दाजुभाउजुकै योजनामा भाइबुहारीको विभत्स हत्या



कृष्ण ओली । बाँके ।

कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मृत भेटिएका एक दम्पतीको दाजुभाउजुकै योजनामा हत्या भएको खुलेको छ । मंगलबार बिहानै घरमा हत्या गरिएको अवस्थामा भेटिएका दम्पतीको घरायासी विवादका कारण हत्या गरिएको खुलेको हो ।

पार्वतीपुरमा रहेको आफ्नै घरमा २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जलीको हत्या भएको थियो । दम्पतीको हत्यामा आफ्नै सहोदर दाजुभाउजुको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

दम्पती हत्याको योजना बनाएको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले मृतक कृष्णका दाजु विजय र भाउजु रेखालाई पक्राउ गरेको छ । ‘बुवाले आफूलाई कम र भाईलाई धेरै माया गर्ने गरेको पाएपछि दाजु विजयले उनको हत्याको योजना बनाएको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘केही महिना अगाडिसमेत बुहारी अञ्जली उस्काएर विजयलाई बुवा र भाईले कुटपिट गरेका रहेछन् ।’

त्यसपछि विजय र रेखाले भाईबुहारी अञ्जलीको हत्याका लागि करिब १८/२० दिनअघि योजना बनाएका थिए । ‘सुरुमा बुहारी अञ्जलीको मात्र हत्याको योजना बनाएको अनुसन्धानबाट देखिन्छ,’ उनले भने, ‘हत्याका लागि भारतीय दुईजनालाई ५०/५० हजार रुपैयाँको दरले एक लाख रुपैयाँ सुपारी दिएको देखिन्छ ।’

हत्यामा संलग्न भारतीय ‘किलर’लाई केही नेपालीहरुले समेत साथ दिएको हुनसक्ने अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । ‘हत्याका लागि भारतीयलाई सुपारी दिएको त अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘घटनामा अन्य नेपालीहरुले समेत साथ दिएको हुनसक्छ । हामीले त्यसतर्फ समेत अनुसन्धान बढाएका छौं ।’ सामान्य घरायासी झगडा हत्यासम्म पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपाने बताए ।

‘सामान्य घरायासी झगडाले दम्पतीको ज्यान लिएको देखिन्छ,’ उनले भने, ‘घरकै मान्छेको योजनामा घरकै मान्छेको हत्या भएको हो । यसका अन्य पाटाहरु थप अनुसन्धानबाट खुल्दै जालान् ।’ मंगलबार बिहानै दम्पतीको हत्या भएको भन्दै हत्या योजना बनाएको आरोपमा पक्राउ परेकी रेखाले नै स्थानीय गुहारेकी थिइन् ।

स्थानीयबाटै बिहानै कोहलपुर प्रहरीले दम्पती मृत फेला परेको खबर पाएको थियो । सुरुमा मृतकका दाजु भाउजुले आफूहरु रातिको समयमा गर्मी भएका कारणले छतमा सुतेकाले केही थाहा नपाएको बताएका थिए ।

प्रहरीले घटनालाई गम्भीररुपमा लिँदै घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । घटनाको अनुसन्धानका लागि बाँकेका एसपी श्यामकृष्ण अधिकारी, डिएसपी मधुसुदन न्यौपाने, कोहलपुरका डिएसपी ऐनबहादुर मल्ललगायतका प्रहरी अधिकारीहरु आफैँ जुटेका थिए ।

हत्याका योजनाकार दाजु भाउजु पक्राउ परे पनि अन्य संलग्नहरुको खोजी भइरहेको कोहलपुरका डिएसपी मल्लले जानकारी दिए । ‘योजनाकार पक्राउ परे पनि अन्यको खोजी भइरहेको छ,’ उनले मिसन टुडेसँग भने, ‘टोली परिचालन भइसकेको छ ।

केही दिनमै थप आरोपितहरु पक्राउ पर्छन् ।’ घटनास्थलमा एक थान गोलीको खोकासमेत फेला परेकाले प्रहरीले सुक्ष्मरुपमा थप अनुसन्धान अगाडि बढाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ११ गते बुधबार