
राष्ट्रिय महिला क्रिकेट एकेडेमीको गत मंसिर ५ गते शिलान्यास गर्दै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतरात (अथक) । फाइल तस्विर
बाँके ।
कोहलपुरमा निर्माण गर्ने भनिएको राष्ट्रिय महिला क्रिकेट एकेडेमीको शिलान्यासपश्चात बजेट विनियोजन गरिएको छ ।
गत मंसिर ५ गते कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले शिलान्यास गरेका थिए । चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा मन्त्री गहतराजले राष्ट्रिय महिला क्रिकेट एकेडेमीको शिलान्यास गरे पनि आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि राष्ट्रिय महिला क्रिकेट एकेडेमीसहितको रंगशाला निर्माणका लागि तीन करोड रुपैयाँ छुट्याइएको हो । १५ जेठमा अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको बजेटमा खेलकुदका लागि तीन अर्ब २५ करोड २५ लाख बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये पूर्वाधार निर्माणतर्फ ८७ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ ।
जसमा क्रिकेट खेलका पूर्वाधारले साढे ४७ करोड पाएका हुन् । क्रिकेट खेलका पूर्वाधारअन्तर्गत नै कोहलपुरमा शिलान्यास गरिएको राष्ट्रिय महिला क्रिकेट एकेडेमीसहितको रंगशाला निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको हो ।
खेलकुदमन्त्री गहतराजले जिम्मेवारी सम्हालेलगत्तै पहिलो निर्णयका रुपमा महिला क्रिकेट एकेडेमी स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । सोही निर्णय कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरिएको हो ।
स्रोत पक्का भएसँगै एकेडेमी निर्माणका लागि शिलान्यास भएको एक वर्षपछि मात्र ठेक्का खुल्ने भएको छ । ढिलै भए पनि महिला क्रिकेट एकेडेमीका लागि बजेट विनियोजन भए पनि क्रिकेट खेलाडी खुसी भएका छन् । बजेट विनियोजनले खेलाडीमा उत्साह थपिए पनि कार्यान्वयन तत्कालै गर्नुपर्ने क्रिकेट खेलाडी निरुपमा गिरीले बताइन् ।
‘शिलान्यासपछि बजेट अहिले विनियोजन भएको सुन्नमा आएको छ,’ उनले भने, ‘यो हामी खेलाडीका लागि राम्रो कुरा हो । कार्यान्वयन कसरी अगाडि बढ्छ त्यो हेर्नुपर्छ ।’ एकेडेमीसहितको रंगशाला निर्माण भए महिला खेलाडीहरुलाई अभ्यास गर्न सहज हुने उनले बताइन् ।
अहिले बाँकेमा क्रिकेट खेलाडीलाई अभ्यास गर्नका लागि क्रिकेट रंगशालासमेत छैन । खेलाडीहरुले स्कुलका फिल्डमा अभ्यास गर्दै आएका छन् । कोहलपुरमा एकेडेमीसहितको रंगशाला निर्माण भएपछि प्रतियोगिता तथा अभ्यास गर्न सहज हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्