
संघीयतासहितको संविधान जारी भएपछिको दोस्रो र बहुदलीय निर्वाचनको इतिहासअनुसार आठौँ निर्वाचन मंसिरमा हुँदै छ । निर्वाचनको मिति घोषणा गरिएसँगै आकांक्षी केन्द्रीय नेताहरुसँग टिकट माग गर्न काठमाडौं ओइरिन थालेका छन् । बाँकेमा राजनीतिक हलचल सुरु भएको छ । त्यो हलचल बाँकेका सन्दर्भमा बाँके क्षेत्र नम्बर २ मा अन्यत्रभन्दा बढी छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालमा हालसम्म भएका सातवटा बहुदलीय निर्वाचनमध्ये नेपालगन्ज समेटिएको अलग्गै निर्वाचन क्षेत्र तोकेर ६ वटा निर्वाचन भए । ती ६ वटा निर्वाचनमध्ये तीनवटा निर्वाचनमा नेपालगन्ज समेटिएको निर्वाचन क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको छ ।
बाँकेलाई एउटा मात्रै निर्वाचन क्षेत्र तोकिएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०१५ मा पनि कांग्रेसकै उम्मेदवार ललित चन्द निर्वाचित भएका थिए । बाँकी तीनवटा निर्वाचनमध्ये दुईवटामा मधेसी जनअधिकार फोरम र एउटा निर्वाचनमा राप्रपाले जित हासिल गरेको थियो । कांग्रेसबाट सुशिल कोइरालाले तीनपटक बाँकेबाट निर्वाचन जितेका थिए ।
अब संघीयतासहितको संविधान जारी भएपछिको दोस्रो र बहुदलीय निर्वाचनको इतिहासअनुसार आठौँ निर्वाचन मंसिरमा हुँदै छ । निर्वाचनको मिति घोषणा गरिएसँगै आकांक्षी केन्द्रीय नेताहरुसँग टिकट माग गर्न काठमाडौं ओइरिन थालेका छन् । बाँकेमा राजनीतिक हलचल सुरु भएको छ । त्यो हलचल बाँकेका सन्दर्भमा बाँके क्षेत्र नम्बर २ मा अन्यत्रभन्दा बढी छ ।
क्षेत्र नम्बर २ मा हलचल बढी हुनुको कारण कांग्रेस र अहिले यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रहेको दल जनता समाजवादी पार्टीसहितको गठबन्धन हो । गठबन्धनको गाँठो बाँकेमा यही निर्वाचन क्षेत्रमा कमजोर हुने सम्भावना अधिक छ ।
हाल बहालवाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रतिनिधिसभा सदस्य एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता मोहम्मद ईश्तियाक राईले यसै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने आकांक्षा देखाएका छन् । गठबन्धनको मुख्य साझेदार कांग्रेसभित्र यसपटक आफ्नो विरासत बोकेको यो क्षेत्र अरुलाई दिन नहुने मत बलियो छ । कतिपय नेताहरुले केन्द्रमा गठबन्धन हुने निर्णय गरेसँगै चिन्ता जनाएर आफ्ना धारणा सार्वजनिक गर्न थालेका छन् ।
कांग्रेस नेतृ एवम् नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उपमेयर उमा थापा मगरले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘बाँके जिल्ला नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाज्यूको जिल्ला हो । बाँके जिल्लाको क्षेत्र नम्बर २ स्वर्गीय कोइरालाको निर्वाचन क्षेत्र हो । तसर्थ यो निर्वाचन क्षेत्र नेपाली कांग्रेसले गठबन्धनको नाममा छोड्यो भने त्याग, निष्ठा र ईमान्दारिताको उच्च आदर्श आदरणीय कोइरालाको योगदान र सम्मानमा घात हुनेछ ।’
यसैगरी नेपाली कांग्रेसका युवा नेता एवम् पर्यटन व्यवसायी श्रीराम सिग्देलले क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा नै गरेका छन् । उनले ट्विटरबाट आफूले उम्मेदवारी दिने बताएका हुन् । उनले पनि क्षेत्र नम्बर दुई कांग्रेसको अखडा भएको उल्लेख गर्दै लेखेका छन्, ‘बाँके २ नेपाली कांग्रेसको आखडा हो । तत्कालीन सभापति÷पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र पनि हो । यो क्षेत्रमा कांग्रेसलाई सुरक्षित गरियोस् भन्ने हो ।’
