काठमाण्डौँ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘हामी लडेका छौँ, मरेका होइनौँ’ भनेका छन् । मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा उनले फेरि पनि उठेर प्रतिक्रियावादीलाई पराजित गरिछोड्ने दाबी गरे ।
‘हामी विध्वंसको बाटोबाट होइन । रचनात्मक र शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनमा पुग्नेछाँ र पश्चगामी र प्रतिगामी षड्यन्त्रलाई पराजित गर्नेछाैँ,’ उनले भने, ‘फेरि धुलो टकटक्याउँदै उठ्नेछौँ र हामी विजयी हुनेछौँ ।’
एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । उनले नेपाली कांग्रेसलाई फुटाइछोडेको बताउँदै आफ्नो दल एमाले भने एकढिक्का रहेको जिकिर गरे । उनले मुस्किलले एकता गरे पनि चम्किएर फुट्ने गरको स्मरण गरेका छन् । एमालेलाई पनि बाहिरबाट फुटाउने प्रयास भइरहेको बताउँदै उनले त्यसबाट सतर्क भएको जानकारी दिए ।‘प्रयासहरू भएका छन्, नभएका होइनन् ।
नेकपा एमाले यति मजबुत र सुदृढ पार्टी हो कि यो जनताको बहुदलीय जनवादबाट निर्देशित पार्टी हो । आफ्नो उद्देश्यहरूप्रति सजक छ’, ओलीले भने, ‘त्यसकारण कसैले हात हाल्न खोज्दैमा हामी त्यसलाई चिन्छाैँ र एकताबद्ध हुन्छौँ । हामी सुदृढ छौँ र सुदृढ हुनेछौँ । यो चुनावमा धक्का खाएको छौँ, यो धक्का हो । हामी समाप्त भएका छैनौँ ।’









प्रतिक्रिया दिनुहोस्