शिवु खनाल । दाङ ।
सीमा सुरक्षा तथा व्यवस्थापनका सन्दर्भमा नेपाल भारतका सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको छ । जिल्लाका सुरक्षा अधिकारीको बैठक दाङको कोइलाबास नाकामा सम्पन्न भएको हो । बैठकमा नेपाल भारत सीमा क्षेत्रका दुबै देशका प्रहरी र प्रशासनसँग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुको उपस्थिती रहेको थियो ।
सुरक्षा समन्वय बैठकमा दुबै पक्षबाट सीमानामा हालको अवस्था र समन्वय तथा सुरक्षाका बारेमा छलफल भएको थियो । जुनसुकै बेलामा पनि सीमानामा कडा सुरक्षा गर्नुका साथै कुनै पनि प्रकारको अवैध घुसपैठ रोक्न दुबै देशका सुरक्षा अधिकारीहरु सहमत भएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
उनका अनुसार बैठकमा सीमा सुरक्षामा दुई देशबीच आपसी समन्वयमा जोड दिइएको थियो । ‘सुरक्षा बैठकमा नेपाल भारत सीमा क्षेत्रका जनताबीच सुमधुर सम्बन्ध निरन्तर कायम राख्ने विषयमा सघन रुपमा छलफल भयो’ उनले भने, ‘सीमा क्षेत्रमा बढ्दो अपराध नियन्त्रणका लागि समन्वय र सहकार्यको खाँचो रहेको औल्याइएको थियो ।’ लागुऔषध तथा अवैध ओसार–पसार, मानव बेचबिखन, सीमा क्षेत्रमा एक अर्को राष्ट्रप्रति गर्न सक्ने अबाञ्छित क्रियाकलाप मिलेर रोक्नुपर्ने सहमती भएको छ ।
सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढ तुल्याउँदै समन्वयका क्षेत्र पहिचान गरी कार्यान्वयनमा सहजता ल्याउने उद्देश्यका साथ सीमा सुरक्षा सम्बन्धी नेपाल भारत सुरक्षा निकायबीच बृहत छलफल भएको प्रजिअ रेग्मीले बताए । उनले जस्तोसुकै विकराल र जटिल समस्या भएपनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको औँल्याए ।
सीमा सुरक्षा तथा व्यवस्थापनको पक्षबाट समग्र राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि नेपाल सरकारका सम्बद्ध निकायबीच पारस्परिक समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा सीमा व्यवस्थापन, वर्तमान अवस्था र भावी कार्य दिशा, नेपालको सीमा विवाद समाधानका लागि भइरहेको कूटनीतिक पहल र आगामी कार्य योजना, नेपालको अन्तर्राष्ट्रिय सीमानाको सीमांकन सम्बन्धी प्राविधिक पक्ष लगायत विषयमा प्रस्तुतीकरण भएको थियो ।









प्रतिक्रिया दिनुहोस्