राप्तीसोनारी गाउँपालिकामा बन्यो सेवाग्राहीका लागि प्रतीक्षालय



कोहलपुर ।

स्थानीय तह स्थापना भएको करिब पाँच वर्षपछि राप्तीसोनारी गाउँपालिकाले प्रतीक्षालय निर्माण गरेको छ ।

मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाको जेठ २६ गते ‘हाकिमलाई सुविधैसुविधा, सेवाग्राहीलाई बस्ने ठाउँसम्म छैन’ भन्ने समाचार प्रकाशितक गरेपछि गाउँपालिकाले सेवाग्राहीका लागि प्रतीक्षालय निर्माण गरेको हो ।

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले पनि समाचार प्रकाशित भएपछि प्रतीक्षालय निर्माण गरेको बताए । ‘तपाईंहरु (मिसन टुडेले) समाचार लेखेपछि हामीले प्रतीक्षालय बनाएका हौँ,’ उनले भने, ‘प्रतीक्षालय निर्माण भएपछि सेवाग्राहीहरुका लागि सहज भएको छ ।’

उक्त प्रतीक्षालयमा करिब ६० जना सेवाग्राही अट्न सक्ने गाउँपालिकाले जनाएको छ । प्रतीक्षालय निर्माण गरिएको स्थानमा यसभन्दा अघि पालिकाका कर्मचारीका लागि पार्किङस्थल बनाइएको थियो ।

प्रतिक्षालयको सतहमा सिमेन्टको ढलान गरी फलामको बेञ्च निर्माण गरिएको छ भने पंखाहरु समेत जडान गरिएको छ । नौ लाख ४५ हजार रुपैयाँको लागतमो पालिका भवनका चारवटा कोठा मर्मत गरिनुका साथै एकवटा हेल्पडेस्कसमेत तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिए ।

उक्त प्रतीक्षालयलाई आगामी वर्षमा एसीसहितको सेवाग्राही प्रतीक्षालय निमार्ण गर्ने र सेवाग्राहीको सुविधाका निम्ति मूल गेट बाहिर अर्काे प्रतीक्षालय निमार्ण गरिने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार