नेपालगन्जको ‘काव्यगन्ज’ मा सुनिए डा. निरज



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख करुद्धिन राई, बाँकेका ठूला अस्पतालका प्रमुख तथा चिकित्सक, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी एवं साहित्यकारहरुको ठूलो उपस्थिति ।

विपी चोकस्थित एक रेष्टुरेन्टको सभाहलमा सजाइएको काव्यगन्जको मन्च । उक्त मन्चमा थिए कवि एवं खजुरा क्यान्सर अस्पतालमा कार्यरत ‘कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन’ डा. निरज भट्टराई ।

आसन ग्रहण र भाषणले दिक्कलाग्दा कार्यक्रम हुने गरेकोमा कार्यक्रम सन्चालक मध्यपश्चिम स्रष्टा समा

जका सचिव विपी अस्तुले भने, ‘हामी आसन ग्रहणका नाममा हुने लम्बेतान औपचारिकतामा अल्झिँदनौँ ।’ कार्यक्रम पूरै कविमय भयो । डा. सरज भट्टराईमय भयो ।

मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको कविता वाचनको कार्यक्रम ‘काव्यगन्ज’मा कवि भट्टराईले आफ्ना चुनिएका कविता र गजल वाचन गरे ।

नेपालगन्जमा साहित्यिक कार्यक्रममा यति वृहत सहभागिता भएको दुर्लभ घटना भएको कार्यक्रममा सहभागी लेखक एवं राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले बताए । उनले निरजका शक्तिशाली कविता नेपालगन्जका सबै तप्का सुन्न पाउनु आफैमा खुसीको कुरा भएको बताए ।

डा. निरजका कविता सुनिसकेपछि सहभागीहरुले फरक स्वादका कविता सुन्न पाइएको प्रतिक्रिया दिए । कतिपय सहभागीहरुले वाचनमा निरजका गजलहरुले बढी प्रभावित पारेको बताए ।

डा. निरजका कवितामाथि समीक्षक राजकुमार बानियाँ र गजलमाथि खगेन्द्र गिरि ‘कोपिला’ले टिप्पणी गरेका थिए ।

बानियाँले निरजको धुवाँको धागो कविता संग्रह पहिलो र एकमात्र कविता संग्रह भएपनि त्यसले उनलाई दिइरहेको पहिचान उल्लेखनीय रहेको बताए । विशेषज्ञ चिकित्सक रहेका डा. निरजमा कविता सृजनाको पनि विशिष्ट प्रतिभा रहेको उनले बताए ।

उनले डा. निरज कण्ठाभन्दा माथि हुनेर आत्मानूभूतिका कविता लेख्ने कविको रुपमा रहेका बताए । गजलमाथि टिप्पणी गर्दै समीक्षक खगेन्द्र गिरी ‘कोपिला’ले डा. भट्टराईको ‘तलाश’ गजल संग्रह नेपाली मानक गजल संग्रह रहेको बताउँदै धेरै गजलकारहरुले उनको शैली पछ्याएको दाबी गरे ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले समाजले आगामी दिनहरुमा थप व्यवस्थित साहित्यक कार्यक्रमहरु गर्ने योजना रहेको बताएका छन् ।

‘काव्यगन्ज’ हरेक चार महिनामा एक पटक आयोजना गर्ने गरि तय गरिएको कार्यक्रम रहेको उनले बताए । यसलाई अब क्रम नटुट्ने गरी निरन्तरता दिइने उनले बताएका छन् ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २६ गते आइतबार