जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन शुभारम्भ भएको छ । आइतबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएस अध्ययन कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।
विक्रम सम्वत् २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले १० वर्षपछि एमबीबीएस अध्ययन सुरु भएको हो । कर्णालीसहित सुदूरपश्चिमका केही जिल्लामा समेत सेवा दिइरहेको प्रतिष्ठानले यसअघि नर्सिङ महाविद्यालयअन्तर्गत स्टाफ नर्स, ब्याचलर अफ मिड वाइफ्री, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ, एनएसथेसिया असिस्टेन्टलगायत विषयको अध्यापन गराइरहेको थियो ।
आइतबार राष्ट्रपति भण्डारीले औपचारिकरुपमा शुभारम्भ गरेको एमबीबीएस अध्ययन कार्यक्रमको लागि पहिलो चरणमा २० कोटा तोकिएको छ । प्रतिष्ठानले पहिलो चरणमा देशभरका २० मध्ये १९ जना जुम्लामा पुगिसकेको बताएको छ ।
योसँगै कर्णालीमा एमबीबीएस (डाक्टरी) पढाइ सुरु भएको हो । त्यस्तै बीफार्ममा ११, बीएमएसतर्फ आठ, बीएनएसमा १६ र बीपीएसमा आठजना विद्यार्थी भर्ना भएका छन् । ती सबै कक्षा आइतबारबाट सुरु भएको जनाइएको छ ।
प्रतिष्ठानका उपकूलपति डा. मंगल रावलका अनुसार प्रतिष्ठान स्थापनाको एक दशकपछि आफ्नो मुख्य उद्देश्य डाक्टरी पढाइ सुरु भएको हो । ‘कुनैबेला कर्णाली डाक्टर मागेर पनि पाउँदैन्थेँ । औषधि र डाक्टर अभावमा कतिको अकालमा ज्यान जान्थ्यो,’ उनले भने, ‘आज भने कर्णाली डाक्टर पढाउने मात्रै होइन । डाक्टर पठाउने हैसियतमा पुगेको छ ।’
अहिले पनि राज्यको मूलप्रवाहबाट सीमान्त अवस्थामा रहेको कर्णालीमा एमबीबीएस अध्ययन सुरु हुनु ऐतिहासिक भएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महत बताउँछन् । उनका अनुसार अब दुर्गम भनिने कर्णालीमा सुगम क्षेत्रबाट डाक्टर पढ्न आउने छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र एमबीबीएससम्मको अध्ययन कर्णालीमा स्वास्थ्य सेवा विकासमा क्रान्तिको झल्को भएको उनले बताएका छन् । प्रतिष्ठानले २०६९ साल कात्तिक २३ गतेदेखि एकजना विशेषज्ञसहित पाँचजना चिकित्सक जुम्ला ल्याएर कर्णाली अञ्चल अस्पतालमा सेवा सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्