19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

खजुरामा सडक निर्माण ढिलाइले सास्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १, २०७९  

नेपालगन्ज ।

सडक निर्माणमा सुस्तताको उदाहरण बनेको छ, ‘खजुरा गाउँपालिकाअन्तर्गत खजुरा बजारमा निर्माणाधीन फोरलेन सडक ।’ साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको उक्त सडक निर्माणको काम पाँच वर्ष आठ महिना बितिसक्दा पनि सम्पन्न भएको छैन ।

सडक डिभिजन कार्यालय नेपालगन्जमार्फत सञ्चालित उक्त योजना निर्माणको जिम्मा गजुरमुखी निर्माण सेवाले लिएको छ । २०७४ साल वैशाखमा २१ करोड ४९ लाख रुपैयाँमा निर्माणको लागि ठेक्का सम्झौता भएको उक्त सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयहरुले सास्ती भोगिरहेका छन् ।

सडक निर्माण अधुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ छ भने धुलो उडेर आसपासका पसल तथा घरहरु छपक्क ढाकिएका छन् । स्थानीयहरु श्वासप्रश्वाससम्बन्धी समस्याहरुबाट पीडित छन् ।

गत वर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो । उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो ।

निर्माण कम्पनीले समयमा काम नसकिनुका पछाडि कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपाउँदै आएको छ । अब भने काम अन्तिम चरण पुगेको कम्पनीका सञ्चालल बामदेव रेग्मी बताउँछन् ।

खजुराको चारलेन खण्डसँगै बर्दियाको गुलरियाको चारलेन खण्ड पनि एकैपटक ठेक्का लिइएको उनले बताए । अब गुलरियाको काम सकिएको र योजनाको करिब ९० प्रतिशत काम सकिएको बताउँदै उनले केही हप्तामै निर्माण सम्पन्न भइसक्ने दाबी पनि गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, पुस १, २०७९     8:41:07 AM  |