नेपालगन्जः शालिकमाथि राजनीति



त्रिभुवन चोकमात्रै नभइ कारकाँदो चोक, रानीतलाउ चोकलगायतका चोक कसका नाममा राख्ने कसको शालिक राख्ने भन्ने विवाद चलिरहेकै छन् ।

यी सबै विवादलाई मिलाएर शालिकको नाममा हुने तुच्छ राजनीति र बेलाबेलामा सहरलाई अशान्त बनाउने निहँुको अन्त गर्न सबै गम्भीरतापूर्वक लाग्नु आवश्यक छ । त्यसका लागि शालिक, सडक र सार्वजनिकस्थलको नामाकरणमा स्थानीय सरकारको नीति पनि प्रष्ट हुनु आवश्यक छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

आफ्नो गाउँसहरको ऐतिहासिक र सांस्कृतिक पक्षको कसरी संरक्षण गर्ने ? भन्ने खाका स्थानीय सरकारसँग हुनुपर्छ । नेपालगन्जमा स्थानीय सरकारको पहिलो पाँच वर्ष ऐतिहासिक र सांस्कृतिक पक्षको संरक्षण कसरी गर्ने त परको कुरा समग्र सहरको विकासको समेत खाका नकोरिकनै सकियो ।

बरु नेपालगन्जका चोकहरुमा शालिक स्थापना गर्ने कुरालाई राजनीति गर्ने माध्यमको रुपमा विवादित मुद्दा बनाएर जीवितै राखियो । त्यसकै परिणामस्वरुप बिहीबारको घटना भयो । यस्ता घटनाको खतरा अझै जीवितै छ ।

उदेगलाग्दो त के भने संरक्षणवादी राजनीति गर्दै आएको राप्रपाका एक शीर्ष नेता डा. धवलशमशेर राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयर चुनिएर पाँच वर्ष सरकारमा रहे । तर उनले नेपालगन्जको शालिकका नाममा बेलाबेला निम्तिरहने विवादहरु समाधान गर्ने कुनै काम गर्न सकेनन् । न उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा यस विषयले स्थान पायो । नेपालगन्जको त्रिभुवन चोकमा २०७८ साल फागुन ८ गते राजा त्रिभुवनको शालिक राख्दा पनि सर्वपक्षीय सहमति त परको कुरा प्रशासनलाई सुइकोसमेत दिइएन ।

त्यसरी बलजफ्ती शालिक राख्ने कामलाई मेयर राणाले पर्दा पछाडिबाट सहयोग र समर्थन गर्दै आए । बाहिर जनताले स्वतःस्फुर्तरुपमा राखेका हुन् भन्ने अभिव्यक्ति दिए । त्रिभुवन चोकमा राखिएको उक्त शालिक पनि हटाइएको भए बिहीबारको जस्तै घटना दोहोरिने खतरा थियो । त्यो खतरा थाहा पाउँदापाउँदै फेरि राप्रपा समर्थक युवाहरुले बिहीबार धम्बोझी चोकमा वीरेन्द्रको शालिक राखे ।

राखिसकेपछि मात्रै झल्याँस्स भएको प्रशासनले शालिक राख्ने समूहकै अघि उनीहरुलाई चिढ्याउने गरी शालिक हटाउन खोज्दा ठूलो दुर्घटनाको सम्मुखमा नेपालगन्ज पुग्यो । वीरेन्द्र चोकमा यस्तो घटनाको खतरा २०७३ साल भदौ १६ गते पनि मडराएको थियो । २०६३–०६३ सालको जनआन्दोलनका क्रममा नेपालगन्जको धम्बोझी चोकमा रहेको राजा वीरेन्द्रको शालिक आक्रोशित समूहले तोडफोड गरेको थियो ।

तत्पश्चात जीर्ण बनेको चोकमा राष्ट्रिय झण्डा फहराइँदै आएको थियो । राजा वीरेन्द्रको शालिक हाइएको करिब एक दशकपछि २०७३ साल भदौ १६ गते राजतन्त्रमा आस्था राख्ने संगठनहरुले शालिक पुनस्र्थापना गरेका थिए । त्यतिबेला पनि शालिक राख्ने पक्ष र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।

