नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का छोटु केवटलाई कुराकानी गर्नेसमेत फुर्सद छैन । मूर्ति बनाउन उनलाई सघाइरहेका भाइहरूलाई पनि उनले गफ नगरेर खुरुखुरु काम गर्न अह्राइरहेका थिए । छोटुले यस वर्ष समयमै मूर्तिहरू तयार गर्न नसकेकोले हतार भइरहेको बताइरहेका थिए । छोटुका अनुसार गतवर्षभन्दा यस वर्ष मूर्तिका लागि अर्डर पनि बढी भएको छ । गत वर्ष करिब १५ वटा सेट मूर्तिको अर्डर आएकोमा यस वर्ष उनले २४ वटा सेट मूर्तिको अर्डर पाएको बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का विकास साहुको हतार पनि कम छैन । उनले पनि गत वर्षभन्दा यस वर्ष करिब दोब्बर मूर्तिको लागि अर्डर पाए । गत वर्ष करिब १३ वटा सेट मूर्तिको अर्डर पाएका साहुले यसपटक २४ वटा सेटको अर्डर आएको बताए । सबै मूर्तिहरू तयार गरेर साहु मूर्तिको सजावटको काममात्रै बाँकी रहेको बताइरहेका थिए । नेपालको तराईको मधेसी बाहुल क्षेत्र र भारतमा दसैँको अवधिमा सामूहिक रूपमा दुर्गा मूर्ति पुजा गर्ने प्रचलन छ । त्यसका लागि गाउँका चोक, मन्दिर र सडकमै समेत दुर्गा मूर्ति राखेर पूजा गर्ने गरिन्छ ।
स्थानीयहरूले विभिन्न समूह बनाएर मूर्ति राखेर पूजा गर्ने गर्छन् । त्यसकै लागि मूर्तिकारहरूले करिब तीन महिनाको समयसम्म फुर्सद पाउँदैनन् । बाँकेमा पनि दुई सयभन्दा बढी स्थानमा दुर्गा मूर्ति राखेर पूजा गर्ने गरिन्छ । नेपालगन्जमा करिब एक दर्जन कलाकारहरूले दुर्गा मूर्ति निर्माण गर्ने गरेका छन् । तर, स्थानीयहरू सस्तो र राम्रोको लोभमा सीमापारी भारतीय क्षेत्रमा गएर समेत मूर्तिको अर्डर गर्ने गर्दछन् । यस वर्ष त्यसरी सीमापारी गएर मूर्ति बनाइमाग्नेहरू घटेर नेपालगन्जकै मूर्तिकारहरूसँग अर्डर गर्नेहरू बढेका कलाकारहरूको भनाइ छ ।
मूर्तिकार साहुले गत वर्षभन्दा यस वर्ष मूर्तिको अर्डर बढी आउनुको कारण नाकामा कडाइ गरिनु रहेको हुनसक्ने बताए । उनले भने, ‘इण्डियाबाट ल्याउँदा नाकामा टाइट गरेको छ । भन्सार लाग्छ भनेको छ । त्यसैले यसवर्ष धेरैले नेपालगन्जमै अर्डर दिएका छन् । तर, उता जानेहरू पनि छन् ।’ कलाकार केवटले पनि सीमा नाकामा कडाइ हुँदा धेरैले नेपालगन्जमै अर्डर दिएको हुनसक्ने बताए ।
साहु भने मूर्तिको लागि अर्डर बढ्नुमा नाकामा कडाइ हुनुमात्रै कारण नरहेको बताउँछन् । उनका अनुसार पछिल्लो समय मूर्तिको माग पनि बढेको छ । ‘अहिले पहिलेभन्दा धेरै ठाउँमा मूर्तिहरू राखिने गरेका छन् । एउटै टोलमा पनि धेरै ठाउँमा मूर्तिहरू राख्ने गरिएको छ । त्यसले पनि अर्डर बढेको हुनक्सक्छ,’ साहुले भने ।
