बाँकेमा कमजोर बन्दै ट्राफिक व्यवस्थापन



बाँके ।

आइतबार साँझ नेपालगन्जस्थित वीपीचोक नजिकै एक वृद्ध र दुई बालबालिका सडक छेउमै हिँडिरहेका थिए । पछाडिबाट तिव्र गतिमा आएको कारले हुत्याएर लियो । सडक छेउमा हिँडिरहेका तीनैजना गम्भीर घाइते भए र, उपचारका क्रममा केही समयपछि उनीहरुको मृत्यु भयो । प्रहरीसमक्ष कार चालकले मदिरा सेवन गरेको स्वीकार गरेका छन् ।

उनका अनुसार दुर्घटनाको प्रमुख कारण नै, ‘मदिरा हो ।’ यदी नेपालगन्ज–सुर्खेत रोडमा मापसे चेकिङ हुन्थ्यो भने, ति चालक कारबाहीमा पथ्र्ये । र दुर्घटनाबाट बच्च सकिन्थ्यो । कहिले कसो हुने मापसे चेकिङबाट उनी बचे र सडक दुर्घटना भयो ।

यति मात्र होइन नेपालगन्ज र कोहलपुरलगायत भीडभाड हुने बजार क्षेत्रको ट्राफिक व्यवस्थापन यतिसम्म भद्रगोल भएको छ कि, लाग्छ ट्राफिक नियमनै छैन । सडकमा बनाइएको जेब्राक्रसिङ, नो पार्किङ बोर्ड अगाडि बस, म्याजिक सवारी, सिटी बस एकैसाथ पार्किङ गरिन्छ । चालकले अन्धाधुन्ध सवारीसाधन चलाउँछन् ।

निषेधितस्थलमा पार्किङ गरिएको सवारीमा यात्रु चढाउन प्रतिस्पर्धा नै चल्छ । पहिलाको तुलनामा अहिले बाँकेको ट्राफिक व्यवस्थापन एकदमै भद्रगोल भएको स्थानीय श्याम साहले बताए । ‘जेब्राक्रसिङ र नो पार्किङ लेखिएको बोर्ड अगाडि निर्धक्क पार्किङ भइरहेको छ तर प्रहरी प्रशासन बोल्दैन,’ उनले भने, ‘दैनिक ठूला साना सडक दुर्घटना हुँदा पनि सरोकारवाला निकाय मौन छ ।’

सवारीसाधनबीच अनावश्यक प्रतिस्पर्धा हुँदा पनि सडक दुर्घटना हुने गरेको छ । तिव्र गतिमा सवारी चलाउने, चालक अनुमतिपत्र नपाएकाले सवारीसाधन चलाउँदा दुर्घटना हुन्छ भन्ने एकोहोरो आरोप लगाइन्छ ।

त्यति मात्र होइन, नियामक निकायको प्रभावकारी भूमिकाका विषयमा ढाकछोप गर्दा पनि ट्राफिक व्यवस्थापनमा थप समस्या भएको स्थानीयहरु बताउँछन् । यदी ट्राफिक प्रहरी आर्थिकलगायत अन्य प्रलोभनमा नपरी काम गर्ने हो भने मात्रै पनि धेरै सडक दुर्घटना न्यूनीकरण हुन सक्ने स्थानीय बलवीर श्रेष्ठले जनाए ।

बाँकेमा सवारीसाधनको चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारीसाधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको ट्राफिक प्रहरी बताउँछ ।

सडक छेउमा मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नुलगायत कारणले समस्या बल्झिरहेको छ । समयसापेक्ष कानुनको सुधार हुन नसक्नु, दक्ष चालकको अभाव, सम्बद्ध निकायबीच प्रभावकारी समन्वय र सहकार्यको अभाव हुनुलगायत कारणले पनि यहाँको ट्राफिक व्यवस्थापन खस्किँदै गएको हो ।

जनशक्ति अभाव र अन्य निकायबाट सहयोग नहुँदा पनि ट्राफिक व्यवस्थानमा केही कमजोरी भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख हिमालय शाहले बताए । ‘सडक दुर्घटना होस् ।

मान्छेको मृत्यु होस् भन्ने चाहान त हाम्रो हुँदैन,’ उनले भने, ‘दुर्घटना हुँदा हामी खुसी हुँदैनौं । हाम्रो पनि मन हो । हामी पनि दुखित हुन्छौं ।’ पछिल्लो समय इरिक्सालाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको, टिप्परमा टाइमकार्ड लागू गरिएको, सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा पैसाको बार्गेनिङ बन्द भएको उनले बताए ।

‘ट्राफिक प्रहरीको आफ्नो दायित्व र कर्तव्य त छ नै,’ उनी भन्छन्, ‘तर सरोकारवाला निकाय, सर्वसाधारणहरु सडक दुर्घटनाको न्यूनीकरण गगर्न हातेमालो गरेर जानुपर्छ ।’ बाँकेमा सवारीसाधनको तुलनामा जनशक्ति धेरै अभाव भएको उनको भनाइ छ । उनका अनुसार नेपालगन्जमा एक लाख ३८ हजारभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३ गते शनिबार