‘बुह्रान’ लेखिरहँदा दबाबको महसुस भयो



मूलतः गजलकार एवम् मुक्तककारको रुपमा परिचित महानन्द ढकाल उपन्यासकारको रुपमा पाठकमाझ आउन लागेका छन् । पाठकमाझ उनका केही फुटकर कथा नपुगेका होइनन् । तर केही दिनमै प्रकाशनमा आउन लागेको उपन्यास ‘बुह्रान’मार्फत ढकालको आख्यानमा ‘डेब्यु’ हुन लागेको अर्थमा हेरिएको छ । एक शिक्षकका रुपमा लामो अनुभव हासिल गरेका एवम् मुक्तक र गजलमार्फत समाजका कुराहरु सशक्तरुपमा मुखरित गर्न अभ्यस्त भएका ढकालको प्रकाशोन्मुख उपन्यासले उनको लेखन क्षमताको असली परिचय दिने साहित्यिक वृत्तमा चर्चा छ । ढकाल आफैँ पनि प्रकाशोन्मुख उपन्यासले आफूलाई चुनौतीभन्दा अवसर बढी ल्याउने दाबी गर्छन् । कविताबाट आफ्नो साहित्य यात्रा सुरु भएको बताउने ढकालसँग उपन्यासकारमा परिणत हुँदै गरेको समयको पूर्वसन्ध्यामा मिसन टुडेका लागि वीपी अस्तुले गरेको कुराकानीको सम्पादित अंश:

साहित्य यात्राको सुरुवात कविताबाट भयो भन्नुभयो । तर, तपाईंलाई गजल र मुक्तकले साहित्यकारको परिचित दिलाए । कवितालाई छोड्नुभएको कि कविताले छोडेको ?

मैले कविताबाट लेख्न सुरु गरेको हो । कविताको संग्रह पनि तयार भएको थियो । टाइप गर्न दिइसकेको थिएँ । त्यसमा पद्य र गद्य दुवैखाले कविता थिए । पद्यमा केही कुरा नमिलेको भन्ने कुरा आयो । त्यसपछि त्यो संग्रह त्यतिकै अलपत्र प¥यो । त्यहीबेला गजलको माहोल सुरु भयो । गजल लेख्न थालेपछि कविताभन्दा गजल धेरै भए । गजल त्यतिबेला नयाँ विधा पनि थियो । यो क्षेत्रबाट त्यतिबेला केही गजल संग्रहमात्रै आएका थिए । त्यही भएर मैले गजल संग्रह नै निकाल्ने निर्णय गरेँ । पछि मुक्तक र गजलले नै मलाई तान्दै ल्याए । यीनैले मलाई अहिलेको परिचय दिलाए ।

तपाईं आख्यानमा त्यति अभ्यस्त भएको थाहा पाइएन । तर, अब सिधै उपन्यासकारकै रुपमा पाठकमाझ आउँदै हुनुहुन्छ । सजिलो रहेछ आख्यान लेख्न ?

मैले कथामा कलम चलाउँदै नचलाएको होइन । किनभने २०५८ मै पनि एउटा कथा प्रकाशित भएको थियो । तर, बीचमा मुक्तक, गजल र हाइकुजस्ता छोटा आकारका विधामा बढी कलम चलाए ।

यसबीचमा मैले पूर्णिमाको सम्पादन गर्नेक्रममा पनि कथाहरुको सम्पादन गरेँ । त्यतिमात्रै होइन ‘आँखा र आँखाहरु’ पूरै सम्पादन मैले गरेँ । यसले बिस्तारै कथामा रस बढ्यो । कथा लेख्न सकिन्छ भन्ने लाग्दै आयो । आखिर जे भए पनि त्यो साहित्यकै र पढ्दै आइरहेकै विधाकै कुरा थियो ।

आख्यान लेख्न सजिलो पक्कै छैन । गजल लेख्न छोटो समय भए पनि हुन्छ । तर आख्यानका लागि धैर्यता चाहिन्छ । यो उपन्यास लेख्न पनि डेढ वर्ष लाग्यो । लकडाउन सुरु भएदेखि नै मैले यस विषयमा खोजबिनदेखि लिएर अध्ययन र पात्रहरुको खोजी सुरु गरेको थिएँ ।

अर्काेतिर सजिलो के रहेछ भने खुलेर लेख्न सकिने र विषयलाई आवश्यकताअनुसार तन्काउन सजिने सुविधा हुन्छ । आफूले चाहेको विषयलाई नछुट्ने गरी पस्किन आख्यान सही विधा हो जस्तो लाग्छ ।

‘बुह्रान’ उपन्यास थारु र पहाडी समुदायको अन्तर्घुलन एवम् थारु समुदायपछि पर्नुको कारणमा केन्द्रित रहेको भन्ने सुन्नमा आएको छ । यो विषय रोज्नुका पछाडि कुनै उल्लेखनीय सन्दर्भ छ ?May be an image of book and text

