गरिबीले गर्दा २०२७ सालमा परिपवारसँगै उनी दैलेखबाट कोहलपुर झरिन् । यहाँ आउनुको उनको प्रमुख उद्देश्य थियो, ‘रोजगारी र खुसी ।’ तर उनले दुवै कमाउन सकिनन् । अनेक सपना बोकेर पहाडबाट तराई झरेको आज ३५ वर्ष पुग्यो । यो ३५ वर्षमा न उनीसँग खुसी छ नत रोजगारी ।
नेपालगन्ज (बाँके) ।
चुलो आधा भत्किएको । एउटा ¥याक छ । त्यसमा थोरै भाँडाकुँडा छन् । एउटा सानो खाट पनि छ । जस्तापाताले बारिएको झुपडीमा यति मात्र होइन, ५३ वर्षीया तारा मल्लसँगै उनका संघर्ष र बेदना पनि आश्रित छन् । चुहिनो छानो र चिसो भुइँबाटै सुरु हुन्छ ताराको दैनिकी । उदाउँदो सूर्यसँगै बिहान र साँझको छाक टार्ने उद्देश्य पलाउँछ अनि जब रात पर्छ उनका जिन्दगीका यादहरु ताजा बनेर आइदिन्छन् । जो समुन्द्रको छाल जसरी ।
गरिबीले गर्दा २०२७ सालमा परिपवारसँगै उनी दैलेखबाट कोहलपुर झरिन् । यहाँ आउनुको उनको प्रमुख उद्देश्य थियो, ‘रोजगारी र खुसी ।’ तर उनले दुवै कमाउन सकिनन् । अनेक सपना बोकेर पहाडबाट तराई झरेको आज ३५ वर्ष पुग्यो । यो ३५ वर्षमा न उनीसँग खुसी छ नत रोजगारी । पहाडमा जस्ता पीडा र बेदना थिए, अहिले पनि उस्तै छन् । तराई झरेपछि उनको दैनिकी फेरिँदो थियो ।
सामान्य ज्याला मजदुरी हुन्थ्यो र साँझबिहानको छाक टार्नलाई मुस्किल हुँदैन्थ्यो । परिवार खुसी थियो । त्यही खुसीभित्र अनेक सपना थिए । तर, १७ वर्ष अगाडि उनको जीवनमा कालो दिन आयो । त्यो कालो दिन अहिलेसम्म फेरिन सकेको छैन ।
अर्थात् उनका श्रीमान्ले सडक दुर्घटनामा ज्यान गुमाउनु प¥यो । जुनीजुनी सँगै जीवन जिउने वाचा थियो । जीवनका कयौं दुःख पीडा सँगै कटाउने र सुखमा रमाउने योजना थियो । संघर्षमय जीवनलाई सुखमय बनाउन एक सिक्काका दुई पांग्रा जसरी सँगै अगाडि बढ्ने प्रण थियो । तर, त्यो सब बीचमै ठेस लाग्यो । तारा एक्ली भइन् । साहाराविहीन भइन् ।
एक सिक्काको एउटा चक्का फुत्कियोअर्थात ताराले जीवन साथी गुमाइन् । अहिले उनका श्रीमान् उनीसँग छैनन्, छन् उनका यादहरु मात्र । श्रीमान्को मृत्युसँगै उनका सपना पनि चुडिए । उनी गरिबीको खाल्डोबाट माथि उठ्नै सकिनन् । आजभन्दा ३५ वर्ष अगाडि जुन भूमिविहीन थिइन् अहिले पनि उनी उस्तै भूमिविहीन छिन् । कोहलपुरस्थित न्यूरोडबाट पूर्वतिर सार्वजनिक जग्गामा टहरा (झुपडी) बनाएर दैनिकी चलाएकी छिन् ।
यो झुपडी पनि भत्किँदो छ । झुपडी पीडा र बेदनले मात्र अल्झिएको छ । उनका तीन छोरा छन् । दुई विवाह गरेर छुट्टै बस्छन् भने एउटा अपांग छन् । सार्वजनिक जग्गामा बनेका संरचना हटाउने हल्लाले उनलाई पिरोल्छ । ‘आजसम्म आएर कसैले यहाँबाट हट्नुपर्छ त भनेको छैन,’ उनले भनिन्, ‘तर, बेलाबेला बजारमा आउने हल्लाले साह्रै पीडा दिन्छन् ।’
गरिबीले माथि उठ्न नदिएको भन्दै उनले भनिन्, ‘जति काम गर्दा पनि गरिबीले छुट्कारा दिएन ।’ अहिले उनको अवस्था दर्दनाक छ । साँझबिहान छाक टार्नै मुस्किल छ । गरिबीसँगै उनलाई रोगले पनि च्यापेको छ । उनी बिरामी भएको १४/१५ वर्ष भयोे । आर्थिक अभाव हुँदा उनको उपचार हुन सकेको छैन । घरबार केही छैन । बस्ने झुपडीमा चिया बिक्री गर्छिन् तर, ग्राहक आउँदैनन् । दिनमा आम्दानी शून्य हुन्छ । किनकी ठूलो लगानीमा चिया पसल खोल्न उनीसँग पैसा छैन ।









प्रतिक्रिया दिनुहोस्