बाँसगढी नगरपालिका वडा नम्बर–४ मा रहेको जनता माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको छ ।
विद्यालयमा सञ्चालित प्राविधिक धारका लागि १२ कोठे पक्की भवन निर्माण भएको हो । उक्त भवन बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकारको आर्थिक सहयोगमा भवन निर्माण गरिएको विद्यालयले जनाएको छ ।
उक्त अवसरमा बोल्दै नगर प्रमुख अधिकारीले विद्यालयमा सञ्चालन भइराखेका प्राविधिक धारका विषयलाई अझै व्यवस्थितरुपमा अगाडि बढाउनु पर्ने बताए । ‘हाम्रै गाउँघरमा प्राविधिक शिक्षा पढाइ हुनु राम्रो हो,’ उनले भने, ‘प्राविधिक विषयलाई व्यवहारिकमुखी बनाउनुपर्छ । विद्यालयबाट विद्यार्थीले पढाइ सक्दा आफ्नो विषयमा दक्ष भएर जानुपर्छ ।’
नगर प्रमुख अधिकारीले आगामी आर्थिक वर्षबाट प्राविधिक धारका बाली विज्ञान र पशु विज्ञान निःशुल्क पढाउने व्यवस्थाको लागि पहल गरिने बताए । ‘अन्यजस्तै प्राविधिक धारका विषय पनि निःशुल्क पढ्ने व्यवस्थाको लागि नगरपालिकाले पहल गर्नेछ,’ उनले भने, ‘विद्यालयमा भौतिक संरचना निर्माणको लागि आगामी दिनमा समेत सहयोग हुन्छ ।’ यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष रजमान चौधरीले विद्यालयलाई थप स्तरोन्नती गर्न सबैको साथ र सहयोग हुनुपर्ने बताए ।
‘बाँसगढी नमुना रहेको यस विद्यालयको प्राविधिक धारलाई अझै स्तरोन्नती गरेर लैजानुपर्छ,’ उनले भने, ‘त्यसको लागि तपाईं हामी सबैको साथ सहयोग चाहिन्छ ।’ भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।
विद्यालयको भवन निर्माण भएपछि प्राविधिकतर्फको पठनपाठनमा सहजता आउने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्