कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर ३ मा हालसम्म २८ सय मिटर सडक निर्माण गरिएको छ । आगामी आर्थिक वर्षमा समेत सडक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकता दिएको वडा नम्बर ३ मा हाल सम्म १.८ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । वडाध्यक्ष माधव रिजालले सडकको नयाँ ट्रयाक खोल्ने, ग्राभिल र कालोपत्रे गरी करिब दुई किलोमिटर सडक निर्माण गरिएको बताए ।
उनका अनुसार पहिलो कार्यकालमा सडक निर्माणमा नमुना काम भएको थियो । हाल उनी दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन् । आगामी कार्यकालमा समेत अन्य कामसँगै सडक पूर्वाधार निर्माणमा आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।
‘सडक र पूर्वाधार हाम्रो आवश्यकता हो । त्यसैले यी कुरालाई प्राथमिकतामा राखेका छौं । अहिले पनि वडामा तीव्र गतिमा सडक कालोपत्रे भइरहेको छ,’ उनले भने । वैशाख महिनादेखि कोहलपुर–३ मा कोहलपुर नगरपालिका र प्रदेश सरकार र राष्ट्रिय योजना आयोगको सहयोगमा दुईवटा सडक कालोपत्रे भइरहेको छ । ती सडक निर्माण सम्पन्न हुने चरणमा रहेको उनले बताए ।
उक्त सडक निर्माणका लागि नगरपालिकाको ४० प्रतिशत लगानी रहेको उनले बताए । योजना आयोगले भने ६० प्रतिशत लगानी गरेको छ । वडाध्यक्ष रिजालका अनुसार त्रिवेणी चोकदेखि शान्तिचोक हुँदै दाम्चे जाने सडकमा कालोपत्रे भइरहेको छ । यो सडकको लम्बाइ ११ सय मिटर छ । अहिले तीव्र गतिमा काम भइरहेको उनले बताए ।
यस्तै मदनचोकदेखि बानियाँभार पानी ट्यांकी जाने सडक कालोपत्रे भइरहेको उनको भनाइ छ । वडाध्यक्ष रिजाल भन्छन्, ‘यो योजना क्रमागत योजना हो । चालू आर्थिक वर्षको विनियोजित बजेटअनुसार काम भइरहेको छ । यो सडकमा अहिले एक सय ७० मिटर कालोपत्रे हुनेछ । बाँकी काम आगामी आर्थिक वर्षमा हुने गरी बजेट विनियोजन हुन्छ ।’
यी दुवै सडक क्रमागत योजना हुन् । दुवै सडकको लागत एक करोडभन्दा बढी छ । मदनचोकदेखि बानियाँभार पानी ट्यांकी जाने सडक साढे सात मिटर चौडाइ छ । उनले पहिलो कार्यकालमा वडागत बजेटमार्फत दुईवटा टोलमा सडक कालोपत्रे गरिएको जानकारी दिएका छन् । आगामी पाँच वर्षमा थप टोलमा सडक कालोपत्रे गर्ने योजना लिइएको छ ।
उनले वडाको बजेटबाट कमल पोखरी हुँदै पूर्वपट्टिको क्षेत्र राजेशथान क्षेत्रको सडक रहेको अवगत गराए । वडा नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि टोलटोलमा योजना तर्जुमा गरिरहेको छ । योजना छनोट प्रक्रिया अन्तिम चरणमा रहेको वडा कार्यालयले जनाएको छ । अध्यक्ष रिजाल स्थानीयले पूर्वाधार विकासका योजना नै माग गरेको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्