म करिब १०, १२ वर्षको उमेरदेखि एसएलसी दिने बेलासम्म थारु समुदायमै हुर्किएको हुँ । मेरा धेरै बालसखाहरु थारु समुदायकै थिए । त्यतिबेला पनि कतिपय कुराहरु अनौठा लाग्थे । त्यतिबेला अनौठा लागे पनि त्यसलाई अनुभूतिमा ढालेर लेख्न सकिएन व जानिएन । जब त्यहाँबाट टाढा भएँ ती सम्झनाहरु महŒवपूर्ण लाग्न थाले ।

फेरि जागिरको शिलशिलामा सरुवा भएर थारु बस्तीमा पुगेँ । त्यसपछि मैले बालापनमा देखेको एक थारु समुदायको परिवार र म जागिरे भइसक्दाको उक्त परिवारको जीवनस्तरमा कुनै परिवर्तन आएको देख्न पाइनँ । त्यसले पुनः मलाई थारु समुदायका कुराहरु साहित्यमा आउनुपर्छ भन्ने महसुस गरायो ।

मैले पढ्ने क्रममा पनि थारु समुदायका विषयहरुको खोजी गर्न थालेँ । तर थारु समुदायका कुराहरु अरु समुदायका तुलनामा कम आएको जस्तो लाग्यो । त्यसपछि यसलाई आफैँ किन नलेख्ने भन्ने महसुस भयो ।

पछिल्लो समय अधिकारका आन्दोलनका बाछिटाका रुपमा मिलेर बसेको थारु र पहाडी समुदायको अन्तर्घुलित सम्बन्धमा फाटो आएको देखियो । यसले मलाई थप सोचमग्न बनायो ।

एकले अर्कालाई दोष लगाउनुभन्दा सहकार्यको भावनाको प्रवद्र्धन गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि थारु समुदायसँग जोडिएको पहाडी समुदायको कुरा पनि सँगै लेख्नुपर्छ कि भन्ने लागेर मैले त्यहीअनुसार कथावस्तु र पात्रहरुको खोजी गर्न थालेँ ।

तपाईंले बालापनमा अनुभूति गरेको थारु समुदाय र उपन्यास लेखकका रुपमा थारु समुदायलाई हेर्न जाँदा परिवर्तनको केही अनुभूति गर्नुभएन ?

आमरुपमा कुनै परिवर्तन छैन । केही परिवार र वर्गका मानिसहरुमा परिवर्तन आएको छ । संस्कार र संस्कृतिको निरन्तरतामा विचलन आएको छ । केही संस्कृतिहरु चाडबाडमा मात्रै सीमित भएका छन् । नछोड्नपर्ने कुरा छोडिएको छ । छोड्नै पर्ने कुरा छोडिएको छैन । आफैँभित्र अन्तद्वन्द्व छ जस्तो लाग्छ ।

पहिचान खोजिरहेको समुदायका कुरा लेख्दा उनीहरुको आत्मसम्मान र भावनाविपरीत भइन्छ कि भनेर उक्त समुदायभन्दा बाहिरको लेखक हुनुको नाताले आफैँभित्र केही दबाबको महसुस गर्नुभयो ?

एकदमै । मलाई धेरै दबाब महसुस भयो । त्यो दबाबको महसुस अहिले पनि भइरहेको छ । हुन त मैले पुस्तकको पाण्डुलिपी धेरै थारु समुदायका साथीहरुलाई पनि पढ्न दिएको छुँ । उहाँहरुको प्रतिक्रिया ग्रहण गरेको छुँ । एक चरणको सम्पादनको काम थारु समुदायकै साथीले गरिदिनुभएको छ । म आफैँ थारु समुदायमा रहेको विद्यालयको शिक्षकका रुपमा कार्यरत छुँ । उनीहरुसँग नजिकको सम्बन्धमै छुँ ।

तैपनि मैले भन्न खोजेको कुरा र आम पाठकहरुको बुझाइ मिलेन भने कतै उहाँहरुको आत्मसम्मानमा ठेस पुगेको महसुस हुने हो कि भन्ने एक किसिमको चिन्ता लागिरहेको छ । कतिपय साथीहरुले के पनि भनिराख्नुभएको छ भने एक गैरथारु समुदायको लेखकले थारु समुदायका कुरा लेखिरहेको छ, ‘बुह्रान’ शब्दको मर्मलाई न्याय गर्न सक्दैन कि भन्ने आशंका पनि व्यक्त भइरहेको पाउँछु ।

तर मलाई के विश्वास छ भने मैले आफूले बुझेको कुरा मात्रै नभइ त्यही समुदायका व्यक्तिको दृष्टिकोणलाई सापटी लिएर लेखेकोले पनि मलाई त्यस्तो चित्त दुख्ने कुरा केही लेखेको जस्तो लाग्दैन । सकेसम्म विषयलाई न्याय गरेको छुँ ।

आख्यानमा अहिले फरक शैली वा विषयवस्तुको अपेक्षा गरिन्छ । बुह्रानमा त्यस्तो केही दिन खोज्नुभएको छ ?

