मुस्ताङ ।
यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ । ‘हिमाली याकनाक प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई अनुदानमा याकनाक वितरण गरेको हो । लाभग्राही पशुपालक व्यवसायी र गाउँपालिकाअन्तर्गत सङ्घीय ससर्त अनुदानमा ५०–५० प्रतिशत लागत साझेदारी रहनेगरी याक र नाक पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
उनका अनुसार पालिकाको रु सात लाख ५० हजार र पशुपालक किसानको रु सात लाख ५० लागतमा याक खरिद गरी वितरण गरिएको छ । शनिबार जोमसोमका किसान पेम्बा गुरुङले अनुदान सहुलियतमा याक र नाक खरिद गरी ल्याउनुभएको छ । गाउँपालिकाले अनुदानमा वितरण गरेको याक र नाक तथा बाछाबाछी मनाङबाट खरिद गरिएको अध्यक्ष लालचनले जानकारी दिए । उनका अनुसार गाउँपालिकाद्वारा उपलब्ध बजेट दायराभन्दा थप रु आठ लाख मूल्य बराबरका याक र नाक किसान पेम्बा गुरुङले खरिद गरी मुस्ताङ ल्याएएकाे हाे ।
किसानले ५६ वटाभन्दा बढी याक र नाकसहित बाछाबाछी यहाँ पुर्याएका हुन् । गाउँपालिकाका अध्यक्ष लालचनले थोरै सङ्ख्यामा रहेका याक र नाक धेरै जनालाई अनुदानमा वितरण गर्दा लक्ष्यअनुसार याक प्रवर्द्धन गर्न अप्ठ्यारो पर्ने भएकाले छनोट समितिको मापदण्डभित्र रहेर एक जना किसानलाई अनुदानका याकनाक वितरण गरिएको उल्लेख गरे ।गाउँपालिकाका पशु शाखा अधिकृत आइत थकालीका अनुसार गाउँपालिकाद्वारा अनुदानमा वितरण गरिएका याक र नाक पाँच वर्षसम्म बिक्री गर्न नपाइने सम्झौता गरिएको बताए ।
यो व्यवसाय मात्र नभई हिमाली क्षेत्रको मौलिक संस्कृति भएकाले जैविक विविधता र पारिस्थितिक प्रणालीमा योगदान पुर्याउने उद्देश्यले गाउँपालिकाद्वारा याक र नाक वितरण गरिएको उहाँको भनाइ छ ।यसअघि घरपझोङ गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा याक र नाक वितरण गर्न ३५ दिने सूचना प्रकाशित गरेको थियो । गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार केही किसानले अनुदानका लागि निवेदन पेस गरेका थिए ।
पशु शाखा अधिकृत थकालीका अनुसार जिल्लाको दररेटअनुसार मूल्य निर्धारण गरी रु १५ लाख मूल्यमा याक र नाक खरिद गरी ५० प्रतिशत अनुदान सहुलियतमा प्रदान गरिएको जानकारी दिनुभयो । जिल्लाको ङिस्याङ गाउँपालिकास्थित याकखर्कबाट ३८ चाैँरी, तीन भाले याक र १५ वटा बाछाबाछी खरिद गरी जोमसोम ल्याइएको किसान गुरुङले जानकारी दिए । गाउँपालिकाको अनुदानमा ३८ र १८ वटा व्यक्तिगत लगानीमा खरिद गरिएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्