निकुञ्जमा वन्यजन्तुको संक्षरणका लागि सोलार पोखरी



शुभाकर विश्वकर्मा, कोहलपुर
बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आहारा र पानी अभाव हुन थालेको सोलार पोखरी र घाँसेमैदान निर्माण सुरु गरिएको छ । वन्यजन्तुको संरक्षण र आहाराका लागि निकुञ्ज क्षेत्रअन्तर्गत घना जंगल तथा चुरे क्षेत्रमा सोलार पोखरी र घाँसे मैदान निर्माण गर्न सुरु गरिएको हो ।


वन्यजन्तुको संख्या र विविधतालाई फराकिलो बनाउँदै बाघसहितका वन्यजन्तुको संख्या बढाउने उद्देश्यले काम सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जनाए । निकुञ्ज क्षेत्रमा हाल पानीको मात्रा आवश्यकताभन्दा कम छ । आवश्यकताभन्दा कम पानी भएपछि वन्यजन्तुलाई पानी अभाव हुँदै आएको छ । सहजरुपमा वन्यजन्तुलाई पानी उपलब्ध गराउन सोलार बोरिङसहितको पोखरी निर्माण थालिएको शाह बताउँछन् ।

‘बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा नदी छैन । बबई र राप्ती नदी सिमाना भएर बग्छन् । निकुञ्ज क्षेत्रभित्र ४५ वटा खहरे खोला छन्,’ शाह भन्छन्, ‘ती खोलाहरुमा वर्षातको समयमा मात्र पानी रहन्छ । अरु समय चुरेको माथिल्लो क्षेत्रमा मात्रै पानी रहन्छ । अन्य क्षेत्रमा पूर्णरुपमा सुख्खा रहन्छ ।’

निकुञ्जमा रहेका बाघसहित अन्य वन्यजन्तुहरुका लागि मुख्य आवश्यकता पानी हो । वन्यजन्तुको आवश्यकतालाई मध्यनजर गर्दै पानीलाई क्रमिक र दिगोरुपमा व्यवस्थापन गरेर गइरहेको निकुञ्जले जनाएको छ । निकुञ्जले हरेक वर्ष दुई÷चारवटा सोलार बोरिङसहितको पोखरी निर्माण गरिरहेको छ । अहिलेसम्म १० वटा पोखरी निर्माण गरिएको छ । सोलारबाट घाम लागेको समयमा निरन्तर पोखरीमा पानी जम्मा हुने र जतिबेला पनि वन्यजन्तुले पिउन सक्छन् । प्रत्येक ग्रीडमा पोखरी र घाँसे मैदान निर्माण गर्ने निकुञ्जको योजना छ ।

यस्तै निकुञ्जले पोखरीसँगै घाँसे मैदानसमेत निर्माण गरिरहेको छ । निकुञ्जको भूगोलअनुसार साढे चार सयवटा सोलार पोखरी र घाँसे मैदान आवश्यक छ । हाल घाँसे मैदान २० वटा छन् भने सोलार पोखरी १० वटा मात्र छन् । एउटा सोलार पोखरी निर्माण गर्न १० लाख रुपैयाँ लाग्छ । ‘यसले वन्यजन्तुलाई आवश्यक पानी र घाँस पूरा गर्न सघाउँछ,’ उनी भन्छन्, ‘बाघलाई अन्य ठाउँमा विचरण गर्न जाने अवस्थाको सिर्जना हुने छैन । मानव–वन्यजन्तु द्वन्द्व चुनौतीको रुपमा छ । यसलाई कम गर्न सहयोग पुग्ने अपेक्षा छ ।’

जैविक विविधता संरक्षण, बाघ र बाघको आहारा प्रजाति संक्षरणका लागि स्थापित बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको लागि आहारा र पानी अभाव हुँदै गएको छ । मध्यवर्ती तथा चुरे क्षेत्रमा रहेका प्राकृतिक स्रोतको उचित नियमन एवम् व्यवस्थापन हुन नसक्दा वन्यजन्तुहरुको लागि आहारा र पानी अभाव हुन थालेको बताइएको छ । निकुञ्जले अहिले अवैध चोरी सिकारी, वन्यजन्तु मानव–द्वन्द्व, जलवायु परिवर्तन र पर्यटक अभावलगायतका समस्या भोगिरहेको छ ।

हाल निकुञ्जमा ३४ स्तनधारी, तीन सयवटा पन्छी, २४ घस्रिने प्रजातीका र नौ प्रजातीका उभयचरसँगै माछा प्रजाति ५५ भन्दा बढी छन् । यस्तै निकुञ्जमा संरक्षित स्तनधारी वन्यजन्तु सालक, बाघ, जंगली हात्ती, चौकालगायत पाइन्छ । संरक्षित पन्छीहरु कालो गरुड, राज धनेश र संरक्षित घस्रिने वन्यजन्तुमा अजिंगर र सुन दोहोरोलगायत पाइने निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा कूल २५ वटा पाटेबाघ छन् । निकुञ्ज पाँच सय ५० वर्ग किलोमिटर र मध्यवर्ती क्षेत्र तीन सय ४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

 

प्रकाशित मिति : २०८० वैशाख ८ गते शुक्रबार