आख्यानमा शैलीको कुरा गर्दा शोली वा बेलना आकारको कुरा आउँछ । धेरै विषयवस्तुलाई केन्द्रित गर्दै एउटा निचोडमूलक विषयमा पुग्ने वा विषयलाई सिधा रेखामा बगाउँदै लैजाने भन्ने शैलीको रुपमा लिने गरिएको छ ।

मैले उपन्यास यी दुवै शैली मिलाएर लेखेको जस्तो लाग्छ । पाण्डुलिपी पढ्ने केही साथीहरुले नियात्रा शैलीको स्वाद आयो पनि भन्नुभएको छ । यो कुरा पाठक र समालोचकले कसरी लिन्छन् भन्नेमा भर पर्छ । मैले एकदमै फरक शैली ल्याएको छु भन्न सक्दिनँ ।

विषयवस्तुको विषयमा भने मैले नयाँ विषयवस्तु उठाएको छु भन्ने लाग्छ । लेख्नैपर्ने विषयको उठान गरेको छु भन्ने मेरो ठम्याइ हो ।

तपाईंले उपन्यास उठाउनुभएको भूगोलको कथामा आञ्चलिकताको प्रयोग गर्ने अवसर पाउनभएको थियो । कतिको उपयोग गरियो जस्तो लाग्छ ?

मैले भ्याएको प्रयास गरेको छुँ । पात्र, संवादको भाषा र लवज, भेषभुषा र संस्कृतिको वर्णन र परिवेशमा तपाईंले आञ्चलिकताको महसुस गर्न पाउनुहुन्छ । पाठक सकेसम्म थारु गाउँमै पुगेको महसुस गरोस् भन्ने मेरो पर्यन्त छ । कतिको सफल भएको छु आम पाठकले निसाफ गर्नु नै हुनेछ ।

एउटा विधामा परिचित भइसकेको लेखक अर्काे फरक विधाबाट पाठकमाझ आइरहँदा जोखिम महसुस गरिरख्नुभएको छ कि अवसर ?
मलाई के लाग्छ भने विधा रोज्ने कुरा विषयले माग गर्ने हो । कुन विषय कुन विधामा अभिव्यक्त गर्दा सहजताका साथ र न्यायपूर्ण तरिकाले गर्न सकिन्छ भन्ने छनोट गरेर लेख्ने हो ।

त्यस हिसाबले मैले अहिले रोजेको विषय आख्यानमै सुहाउँथ्यो । मैले त्यसका लागि आफ्नो इमान्दार प्रयास गरेको छुँ । मैले यतिबेला लेखकका रुपमा जोखिमभन्दा बढी अवसर महसुस गरिराखेको छुँ । किनकी मैले आफ्नो लेखनकलाको एक अर्काे परीक्षण र एक अर्काे पाइला सार्न गइरहेको छुँ ।

अब बुह्रान फेसबुकको भित्ताबाट पाठकका हातमा कहिले आइपुग्ला ?

प्रकाशकले उपन्यासको अनुहार सार्वजनिक गरिसकेको छ । अहिलेको प्रसिद्ध प्रकाशन गृह सांग्रिलालाई म धन्यवाद पनि भन्न चाहन्छुँ । अब साउन महिनाभित्रै पुस्तक पाठकमा समर्पित भइसक्ने खबर पाएको छुँ । केही दिनमै विमोचनको दिन पनि सार्वजनिक हुन्छ । पहिले काठमाडौंमा विमोचन गरेर त्यसपछि यहाँ परिचर्चाको कार्यक्रम पनि आयोजना गरिनेछ ।

पाठकहरुलाई केही भन्नु छ ?

सबै पाठकज्यूहरुलाई मैले नयाँ विषयवस्तुमा उपन्यास लेखेको ठानेको छुँ । सबै तह र तप्काका पाठकहरुलाई पढ्न आनन्द आउनेगरी लेखेको छु भन्ने मलाई लागेको छ । तपाईंहरुले पढेर यसलाई मूल्यांकन गर्ने हो । प्रतीक्षामा रहनुहोला । पढेर लागेको कुरा भनिदिनुहोला । यही भन्न चाहन्छुँ । हवस् त । उपन्यासकारका रुपमा यहाँलाई अग्रिम स्वागत, बधाई तथा शुभकामना धन्यवाद ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ८ गते आइतबार