तर, प्रशासनले तत्काल शालिक नहटाएर मध्यरातमा क्रेनको सहयाताले राजा वीरेन्द्रको शालिक सुटुक्क हटाएको थियो । अहिलेका प्रशासनले पनि हटाउन नै पर्ने भए त्यस्तै विधि अपनाउन सक्थ्यो वा सर्वपक्षीय बैठक आह्वान गरी समाधान खोज्न सक्थ्यो । त्यसो नगरी तत्कालै शालिक हटाउन खोज्दा ठूलो दुर्घटनाको सम्मुख पु¥याउने र सहरलाई अशान्त बनाउने गरी अवस्था बिग्रियो ।

नेपालगन्जका राजनीतिक दलका नेता तथा अहिले उपमहानगरको नेतृत्वमा रहेका नेताहरु पनि यस विषयलाई सधैका लागि समाधान गर्नेभन्दा पनि विषयलाई जीवितै राखेर तत्कालका लागि थामथुम पार्ने मनसायमा देखिन्छन् । बिहीबार शालिक राख्ने पक्ष र प्रहरीबीच झडप भएको धम्बोझी चोकमा एउटै गाडीमा बसेर पुगेका मेयर प्रशान्त विष्ट र कमरुद्दीन राईले प्रशासन एवम् स्थानीय सरकारलाई कुनै जानकारी नै नदिई शालिक राख्न खोज्दा पस्थिति बिग्रिएको बताए ।

मेयर विष्टले शालिकको विषयलाई राजनीति गर्ने माध्यम बनाइएको आरोप लगाए । उनको त्यो आरोप राप्रपाका नेताहरुतर्फ लक्षित थियो । तर विष्टसँगै रहेका उपमेयर कमरुद्दीन राई अब राजामहाराजाका शालिक राख्नु आवश्यक नरहेको बताउँछन् ।

स्थानीय सरकारको नेतृत्वकर्ताकारुपमा यी दुई धारलाई कसरी मिलाएर लैजाने भन्ने स्पष्ट भिजन मेयर विष्टसँग रहेको देखिँदैन । उही तत्कालीन विवादलाई सर्वदलीय बैठकका नाममा साम्य पार्ने र विवादलाई जीवितै राख्ने रणनीति सबै दलहरुको देखिन्छ ।

बिहीबार पनि राजाको शालिक राख्न नदिएको भन्दै आक्रोशित भएका केही व्यक्तिहरु अब नेपालगन्जका अरु शालिक पनि सुरक्षित नरहेको चेतावनी दिँदै थिए । त्यसको एक संकेत सेतु विकको शालिक तोडफोडमा देखियो । विशेषगरी त्रिभुवन चोक र धम्बोझी चोकमा पूर्वराजाहरुकै शालिक राख्नुपर्ने मत नेपालगन्जमा बलियो ।

राप्रपाभन्दा बाहिर रहेका र अन्य मुख्य दलका नेता कार्यकर्ताहरु नै यी चोकमा पूर्वराजाको शालिक राख्नुपर्ने मत राख्छन् । कतिपयले पहिले राखिएका राजाका शालिकलाई इतिहासका रुपमा जोगाइराख्दा केही नबिग्रने मत राख्छन् । यसको विपक्षमा यी चोकहरु सहादत प्राप्त गर्ने सर्वसाधारणको नाममा हुनुपर्ने नभए कसैको शालिक राख्न नहुने मत पनि छ ।

त्रिभुवन चोकमात्रै नभइ कारकाँदो चोक, रानीतलाउ चोकलगायतका चोक कसका नाममा राख्ने कसको शालिक राख्ने भन्ने विवाद चलिरहेकै छन् । यी सबै विवादलाई मिलाएर शालिकको नाममा हुने तुच्छ राजनीति र बेलाबेलामा सहरलाई अशान्त बनाउने निहँुको अन्त गर्न सबै गम्भीरतापूर्वक लाग्नु आवश्यक छ । त्यसका लागि शालिक, सडक र सार्वजनिकस्थलको नामाकरणमा स्थानीय सरकारको नीति पनि प्रष्ट हुनु आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार