करेन्टले उजाडियो एक परिवार



शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर–२ बर्दहवाका धर्मेन्द्र आचार्य, सधै झै शनिबार पनि ‘नाइट ड्युटी’ सकेर घर फर्किए । कोहलपुरको एक होटलमा काम गर्ने धर्मेन्द्र प्रत्येक दिन राति १० बजे घर जान्थे । दिनभरि काम सकेर घर जाँदा श्रीमतीले आफ्ना पति पर्खिरहेकी हुन्थिन् । छोराछोरी अभिभावकलाई ।

शनिबार भने नसोचेकै भयो, घरमा बत्ती बलेको थिएन । पूरै अँध्यारो र ढोकासमेत बन्द थियोे । तीनचारपटकसम्म बोलाउँदासमेत कसैले ढोका खोलेन । लामो समयसम्म ढोका नखुलेपछि उनी पछाडिपट्टि रहेको सुत्ने कोठाको झ्यालतिर गए । भित्र छोराछोरी सुतिरहेको देख्छन् धर्मेन्द्रले । त्यसपछि छोरीलाई बोलाए ।

बाहिरबाटै, मम्मी खै भनेर प्रश्न गरे । मम्मीलाई बोलाउन भने । बुवाको आग्रहपछि छोरी अर्को कोठामा गइन् । छोरी आत्तिँदै आएर बुवालाई भनिन्, ‘मम्मी तँ भुइँमा लड्नु भाछ ।’ छोरीले त्यति भनेपछि उनी उनकी श्रीमती लडिरहेको भनेको कोठातर्फ लागे ।

झ्यालबाट भित्र हेर्न खोज्दा सँगै रहेको जालीमा करेन्ट प्रवाह भइरहेको थाहा भयो । त्यतिबेलासम्म साढे १० बज्न लागिसकेको थियो । त्यतिबेला भने मर्धेन्द्रले घरमा केही अनिष्ट भएको आभास गरे ।

उनले छिटोछिटो मूल ढोका ढक्ढक्याए । बेस्सरी बजारेपछि ढोका खुल्यो । उनी बल्ल घरभित्र त गए । नभन्दै धर्मेन्द्रकी २५ वर्षीया श्रीमती प्रंशसा आचार्य भुइँमा लडिरहेकी थिइन् । घरमा रुवाबासी चल्यो । छिमेकीहरु आए । एकाएक आचार्यको घरमा सान्नाटा छायो । धर्मेन्द्रको जीवनमा कालो बाँदल मडारियो ।

छिमेकीले प्रहरीलाई फोन गरे । इलाका प्रहरी कार्यालयको टोली कृष्ण टोलस्थित घरमा गएर हेर्दा प्रंशसाले संसार छाडिसकेकी थिइन् । उनको भौतिक शरीर पल्टिरहेको थियो, चीर निन्द्रामा ।

घटनास्थलमै पुगेर फर्किएका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्ल भन्छन्, ‘झट्ट हेर्दा शरीरमा कतै ठूलो घाउँ देखिएन । दाहिने हाँत भने सुकेको थियो, करेन्टले नै होला, कडारुपमा सुकाएको जस्तो भएको छ ।’

पछि प्रहरीको टोलीले चारैतिर हेर्दा करेन्ट लिक (प्रवाह) हुने प्रशस्तै ठाउँ रहेको पत्ता लगाएको मल्लले बताए । घरमा वायरिङ गरेको तारहरु छरपस्ट रहेको प्रहरी निरीक्षक मल्ल बताउँछन् । पानी परेको बेला कतैबाट करेन्ट लिक भएर दुःखद् घटना घटेको हुन सक्ने उनले बताए ।

कोहलपुर प्रहरीका अनुसार मृतक प्रशंसाको शरीरका अन्य भागमा कुनै पनि चोट छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानले आचार्यको करेन्टकै कारण मृत्यु भएको देखाएको उनले बताए । उनको शव पोष्टमार्टमको लागि पठाइएको भन्दै रिर्पोटले थप कुरा खुल्ने उनले बताए ।

उनले घरमा विद्युत् बाल्दा बेवास्तासमेत नगर्न सुझाए । सानो मानवीय त्रुटिले आचार्यको सुन्दर परिवार उजाडिएको छ । धर्मेन्द्र कलकलाउँदो उमेरमा बिदूर भएका छन् । साना छोराछोरीले अनाहकमा मातृत्व गुमाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २८ गते शनिबार