नेपाली कांग्रेसका सभापति नारायण गौडेल पनि बाँकेमा क्षेत्र नम्बर २ मात्रै नभइ सबै निर्वाचन क्षेत्रमा कांग्रेसको पकड बलियो रहेको बताउँछन् । अहिलेको अवस्थामा बाँकेका कुनै पनि क्षेत्र कांग्रेसले छोड्न नसक्ने उनले बताए । बाँके क्षेत्र नम्बर २ मा कांग्रेसले दाबी गर्नुका पछाडी स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसको पक्षमा धेरै मत रहेकोलाई आधार मान्नुपर्ने पनि कांग्रेसका नेताहरु बताउँछन् ।
यस क्षेत्रमा पर्ने डुुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । नेपालगन्जमा गठबन्धन गरिए पनि डुडुवामा गठबन्धन पनि गरिएको थिएन ।
कांग्रेसले क्षेत्र नम्बर २ मा दाबी नछोडेमा गठबन्धनको मुख्य दल जनता समाजवादी पार्टी पनि पछि हट्ने मनस्थितिमा छैन । जसपाका नेता कार्यकर्ताहरु अहिले मन्त्री राईको लोकप्रियता उच्च रहेकोले उनको विकल्प नभएको बताउँछन् । मन्त्री राईले आफ्नो प्रतिस्पर्धीका रुपमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई केन्द्रित गर्दै आएका छन् । राप्रपाबाट डा. राणा एकमात्र विकल्पका रुपमा छन् । जसपाका नेता कार्यकर्ताहरु यसपटक राईले क्षेत्र नम्बर २ छोड्ने कुनै गुञ्जायस नरहेको बताउँछन् । जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्माले मन्त्री राईले क्षेत्र नम्बर २ बाटै निर्वाचन लड्ने निश्चित भइसकेको बताए । केन्द्रको निर्णय मानेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।
यदि क्षेत्र नम्बर २ कांग्रेसले नपाएमा कांग्रेसभित्र विद्रोही उम्मेदवारहरु निस्कने कांग्रेस सम्बद्धहरु बताउँछन् । कांग्रेसभित्र आकांक्षीहरुको संख्या पनि उच्च छ । कतिपय नेताहरु गठबन्धनका कारण अलमलमा पनि रहेको बुझिएको छ ।
यद्दपि क्षेत्र नम्बर दुईमा पूर्व पार्टी सभापति किरण कोइरालादेखि सुरेन्द्र हमाल, गजेन्द्र हमाल, निरञ्जसिंह सिजापतिलगायतको दाबी रहेको बुझिएको छ । क्षेत्र नम्बर दुईमा कांग्रेसको असन्तुष्टि जति रहे पनि अन्तमा बाँकेको क्षेत्र नम्बर १ माओवादीलाई, २ जसपालाई र ३ कांग्रेसलाई भाग पर्ने आँकलन गरिएको छ । कांग्रेसलाई फकाउन क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा क्षेत्र कांग्रेसका उम्मेदवारलाई दिने विकल्पमा सहमति हुनसक्ने बताइएको छ ।
कांग्रेस स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट जिल्ला सभापति नारायण गौडेल र क्षेत्रीय सभापति पोषण केसी मुख्य आकांक्षीका रुपमा रहेका छन् भने क्षेत्र नम्बर ३ मा बादशाह कुर्मी, लक्ष्मीनारायण शाह र मेघराज ओली आकांक्षीका रुपमा रहेका छन् ।
माओवादीबाट क्षेत्र नम्बर १ मा वर्तमान युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) मुख्य दाबेदारका रुपमा रहेका बुझिएको छ ।
एमाले बाँके चुनावी अभियानमा
नेकपा एमालेभित्र पनि आकांक्षीको करिब टुंगो लागिसकेको स्रोतले बताएको छ । जसअनुसार क्षेत्र नम्बर १ मा सूर्य ढकाल र देवराज भार, क्षेत्र नम्बर २ मा कृष्णप्रसाद श्रेष्ठ र मोहम्मद हारुन एवम् क्षेत्र नम्बर ३ मा किस्मत कक्षपति, रत्न खत्री र भीम ओलीको नाम छलफलमा रहेको बताइएको छ । यीनैमध्येबाट प्रदेशसभाका पनि उम्मेदवारको टुंगो लगाइने बताइएको छ ।
एमालेले चुनाव लक्षित कार्यक्रम पनि अघि बढाउने भएको छ । साउन ३१ गते अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको पार्टी जिल्ला सचिव रत्न खत्रीले जानकारी दिए । उनले अब एमाले चुनाव लक्षित गतिविधिमा जोडतोडका साथ अघि बढ्न लागेको बताए ।









प्रतिक्रिया दिनुहोस्