बाँके ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नरैनापुर गाउँपालिकाले विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ । पोर्टल स्थानीयकरणसम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले विपद् सूचना व्यवस्थापन प्रणाली लागु गरिने बताए ।
विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिमसम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्यांक र सूचना लिन सहज हुने भएकोले पोर्टल सञ्चालनका लागि आफूले भूमिका खेल्ने उनले दाबी गरे । कार्यशालालाई सहजीकरण गर्दै आइएचआरआरका टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्ने बताएका थिए ।
‘यसले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीयस्तरमा सूचित निर्णय लिन र नीति बनाउनसमेत मद्दत पु¥याउँछ,’ उनले भने, ‘पालिकाले पोर्टल सञ्चालनमा ल्याए आफूहरु प्राविधिक सहयोग गर्न तयार रहेको छौं ।’
सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले गाउँपालिकासँग सहकार्य गरेर वडास्तरीयबाट तथ्यांक संकलन गरी दुई महिनाभित्रै पोर्टल सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद् कार्य गरिरहेका संघ संस्थाबाट तयार गरिएका सूचना तथा तथ्यांकले गाउँपालिकाको रणनीति योजना बनाउन सहज हुने बताए । ‘पोर्टल सञ्चालनमा आइसकेपछि सूचना र तथ्यांकलाई थप अद्यावधिक गर्ने म प्रतिबद्धता जनाउँछु,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्