कानुनमा नगरिएको उनको भनाइ छ । बालबालिका र कारागारसम्बन्धि विभिन्न ऐन तथा कानुनमा १८ वर्ष पुगेको आधारमा कारागार सार्न मिल्ने कल्पना कानुनमा गरिएको छैन ।

बरु बालसुधार गृहमै उमेरअनुसार अलग्गै राख्ने व्यवस्था गर्नुपर्ने व्यवस्था रहेको उनले बताए । बाँकेको बालसुधार गृहमा अहिले यस्तो व्यवस्था छैन । वरिष्ठ अधिवक्ता श्रेष्ठले अहिले फरार भएर गरेको कसुरका आधारमा अदालतले अलग्गै सजाय तोकेमा उनीहरु कारागार चलान हुनसक्ने बताए ।

छानबिन समितिले काम सुरु ग¥यो 

बालसुधार गृहबाट चारजना एकैसाथ फरार भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले आइतबारबाट काम सुरु गरेको छ । सुधार गृहमा रहेका चार जना बिहीबार फरार भएपछि त्यस विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिमा अनुसन्धान विभाग, प्रहरी र कारागारका प्रतिनिधि सम्मिलित छन् । सहायक प्रमुख जिल्ला अधिकारी केसीले आइतबारबाट स्थलगत अवलोकन गर्दै छानबिनको काम सुरु गरेको जानकारी दिए ।

उनले फरारहरु पक्राउ परेपनि आफूहरुले सत्यतथ्य सार्वजनिक गरी आवश्यक सुझावसहित प्रतिवेदन दिने बताएका छन् । समितिलाई सात दिनभित्र प्रतिवेदन दिन समय तोकिएको उनले जानकारी दिए ।

सबै फरार पक्राउ 

जयेन्दु बालसुधार गृहबाट फरार भएका चारैजना पक्राउ परेका छन् । उनीहरु चारैजना शनिबार प्युठानमा पक्राउ परेका र बाँके ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

सुधार गृहबाट फरार हुनेहरुमा उमेर १८ वर्षभन्दा कम भएकै बेला जबरजस्ती करणी मुद्दामा सजाय पाई सुधार गृहमा पठाइएका तीनजना र कर्तव्य ज्यान मुद्दाका एकजना रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस १८ गते सोमबार