हप्ताभरको निद्रा एक दिनको बिदामा सुतेर पूरा गर्न सकिन्छ ?



एजेन्सी ।

विश्लेषकहरुले यसअघि नै सबैलाई हप्ताभर गुमाएको निद्रा बिदाको बेला सुतेर पूरा गर्न नसकिने स्पष्ट बताइसकेका छन् । तर २०१८ मा प्रकाशित ‘जर्नल अफ स्लिप रिसर्च’ ले सो निष्कर्षमाथि प्रश्न गर्दै बिदाका बेला सुत्नुले निद्रा नपुग्दा उत्पन्न हुने केही जोयिखमहरुलाई कम गराउन सक्ने दाबी गरेको छ ।

अपूरो निद्राका कारण स्वास्थ्यमा पर्ने असरदेखि चाँडै मृत्यु हुने सम्मका खतरा कम हुन सक्ने जर्नलमा उल्लेख छ । तर यता ‘करेन्ट बायोलोजी’ मा प्रकाशित अध्ययनले भने हप्ताभर गुमाएको निद्रा छुट्टीको समयमा आराम गरेर पूरा गर्नु पर्याप्त नहुने र यो दिर्गकालीन समयका लागि फाइदाजनक हुन नसक्ने बताएको छ ।

वास्तवमा अहिलेका मानिसहरु निद्रालाई बैंक अकाउन्ट जस्तै सम्झिन्छन् र सोमबार एक घण्टा कम सुत्ने व्यक्तिले शनिबार एक घण्टा बढी सुतेर तालमेल मिलाउन खोज्छन् । तर यो विषय यति सहज नभइ धेरै जटिल रहेको युनिभर्सिटी अफ मिचिगेनकी न्युरोलोजी प्रोफेसर डाक्टर क्याथी गोल्डस्टिन बताउँछिन् । उनका अनुसार यसरी अगाडिको निद्रा अर्कैदिन सुतेर पूरा गर्दा यसका केही तत्कालीन फाइदा हुन सक्छन् तर यसलाई वास्तवमै घण्टाका हिसाबले मापन गरि पूरा गर्न सकिँदैन ।

यसअघिका अनुसन्धानहरुमा एक घण्टाको अपूरो निद्रा पूरा गर्न कम्तीमा पनि चार दिन पर्याप्त आराम आवश्यक रहेको बताइएको छ । त्यसैले पनि गणितीय हिसाबले अपुग निद्राको भरपाइ गर्न असम्भव रहेको क्याथी बताउँछिन् ।

उनका अनुसार समयसँगै अधुरो निद्राका रातहरु पनि बढ्दै जाने हुँदा कहिल्यै शरीरलाई पूर्ण रुपमा निद्राको भरपाइ गर्न सकिँदैन ।

उनी भन्छिन्, ‘कहिलेकाहिँ रातभर जागेर बस्नु वा बिहान धेरै छिटो उठ्नु हामीलाई ठूलो कुरा लाग्दैन । तर वास्तवमा निद्रा पूरा नहुनुले हाम्रो शरीरको थकान मात्र नबढाएर शारीरिक घडीमा पनि नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।’ शारीरिक घडी एक आन्तरिक प्रणाली हो जसले रातिको समयमा सुत्ने र दिनमा सक्रिय रहने हर्मोन रिलिज गरिरहेको हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ९ गते आइतबार