नेपालगन्ज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमा नेपालगन्जमा राप्रपाको एमालेसँग तालमेल हुनसक्ने संकेत गरेका छन् ।
नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लिङ्देनले एमालेसँग केही सिटहरुमा तालमेल गर्ने प्रयासस्वरूप संवाद भइरहेको बताए । उनले पत्रकारसामू भने, ‘तपाईँहरु आफैँले बुझ्नुहुन्छ कि पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री रहेको सिटहरु स्वभाविकरुपले सुरक्षित हुन्छन् ।’
उनले एमालेसँगको संवादमा देशलाई माया गर्ने राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आएर चुनावमा जानुपर्छ भन्ने टुंगोमा पुगे पनि सिट नै तोकेर कुनै निर्णय नभएको बताए । अध्यक्ष लिङ्देनले राप्रपाले कुनै पनि दलसँग आधारभूतरुपमा गठबन्धन नगर्ने पनि तर्क गरे । आवश्यकताअनुसार कुनै दलसँग सिटको आधारमा सहकार्य गरेर मात्र अगाडि बढ्न सक्ने उनको भनाइ थियो ।
उनले पछिल्लो समयमा मुलुकमा बैदेशिक हस्तक्षेप बढिरहेको जिकिर पनि गरे । सांसद पदबाट राजीनामा घोषणा गरे लगत्तै बर्दियामा पार्टीको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन आएका लिङ्देनले आफू अनैतिकतामा सामेल हुनका लागि सांसद पदबाट राजीनामा घोषणा गरेको बताए ।
उनले मंसिर गते ४ पछि पनि संसद् कायम राख्ने गरी ऐन संशोधनको प्रस्ताव ल्याइएको आपत्ति जनाउँदै ‘अति नै भयो, सांसद हुँ भन्न पनि लाज लागेपछि’ संसदमा गएर राजीनामा घोषणा गरेको बताए ।









प्रतिक्रिया दिनुहोस्