कोहलपुर– ४ का गाउँ ब्लकका नागरिकलाई लालपुर्जा वितरण



कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर ४ मा लालपुर्जा वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच वडा नम्बर ४ मा रहेका दुईवटा गाउँ ब्लकका एक सय एकजनालाई लालपुर्जा वितरण गरिएको हो । वडा नम्बर ४ अन्तर्गत रहेका गोहवा र बेलनपुर गाउँ क्लबका नागरिकलाई लालपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

ती नागरिकलाई नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी र वडा नम्बर ४ का अध्यक्ष मुबारक अलि गुजरले संयुक्तरुपमा लालपुर्जा वितरण गरेका थिए । यसअघि कोहलपुर नगरपालिकाले वडा नम्बर ३ मा समेत लालपुर्जा वितरण गरेको थियो । गत चैतमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वडा नम्बर–३ मा रहेका एक सय ८६ घरधुरीलाई लालपुर्जा विरतण गरेकी थिइन् ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले कोहलपुरमा रहेका भूमिहीन नागरिकलाई लालपुर्जा दिने अभियान सुरु भइसकेको बताए । उनका अनुसार केही वडामा काम सुरु भइसकेको छ । सम्पूर्णमा वडामा अभियान जारी रहनेछ ।

‘जग्गा नाप्ने काम पनि भइरहेको छ । अर्कातिर लालपुर्जा वितरण पनि गरिरहेका छौँ । रीतपूर्वक सम्पूर्ण लालपुर्जा नभएकाले पाउँछन् । हामी जनताको समस्या समाधान गर्ने अभियानमा लागिपरेका छौँ,’ उनले भने ।

लामो समयदेखि जग्गाविहीन अब जग्गाका मालिक भएको उपप्रमुख सुवेदीको भनाइ छ । आफूहरु जनताको समस्या समाधानका लागि निरन्तर लागिपरेको उनले बताइन् । वडाध्यक्ष गुजरले आफूले चुनावमा गरेको प्रतिबद्धतानुसार सरोकारवाला निकायसँग समन्वय गरेर लालपुर्जा वितरण गरिएको बताए ।

उनका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएका नागरिकलाई दिइएको हो । कोही पनि नागरिकलाई लालपुर्जाविहीन नबनाउने आफ्नो उद्देश्य रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २४ गते शुक्रबार