बाँकेको जानकी गाउँपालिका १ का समी रजा राई, अलमिन तेली, जानकी ३ का अल्ताब अली र नेपालगन्ज २१ का राम निवास पासीसहित विभिन्न जिल्लाका ४४ जना अहिले साउदीको जुबैल सहरको तामिमी क्याम्पमा अलपत्र अवस्थामा छन् । विदेश पठाइदिन्छौं भनी प्रतिव्यक्ति एक लाख ७० हजार रुपैयाँ लगेका पाइएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेका चारजनासहित ४४ जना नेपाली श्रमिक साउदी अरबमा अलपत्र पारिएका छन् । तीन महिनाअघि काठमाडौंको सिनामंगलस्थित अल हरमन एचआर कम्पनीबाट साउदी पुगेका उनीहरुलाई साउदीमा काम दिने भनिएको कम्पनी नै नभएको फेला परेको छ । विदेशमा पुगेर कम्पनी नै नभएको फेला परेपछि उनीहरु अलपत्र परेका हुन् ।
तीन महिना भइसक्दा पनि उनीहरुले काम पाएका छैनन् भने खानेबस्ने उपयुक्त व्यवस्था पनि नभएको मिसन टुडेको सम्पर्कमा आएका बाँकेको जानकी गाउँपालिका १ का अलमिन तेलीले बताए ।
बाँकेको जानकी गाउँपालिका जानकी गाउँपालिका १ का समी रजा राई, जानकी १ कै अलमिन तेली, जानकी ३ का अल्ताब अली र नेपालगन्ज २१ का राम निवास पासीसहित विभिन्न जिल्लाका ४४ जना अहिले साउदीको जुबैल सहरको तामिमी क्याम्पमा अलपत्र अवस्थामा छन् ।
बाँकेका चारजनालाई जानकी गाउँपालिका वडा नम्बर ३ का राम समझ पासी र डुडुवा गाउँपालिका वडा नम्बर २ का सरिफ बेहनाले विदेश पठाइदिन्छौं भनी प्रतिव्यक्ति एक लाख ७० हजार रुपैयाँ लगेका पाइएको छ ।
उनीहरुले रकम बुझेर सिनामंगलस्थित अल हरमन एचआर कम्पनीबाट बाँकी प्रक्रिया पूरा गरेको पाइएको छ । अलमिनसँग २०७८ साल वैशाखमा गरिएको कामदार सम्झौतामा एचबिएआइ नाजो कम्पनीमा काम गर्ने भनिएको छ । तर गर्नुपर्ने काम प्रष्ट उल्लेख गरिएको छैन ।
पैसा बुझ्ने पासी र बेहनाले उनीहरुलाई बिस्कुट कम्पनीमा काम गर्ने भनेर भनेका अलमिन बताउँछन् । तर साउदी पुगेपछि उनीहरुले काम गर्ने भनिएको कम्पनी नै नभएको खुल्यो । त्यसपछि उनीहरुले सडकमा मागेर खानुपर्ने अवस्थासम्म आइपुग्यो । उनीहरुलाई विमानस्थलबाट लगेर १० दिनसम्म बाहिर खाली ठाउँमै राखेको पाइएको छ ।
उनीहरुले एक रुखमुनि रात बिताएको अलमिन बताउँछन् । त्यसपछि उनीहरुले पठाउने कम्पनीमा निरन्तर गुनासो गरेपछि ४४ जनालाई मात्र चार कोठामा बस्ने व्यवस्था मिलाइयो । खाना र पानीको ठेगान थिएन । त्यसपछि उनीहरुलाई रियादबाट जुबेलमा पठाइयो । जुबेलमा पुगेपछि उनीहरुले थाहा पाए काम गर्ने भनेर आएको कम्पनी नै छैन ।
त्यति मात्रै होइन उनीहरुलाई खाने बस्ने कुनै व्यवस्था नगरी फेरि सडकमै छाडियो । उनीहरुले केही दिन रमजानको बेला पाइएको दानबाट पेट पाले । सकडछेउको रुखमुनि रात काटे । त्यसबीचमा साउदी प्रहरीले उनीहरुलाई गाडीमा हालेर कम्पनी खोज्न सहयोग पनि ग¥यो । तर कम्पनी नभेटिएपछि पुनः सडकमै ल्याएर छोडिदियो ।
त्यसको दुई दिनपछि त्यहाँस्थित नेपाली दूतावासका कर्मचारी आएर कोठामा छोडिदिए । ती कर्मचारीहरुसँग घर फिर्ता गरिदिनभन्दा उल्टै उनीहरुले ‘काम गर्न आएको कि घर फर्किन ?’ भनेर थर्काएको अलमिन बताउँछन् । त्यसपछि उनीहरु बाध्य भएर काम पाइने दिनको पर्खाइमा कष्टपूर्ण दिनहरु बिताइरहेका छन् ।
मंगलबार अपरान्ह मिसन टुडेसँग कुरा गर्दै अलमिनले भने, ‘अहिलेसम्म खाना खान पनि पाएका छैनौँ । एक÷दुईजना आएर खाना लिएर आउँछौँ भनेर गएका हुन् । आएका छैनन् ।’ ६ वटा कोठामा ४४ जना कोचिएर बसिरहेका छन् ।
यता उनीहरुबाट पैसा असुल गर्नेहरुविरुद्ध परिवारले जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयमा उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले दुई पक्षबीच १५ दिनभित्रका काम लगाइदिने र त्यतिन्जेल कामको टुंगो नलागे उनीहरुलाई स्वदेश फिर्ता ल्याइदिने सहमति गराएको छ ।
पैसा बुझ्नेहरुले बिस्कुट कम्पनीमा काम लगाइदिने भने पनि अहिलेसम्म कम्पनीको टुंगो लागेको छैन । पठाउने म्यानपावर कम्पनीको फोनहरुमा सम्पर्क स्थापित गर्ने प्रयास सफल भएन ।
वैदेशिक रोजगार विभागको वेबसाइटमा उक्त कम्पनीको सञ्चालकमा मो. मुमताज रजा र सन्दिभा कार्की गरी दुई जनाको नाम उल्लेख छ । तर त्यहाँ दिएको फोन नम्बरमा सम्पर्क स्थापित हुँदैन । उता अलमिनलगायत ४४ जना नेपाली युवाहरु परदेशी भूमिका अनिश्चताको समय झेलिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्