मूर्तिको माग बढेपछि सिजनल रूपमा मूर्ति बनाएर आयआर्जन गर्दै आएका कलाकारहरू भने खुसी भएका छन् । मूर्ति बनाउने कलाकारहरूको मुख्य आम्दानी हुने समय नै दसैँतिहार हो । अरु बेला उनीहरू मजदुरीलगायत अन्य काम खोज्नुपर्ने बाध्यतामा छन् । नेपालगन्जमा कलाकारहरू भारतमा बन्ने मूर्तिभन्दा सस्तोमा राम्रो गुणस्तरका मूर्तिहरू बनाउने गरेको दाबी गर्छन् । साहुले आफूकहाँ भएका मूर्तिहरू १५ हजारदेखि २५ हजारसम्मका रहेका बताए ।
उनले भने, ‘इण्डियामा २५ हजारमा दिने मूर्ति हामीले १५ हजारमै दिने गरेका छौँ । तर, केही मान्छेहरूलाई उतैको मन पर्छ ।’ मूर्तिको एउटा सेटमा देवी दुर्गा, महिषासुर, सरस्वती, लक्ष्मी, गणेश र कार्तिकेयमा मूर्तिहरूसमेत रहने गरेका छन् । सेटको केन्द्रमा १० वटा हात भएकी सिंहमाथि सवार देवी दुर्गाको मुख्य मूर्ति हुन्छ, जसले महिषासुर नामक राक्षसको वध गरिरहेको झल्को दिइने गरि तयार गरिएको हुन्छ । दसैँमा स्थापना हुने दुर्गा मूर्तिहरू मुख्यगरी पराल, बाँस, माटो र भुस्साबाट तयार गरिन्छ ।
मूर्तिको सजावटका लागि कपडा तथा रङको प्रयोग हुन्छ । यस्ता मूर्तिकहरू दसैँको घटस्थानाको दिनमा स्थापना गरेर दशमीपछि नजिकको नदी अथवा तलाउमा लगेर विसर्जन गर्ने गरिन्छ । नेपालगन्जबाट सिधनियाँ घाटमा लगेर मूर्तिहरू विसर्जन गर्ने गरिन्छ । स्थानीयस्तरमा उपलब्ध र कुहिने वस्तुबाटै निर्माण गरिने भएकोले यस्ता मूर्तिहरू तुलनात्मक रूपमा पर्यावरणका लागि कम हानिकारक पनि हुन्छन् । दुर्गा मूर्तिहरूको स्थापनाले नेपालको सहरी क्षेत्रसमेत दसैँ अवधिभर रौनकमय हुने गरेको छ । तर, सडकमै स्थापना गरिने कतिपय मूर्तिले आवागमनमा असहजता पनि सिर्जना गर्ने गरेको छ ।
सजावटका सामग्रीमा भन्सार छुटको माग
दुर्गा मूर्ति बनाउने कलाकारहरूले मूर्तिको सजावटका लागि चाहिने सामानहरूमा भन्सार छुट गरिदिनुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार मूर्ति बनाउँदा कपडा, रङ र गुद लगायतका सामानहरू आवश्यक पर्छन् । त्यस्ता सामानहरू भारतीय बजारमा सस्तो पर्ने गरेको छ । तर, त्यस्ता सामान आयात गर्दा पनि यस वर्ष भन्सार तिर्नुपर्दा मर्का परेको कलाकारहरूको भनाइ छ ।
कलाकार विकास साहुले १० किलो सामान ल्याउँदा एक हजार पाँच सयभन्दा बढी भन्सार तिर्नुपरेको बताए ।
आफूहरूले नाकामा खटिएका कर्मचारीहरूलाई सबै कुरा जानकारी गराउँदा पनि भन्सार नतिरी ल्याउन नदिइएको उनको भनाइ छ । ‘हामी कलाकार हौँ । वर्षमा तीन महिना भए पनि मूर्ति बनाउने कामबाट थोरै आम्दानी गर्न पाइरहेका छौँ । मूर्तिका लागि मात्रै भए पनि भन्सार छुट गराइदिएको भए सजिलो हुने थियो,’ साहुले भने । नेपालगन्जमा मात्रै करिब एक दर्जन मूर्ति कलाकारहरू (मूर्तिकार) रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्