कोहलपुरका वडामा लालपुर्जा वितरणको तयारी



कविन्द्र परियार । कोहलपुर ।

कोहलपुर नगरपालिकाका वडा सरकार भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा दिलाउन सक्रिय हुन थालेका छन् । लामो समयदेखि भूमिहीन अवस्थामा बसोबास गरिरहेका नागरिकहरुलाई लालपूर्जा दिलाउन वडा सरकार सक्रिय भएका हुन् । कोहलपुरका १५ वटा वडामध्ये कोहलपुर–१० ले वडामा रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया अघि बढाएको छ ।

वडा कार्यालयले एक सूचना जारी गर्दै वडामा लालपुर्जा पाउनको लागि फाराम भरेका मध्ये ३० जना भूमिहीन दलित तथा सुकुम्बासीबारे दाबी गर्न आह्वान गरेको छ । उनीहरुको विरुद्धमा केही गुनासा भए दाबी विरोध गर्न सात दिने सूचना जारी गरेको हो । यसअघि कोहलपुर–२ र ३ ले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेका थिए ।

गत चैत्रमा कोहलपुर नगरपालिका–३ का गाउँब्लकमा रहेका १८६ घरधुरीलाई लालपुर्जा वितरण गरिएको थियो । गाउँब्लकमा रहेकालाई नेपाल सरकार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गरेकी थिइन् । स्थानीय तह निर्वाचनपछि नयाँ आएका जनप्रतिनिधिहरुले समेत कोहलपुर–२ मा गाउँब्लकमा रहेकालाई लालपुर्जा वितरण गरेका थिए ।

२ असारमा गाउँब्लकमा रहेका ६६ घर परिवारलाई जग्गाको धनीपुर्जा (लालपुर्जा) वितरण गरिएको थियो । वडा नम्बर १० की वडाध्यक्ष गौराकुमारी अधिकारी (भट्टराई)ले निर्वाचनमा जनतामाँझ गरिएको बाचा अनुसार नै लालपुर्जा वितरण गर्ने प्रक्रिया थालेको बताइन् ।

लालपुर्जा वितरण गर्ने प्रक्रियाअनुसार भूमिहीन दलित तथा सुकुम्बासीलाई अव्यवस्थित बसोबासी सेवा केन्द्र कोहलपुरद्धारा प्रकाशित फारम भरेका वडाबासी भूमिहीन दलित तथा सुकुम्बासीहरुको दाबी विरोध सूचना प्रकाशित गरी काम अगाडि बढिरहेको बताइन् । ‘लालपुर्जा वितरण गर्ने प्रत्रिया सुरु भएको छ । अब प्रक्रिया अनुसार अघि बढ्छौँ ।

वर्षौदेखि भूमिहीन अवस्थामा बसेकाहरुले लालपुर्जा पाउँछन् ।’, उनले भनिन् । अन्य विषयमा अमिनहरुसँग पनि छलफल गरिने उनको भनाइ छ । जिल्ला सुकुम्बासी समाधान समिति बाँकेमार्फत वडाबाट फारम भरेकाहरुको सूचना प्रकाशित गरिएको बताउँछन् । जिल्ला समितिको निर्देशनअनुसार वडाले प्रक्रिया अघि बढाएको उनले बताइन् ।

यता, सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति बाँकेकी सदस्य मिना ढुङ्गाना सिग्देल वडाहरुले सूचना प्रकाशित भइसकेपछि छानबिन गरी पालिकामा पठाउने र पालिकाले जिल्ला समितिमा पठाउने बताइन् ।

उनका अनुसार समितिमा पठाइसकेपछि नापी लगायतका काम सुरु हुन्छ । समितिले प्रदेश र संघको निर्वाचनअघि नै भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण तयारी गरिरहेको बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ७ गते शनिबार