शुभाकर विश्वकर्मा । कोहलपुर ।
सुर्खेतकी खुमा थापा श्रीमान्सहित बिहीबार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगिन् । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालसम्म पुगेकी उनी एकछिन् अगमगीइन् । उनी पुग्दा अस्पतालको वातावरण असामान्य थियो । हतियारसहित प्रहरी थिए । उपचारमा आएका अन्य व्यक्ति पनि सशंकित देखिनथ्ये । जे होस् उनीहरु डरैडर अस्पतालभित्र गए ।
काउन्टरमा नाम लेखाए, बिलको पैसा तिरे । श्रीमतीकोे सिटी स्क्यानको पर्जा समातेका खुमाका श्रीमान् अर्का व्यक्तिलाई सोध्दै थिए, ‘सर प्रहरी किन आएको रै’छ ?’ ती व्यक्तिले सुरक्षाकर्मी परिचालन गर्नुको कारण बताए । उनले प्रतिप्रश्न गरे, ‘डाक्टर आउँदैनन् त्यसो भए ?’, होइन केही समयपछि आउनुहोला उनले उत्तर दिए । त्यति सुनेपछि उनी बेञ्चमा टुसुक्क बसे । मन शान्त छैन ।
बिहीबार बिहान १० बजे मिसनकर्मी मेडिकल कलेजमा पुग्दा देखिएको दृष्य हो, यो । मेडिकल कलेजको मुख्य गेटमा नेपाल प्रहरीको करिब एक दर्जन जत्था हतियारसहित परिचालन थियो, त्यतिमात्रै होइन भुइँतलाबाट दोस्रो तला जाने तलाको बाटोमा पनि लहरै हतियारसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित थिए ।
बिहानको समय भएर होला, यहाँ उपचारका लागि आउने मानिसहरुको भीड निकै थियो, माहोल अरु बेलाको भन्दा भिन्न देखिन्थ्यो । सुरक्षाकर्मी परिचालन भएको दोस्रो तलामा बुधबार भएको मृत्यु प्रकरणको सम्बन्धमा पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेको थियो ।
बुधबार बेलुका नेपालगन्ज मेडिकल कलेज कोहलपुरको भे१क १२५ नम्बरको बसले ठक्कर कोहलपुर ११ एनटिभी चोकका ६० वर्षीय रामबहादुर थापाको मृत्यु भएको थियो । त्यस कारण, बिहानैदेखि सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालित थिए । पछिल्लो एक हप्तामा मात्रै मेडिकल कलेजमा यसरी बिरामीलाई मनोवैज्ञानिकरुपमा असर नै पर्नेगरी हतियारसहित सुरक्षाकर्मी परिचालन गरिएको यो दोस्रोपटक हो ।
असार २५ गते पनि राप्तीसोनारी–९ की धनसरा सुवेदीको मृत्यु भएपछि सुरक्षाकर्मीले मृतकका आफन्तलाई धरकपड गरेको थियो । चिकित्सको लापरबाहीका कारण सुत्केरी महिलाको अकालमा ज्यान गएको भन्दै आफन्तहरुले अस्पतालको मूल गेट नै फुटाइदिएका थिए । त्यतिबेला प्रहरीले उनीहरुमाथि बल प्रयोग ग¥यो ।
पश्चिम नेपालका अधिकांश जिल्लाबाट उपचारका लागि आउने अस्पतालमा यसरी बारम्बार हतियारसहित सुरक्षाकर्मी परिचालन गरिँदा बिरामीहरुको मनोविज्ञानमा नकारात्मक असर परेको पाइएको छ । उपचारका लागि आएका थापा दम्पति जस्तै अन्य बिरामीमा समेत त्यस्तो असर परिरहेको देखिन्छ ।
मेडिकल कलेजमै भेटिएका कोहलपुरमा बस्दै आएकी सम्झना बुढा सुरुमा आफूले सुरक्षाकर्मी देख्दा डर लागेको बताइन् । उनी भन्छिन्, ‘म चेक गराउन आएको थिएँ, सुरुमा देख्दा त डर लाग्यो । पछि बुझ्दै जाँदा यहाँको गाडीले मान्छे मारेको रहेछ । त्यसैले रैछ ।’ उनी त्यसरी हतियारसहित सुरक्षाकर्मी परिचालन गर्दा सबैलाई हतोत्साही बनाएको बताउँछिन् ।
डाक्टर श्याम विके सामान्यतया अस्पतालमा सुरक्षाकर्मी परिचालन असान्दर्भिक भएको बताउँछन् । उनका अनुसार अस्वाभाविक अवस्था तथा सुरक्षा संवेदनशीलतालाई आँकलन गरेर सुरक्षाकर्मी परिचालन गर्न सकिन्छ, गरिँदै आएको छ ।
‘यसमा दुइटा पाटा छन् । सुरक्षा अवस्थालाई मध्यनजर गरेर पनि परिचालन गर्न सक्छन् । अर्कातिर बिरामीको मनोविज्ञानलाई हामीले ख्याल गर्नुपर्छ । प्रहरी भन्नबित्तिकै मान्छेहरुलाई भिन्न अनुभव गर्छन् । अस्पतालमा देख्दा झन उनीहरु डराउन सक्छन्,’ उनले भने । शान्ति र सुरक्षाको कामना गरिने अस्पताल क्षेत्रमा सकभर सुरक्षाकर्मी परिचालन गर्न नहुनेमा उनको जोड छ ।









प्रतिक्रिया दिनुहोस्