बाँके ट्राफिकको ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ अभियान



बाँके ।

जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । सवारी दुर्घटनाको दर बढ्न थालेपछि विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम अगाडि सारेको हो ।

उक्त कार्यक्रमअन्तर्गत शनिबार कोहलपुर–१२ मा रहेको ग्रीन पिस माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिइएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

‘यो कार्यक्रम लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रम हो । अन्य जिल्लामा समेत सञ्चालन भइरहेको छ,’ उनले भने, ‘बाँकेमा पनि हामीले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई प्रशिक्षण दिइरहेका छौं ।’

स्कुलस्तरबाट नै विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिन सकिए सवारी दुर्घटना न्यूनीकरणमा समेत सघाउ पुग्ने ट्राफिक प्रहरी निरीक्षक शाह बताउँछन् ।

शनिबार ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमअन्तर्गत ग्रीन पिस माध्यमिक विद्यालयका ७० जना विद्यार्थीलाई ट्राफिक प्रहरी नायब निरीक्षक भेषराज पौडेलले प्रशिक्षण दिएका थिए ।

विद्यार्थीहरुलाई सवारी दुर्घटना तथा बाटो क्रस गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो । अटो रिक्साका कारण दुर्घटना र ट्राफिक व्यवस्थापनमा भद्रगोल हुन थालेपछि एक महिनायता बाँके ट्राफिकले दैनिकरुपमा अटो चालकहरुलाई ट्राफिक नियमबारे प्रशिक्षण दिइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २२ गते आइतबार