कवीन्द्र परियार । कोहलपुर ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ स्थित भक्ताखोला डाइभर्सन हुने निश्चित भएको छ । लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)को विशेष पहलमा नाला डाइभर्सन गरिने भएको हो । यहाँ बर्सेनि बाढी आएर खेतीयोग्य जमिन नष्ट हुन थालेपछि नाला डाइभर्सन गर्न स्थानीयले माग गरेका थिए ।
उक्त नाला डाइभर्सन गर्न प्रदेश सांसद नमुना, सिँचाइ डिभिजन कार्यालय नेपालगन्जका इञ्जिनियर कमल नेपालीसहित राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सोहनलाल थारु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवीसहितको टोलीले नालाको डाइभर्सन गर्न स्थलगत अनुगमन गरेको छ ।
स्थलगत अनुगमन पछि मिसन टुडेसँग कुरा गर्दै सांसद नमुनाले भक्ताखोलाका कारण ढकेरी क्षेत्रका तीन सय घरधुरी प्रभावित भएकोले खोला डाइभर्सनको काम सुरुवात गरिएको बताइन् ।

‘मैले स्थानीय चुनावमा यहाँस्थित चुकेनाला र भक्ताखोला डाइभर्सन गर्ने प्रतिबद्धता गरेकी थिएँ,’ उनले भनिन्, ‘त्यसै पनि कामको सुरुवात गरिएको छ । यो मेरो निर्वाचन क्षेत्र त होइन तर, म यहाँको बासिन्दा हो । जनप्रतिनिधि भएको कारण नाला डाइभर्सन गरेर यहाँका जनताले पाएको दुःखमा केही समस्या समाधान गर्ने प्रयास गरेकी छुँ । बजेट थोरै भए पनि कामको सुरुवात गरिएको छ ।’
भक्तानाला डाइभर्सनका लागि २५ लाख र चुकेनाला डाइभर्सनका लागि १० लाख रुपैयाँ छुट्याइएको सांसद नमुनाले बताइन् । भक्तानालालाई डाइभर्सन गरेर रिम्नामा खसाल्ने र चुकेनालालाई डाइभर्सन गरेर माथिल्लो बागेसाल खोलामा खसाल्ने विषयमा अनुगमन गरिएको थियो ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सोहनलाल थारुले वडाभित्र रहेका चुकेनाला र भक्ताखोलाका कारण स्थानीयको खेतीयोग्य जमिन कटान गरिरहेकाले दुवै नाला डाइभर्सन गर्नु पनि अति आवश्यक रहेको बताए ।

‘अहिलेको बजेटले दुवै नाला डाइभर्सन गर्न प्राप्त त नहोला तर, पनि सांसदज्यूले कामको सुरुवात गर्नुभएको छ,’ उनले भने, ‘अब नाला डाइभर्सन हुने कुरामा हामी विश्वस्त छौँ ।’ भक्ताखोलाका कारण साविक महादेवपुरी गाउँ विकास समिति (गाविस) वडा नम्बर ४ र ५ का बासिन्दा पीडित थिए भने चुकेनालाका कारण वडा नम्बर २ र ३ का बासिन्दा पीडित बनेका छन् । विशेष गरी चुकेनाला कटानका कारण थुप्रै खेतीयोग्य जमिन कटान भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्