नेपालगन्ज हुँदै कामु प्रधानन्यायाधीश भारत प्रस्थान



बाँके ।

सर्वोच्च अदालतका कायमुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीसहित अन्य न्यायाधीशको टोली नेपालगन्जको जमुनाहा नाका हुँदै भारत प्रस्थान गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) माधव रिजालले बिहीबार न्यायाधीशको टोली भारत प्रस्थान गरेको बताए ।

१४ सदस्सीय टोलीमा सर्वोच्चका सातजना न्यायाधीश, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका दुईजना न्यायाधीशलगायत छन् । नाकाबाट तीनवटा भारतीय नम्बरका साना गाडीमा न्यायाधीशको टोली भारततर्फ गएको प्रहरीले जनाएको छ । भारतमा भारतीय प्रहरीले कामु प्रधानन्यायाधीश कार्कीसहितको टोलीको सुरक्षा दिएको बताइएको छ ।

भारतीय प्रहरीको स्कटिङमा उक्त टोली भारतको अयोध्यातर्फ गएको थियो । कामु प्रधानन्यायाधीशसहितको टोलीले लखनउस्थित उच्च अदालतमा भारतीय समकक्षीहरुसँग पनि भेटघाट गर्ने छन् ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्की नेतृत्वको टोली आइतबार मात्र जमुनाहा नाका भएर नेपाल फर्किने कार्यक्रम तय भएको सुरक्षा स्रोतले जनाएको छ ।

‘चार दिनका लागि उहाँहरु भारत जानुभएको हो,’ बाँकेका एक प्रहरी अधिकारीले भने, ‘आइतबार जमुनाहा नाका भएरै उहाँहरु नेपाल फर्किनुहुन्छ ।’

 

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २१ गते शनिबार